इटहरी उपमहानगरको बजेट २ अर्ब ३५ करोड

हिमाल प्रेस १० असार २०८० १६:३६
2
SHARE
इटहरी उपमहानगरको बजेट २ अर्ब ३५ करोड

इटहरी- इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ लागि २ अर्ब ३५ करोड ३१ लाख रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ। आइतबार नगरसभामा उपप्रमुख संगीताकुमारी चौधरीले उपमहानगरको बजेट प्रस्तुत गरेकी हुन्।

उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि २ अर्ब १८ करोड ६ लाख रुपैयाँ बराबरको बजेट पेस गरेको थियो। उपमहानगरले आगामी आर्थिक वर्षका लागि इटहरीको चौबाटोमा दुइटा आकाशे पुल निर्माण गर्न बजेट छुट्याएको छ।

इटहरी वडा नम्बर ६ हुँदै मुख्य बजार क्षेत्र भएर बग्ने खेतीखोला र टेङ्ग्रा खोलाको अवरोध हटाएर रिभर करिडोर र ग्रीन बेल्ट (हरित पार्क) निर्माण गर्न पनि बजेट छुट्याइएको छ।

यातायात, शिक्षा, व्यापार र खेलकुदको हब मानिने इटहरी कोशी प्रदेशको महत्त्वपूर्ण सहर पनि हो। उपमहानगरले इटहरी अस्पतालमा आधुनिक स्वास्थ्य उपकरण एमआरआई, सीटी स्क्यान, भिडियो एक्सरे तथा आईसीयू भेन्टिलेटरसहितको शल्यक्रिया कक्ष निर्माण गरी सेवा सञ्चालन गर्न पनि बजेट छुट्याएको उपप्रमुख चौधरीले बताइन्।

वैशाख १५ गतेदेखि मात्र इटहरी अस्पतालमा आकस्मिक कक्ष, ल्याब र फार्मेसी स्तरोन्नति सेवा सुरु गरिएको थियो। अहिले १५ सैय्याबाट आकस्मिक सेवा दिन थालिएको छ।
सघन बसोबासका लागि देशैभर रुचाइएको इटहरीमा जनघनत्व दिनदिनै बढ्दै छ।

उपमहानगरपालिकाले शिक्षाको भौतिक पुर्वाधार विकास साथै गुणस्तर अभिवृद्धिलाई ध्यानमा राखी इटहरी क्षेत्रका केही सामुदायिक विद्यालयहरूलाई नमुना विद्यालयका रूपमा रूपान्तरण गर्न बजेट विनियोजन गरिएको छ।

विद्यार्थीहरूलाई अनिवार्य रूपमा अतिरिक्त क्रियाकलापमा सहभागी गराउन पनि बजेट छुट्याइएको छ। त्यस्तै इटहरीमा रात्रिकालीन बजार सञ्चालन गरिने भएको छ।
आगामी आर्थिक वर्षका लागि उज्यालो इटहरी कार्यक्रम सञ्चालन गरी स्ट्रीट लाईट जडान गर्न पनि बजेट छुट्याइएको छ।

प्रत्येक वडामा एक खेल मैदान निमार्ण गर्ने र प्रत्येक वडामा खुल्ला व्यामशाला निर्माण गर्न बजेट विनियोजन गरिएको छ। उपमहानगरपालिका भित्रका सार्वजनिक तथा ऐलानी जमिन संरक्षण गरी ज्येष्ठ नागरिक तथा बालबालिकाका लागि हरित पार्क निर्माण गर्न बजेट छुट्याइएको छ।

उपमहानगरले सार्वजनिक क्षेत्रमा फ्री वाईफाई जडानका लागि पनि बजेट छुट्याएको छ। नवप्रवर्तन, अनुसन्धान तथा आइडिया इभेन्ट कार्यक्रम गरिने पनि बजेटमा उल्लेख गरिएको छ।

त्यस्तै, ६ वटा नगर विद्युतीय बस सञ्चालन गर्न पनि बजेट छुट्याइएको छ। यसका लागि ६ वटा चार्जिङ स्टेसन उपयुक्त स्थानमा निर्माण गरिने पनि बजेटमा उललेख छ।
आगामी वर्ष प्रत्येक सामुदायिक विद्यालयमा सीसीटिभी जडान गरी विद्यालयका शैक्षिक गतिविधिलाई अवलोकन तथा निगरानी गर्नका लागि उपमहानगरपालिकामा विशेष अवलोकन कक्ष निर्माण गर्न बजेट छुट्याएको छ।

स्वस्थ्य इटहरी कार्यक्रमअन्तर्गत इटहरीवासीलाई सेवा पु¥याउने उद्देश्यले २ वटा एम्बुलेन्स खरिद गरी निःशुल्क सेवा सञ्चालन गरिने पनि बजेटमा समेटिएको छ। इटहरीका मुख्य चोक तथा बजार क्षेत्रमा फ्री वाईफाई जडान गरिने, गरिब, विपन्न, ज्येष्ठ नागरिकको इटहरी अस्पतालमा गरिने उपचारमा ५० प्रतिशत छुट दिनेलगायत योजना बजेटमा उललेख छन्।

प्रकाशित: १० असार २०८० १६:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − nine =