सडक निर्माणमा गैरजिम्मेवारी

असार लाग्नासाथ जुर्मुराउँछन् ठेकेदार

विवेक विवश रेग्मी १० असार २०८० १२:१८
172
SHARES
असार लाग्नासाथ जुर्मुराउँछन् ठेकेदार गत साता कालोपत्रे गर्न सुरु गरिएको रानी-धरान सडकको तरहरा खण्ड। तस्बिर : विवेक विवश रेग्मी

इटहरी- असार लाग्छ, अनि सडक र अन्य पूर्वाधार निर्माणको जिम्मेवारी लिएका ठेकेदार कम्पनी सक्रिय हुने पुरानै रोग हो। यस्तो प्रवृत्ति कोशी प्रदेशमा यसपटक पनि दोहोरिएको छ। असार मसान्तसम्म काम सकेर भुक्तानी लिनुपर्ने भएका कारण प्रदेशका धेरैजसो ठाउँमा निर्माणका काम जारी छन्। भौतिक पूर्वाधार मन्त्रालयका अनुसार विभिन्न जिल्लामा कतै कल्भर्ट निर्माण, कतै सडक निर्माण त कतै भवन निर्माणमा मजदुरहरू व्यस्त छन्। सूचनै नदिई सडकको कल्भर्ट निर्माण हुँदा सास्ती व्यहोर्दै आएको गुनासो यात्रीको छ।

यस्तैमध्येको एउटा सडक हो, विराटनगरको रानीदेखि धरानसम्मको ४९ किलोमिटर ६ लेन सडक। असार मसान्तसम्म काम सक्ने गरी सम्झौता भएको ठेकेदार कम्पनी हिमदुङ प्यासेफिक जेबीले बिहीबारबाट मात्रै काम थालेको छ। कम्पनीले असार लाग्नासाथ काम थालेपछि बजेट सक्न मात्र खोजिएको भन्दै स्थानीयबासीले आलोचना गरेका छन्। इटहरीका स्थानीय भरत दाहाल भन्छन्, ‘हामीले हरेक दिनजसो यो सडकमा यात्रा गर्दा सास्ती पाएका छौँ। असार लागेपछि बजेट सक्न काम गरेजस्तो देखिन्छ।’

म्याद थप गर्दै सडक निर्माण काम छाडिएको उनको बुझाइ छ। ‘सडक आयोजनाले म्याद थप गर्ने भए म्याद नै नदिनु नि,’ दाहाल भन्छन्, ‘म्याद दिने हो भने समयमै काम सक्नुपर्‍यो। काम नसकेको अवस्थामा अर्को कम्पनीलाई ठेक्का दिनुपर्छ।’

इटहरी खण्डमा पर्ने सडक निर्माण सक्न उपमहानगरपालिकाले पटकपटक ताकेता गरे पनि निर्माण कम्पनीले अटेर गर्र्दै आएको थियो। बर्खायाममा काम सुरु गरी केही साताभित्र एकातर्फको काम सक्ने कम्पनीको दाबी छ।

रानी-विराटनगर-दुहबी-इटहरी-तरहरा-धरान ६ लेन सडकखण्डअन्तर्गत तरहराको पानीपियादेखि धरानको तीनकुनेसम्म भने ४ लेनको सडक निर्माण हुने गरी ठेक्का सम्झौता लागेको छ।

चारकोसे जंगल क्षेत्र भएको र घर तथा बजारहरू नभएका कारण यहाँ ४ लेनको सडक बनाउने गरी सम्झौता भएको हो। सडक आयोजनाका अनुसार असार मसान्तसम्म काम सक्नुपर्ने भए पनि फेरि म्याद थप गर्ने तयारी छ।

सडकमा धूलो, हिलो, खाल्डाखुल्डी र जथाभाबी भत्किएका कारण यात्रा गर्न जोखिम रहेको स्थानीय बताउँछन्। स्थानीय सरु कार्कीले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा हस्पिटल) जान अत्यन्तै असहज भएको बताउँछिन्। ‘दिनरात बिरामी हिँड्ने बाटो हो। निर्माण कम्पनीले हेलचेक्र्याइँ गर्दा हामीले सास्ती व्यहोरिरहेका छौँ,’ उनले भनिन्, ‘गर्भवती महिलादेखि दमका बिरामीलाई पनि धुवाँ, धूलो र खाल्डाखुल्डीका कारण धेरै अप्ठ्यारो भएको छ, बिरामी लिएर हिँड्नुपर्ने सडक आफैँ बिरामी छ।’

सडकमा जथाभाबी रूपमा खाल्डाखुल्डी रहेका कारण यात्रा गर्न सकस हुने स्थानीय धुव्र भण्डारी बताउँछन्। ‘धूलो हुन नदिनका लागि पानी सडकमा छ्याप्दा चिप्लिएर लडिन्छ भन्ने डर छ,’ उनले भने, ‘सडक निर्माणकै क्रममा कतिले दुर्घटनामा ज्यान गुमाए। अहिले पनि दिनमै ४-५ वटा दुर्घटना हुने गरेका छन्।’

कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक राकेश रेग्मीले अधिकांश सडककै कारण सवारी दुर्घटना भएको बताए। ट्राफिक प्रहरीको तथ्यांकअनुसार चालू आर्थिक वर्षमा ३२ वटा दुर्घटना भएका छन्। जसमध्ये ६ जनाको मृत्यु भएको छ भने ५६ जना घाइते भएका छन्। रेग्मीले भने, ‘सडक समस्याकै कारण धेरैजसो दुर्घटना भएका छन्।’

निर्माण छिटो हुनका लागि कर्मचारी संयन्त्रबाटै काम हुनुपर्ने सरोकारवालहरू बताउँछन्। काम गर्ने शैलीमा पुरानो परिपाटी अन्त्य नभएकाले पनि निर्माण पूरा हुन नसकेको हो।

६ लेन सडक आयोजनाकी इन्जिनियर प्रियङ्का झा असार मसान्तसम्मको म्यादअनुसार निर्माण कम्पनीलाई ठेक्का परेको बताउँछिन्। उनका अनुसार ५.३ किलोमिटर सडकको तीन वर्षअघि हिमदुङ प्यासेफिक जेबीले ४५ करोड लागतमा ठेक्का लिएको थियो। तीन वर्षअघि ठेक्का पाए पनि कालोपत्रे भने एक दिनअघि मात्रै सुरु भएको छ।
असारसम्म काम सम्पन्न भइसक्छ त भन्ने प्रश्नमा उनले भनिन्, ‘असारसम्म सम्पन्न भयो भने भयो, नभए म्याद थप भइहाल्छ नि। कोभिड लागेको थियो, सबै कारणले काम ढिलाइ भएको हो।’

पानीपियादेखि सेउतीसम्मको काम भइरहेको उनले बताइन्। उनले भनिन्, ‘त्यहाँदेखि उता पनि निर्माण सम्पन्न हुने गरी काम हुँदैछ।’ सेउती पुलबाट धरानको तीनकुनेसम्म भने दुवैतर्फ सडक निर्माण सकिएको छ। दुवैतर्फ एकतर्फी सडक सञ्चालन भइरहेका छन्।

विराटनगरको रानीदेखि धरानको तीनकुनेसम्म ४४ किलोमिटर सडकमा चरणबद्ध काम भइरहेको उनले बताइन्। उनका अनुसार सुनसरीको दुहबीको २ किलोमिटर र तीनकुनेदेखि धरानको भानुचोकसम्म ५ किलोमिटर सडकमा ठेक्का लाग्न बाँकी छ। इन्जिनियर झाले भनिन्, ‘ठेक्का लागेका ठाउँमा काम भइरहेको छ। चरणबद्ध तरिकाले काम हुँदैछ।’

२०६९।७० बाट सुरु भएको ६ लेन सडकको काम सात वर्षमा सक्ने लक्ष्य थियो। विराटनगरदेखि धरानसम्मको सडक पूरै सम्पन्न गरिसक्दा १० अर्ब ९८ करोड लागत लाग्ने अनुमान छ। तर समयअवधिमा काम सम्पन्न नभएपछि भने पछिल्लोपटक २०८० असारसम्मका लागि म्याद थप गरिएको ६ लेन सडक आयोजनाले जनाएको छ।
अब यो असारसम्ममा पनि काम नसकिएको अवस्थामा फेरि म्याद थप गर्ने आयोजनाले जनाएको छ। यसअघि वैशाखमै निर्माणाधीन ६ लेन सडकको रोकिएको काम तीन दिनभित्र सुरु गर्ने लिखित प्रतिबद्धता गरिएको थियो।

इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले निर्माण कम्पनीले तरहराको पानीपियादेखि सेउती पुलसम्मको काम नगरेका कारण कम्पनीको गाडी नियन्त्रणमा लिएका थिए। निर्माण कम्पनी, इटहरी उपमहानगरपालिका र ६ लेन सडक आयोजनाबीच भएको छलफलमा निर्माण कम्पनीले तीन दिनभित्रमा सडक थाल्ने लिखित सहमति गरेको थियो।

निर्माण कम्पनीका ठाकुर कँडेलले केन्द्रीय ल्याबबाट कालोपत्रे गर्नका लागि रिपोर्ट आउन वैशाख १७ गतेसम्म लाग्ने र त्यसयता सडकको धूलो सफा गरेर कालोपत्रेको तयारी थालिने बताएका थिए। लामो समयदेखि अलपत्र सडक अहिले निर्माण सुरु भए पनि गुणस्तरहीन हुनसक्ने स्थानीयको आशंका छ। ‘इस्टमेटभन्दा ५० लाखभन्दा बढीको पनि काम भयो,’ कडेँलले भने, ‘कोरोनापछिको आर्थिक समस्याले गर्दा पनि केही ढिलाइ हुन पुग्यो।’

निर्माण कम्पनीका कर्मचारी तारा खड्काले बर्खा लागे पनि अब निरन्तर काम हुने बताए। ‘अब निरन्तर काम हुन्छ। अहिले एकातर्फको धेरैजसो ठाउँमा प्राइम भइसकेको छ। केही ठाउँमा हुने तयारीमा छ,’ उनले भने, ‘२८ सय मिटर सडक चैँ केही समयभित्रै सक्नेगरी काम भइरहेको छ।’ एकतर्फीको दुई हजार ८ सय मिटर सडक भने निरन्तर काम हुने उनको दाबी छ।

प्रकाशित: १० असार २०८० १२:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast