ललितपुर महानगरको पुँजीगत खर्च ४० प्रतिशतमात्रै

हिमाल प्रेस १० असार २०८० ८:२०
4
SHARES
ललितपुर महानगरको पुँजीगत खर्च ४० प्रतिशतमात्रै

ललितपुर– ललितपुर महानगरपालिकाले चालु आर्थिक ०७९/८० को जेठ मसान्तसम्म ४० प्रतिशतमात्रै पुँजीगत खर्च गरेको छ।

महानगरका सूचना अधिकारी देव गुरागाईंका अनुसार ललितपुरले जेठ मसान्तसम्म पुँजीगततर्फ २ अर्ब ७ करोड बजेटमात्रै खर्च गर्न सफल भएको हो। यो महानगरको वार्षिक पुँजीगत बजेट ५ अर्ब १९ करोड ३५ लाखको ४० प्रतिशत हो।

गत असारमा कुल बजेट छ अर्ब ३५ करोड ३५ लाख ३ हजार पारित भएको थियो। उक्त बजेटको संशोधन गर्दै २०७९ पुसमा सम्पन्न दोस्रो नगरसभाले १ अर्ब १५ करोड पूरक बजेट थप गरेको थियो।

गत असारको नगरसभामा पुँजीगततर्फ ४ अर्ब ८ करोड ७३ लाख ४९ हजार पारित गरेकामा पुसको नगरसभाबाट १ अर्ब १० करोड ३५ लाख पूरक बजेट थप गरी ५ अर्ब १९ करोड ३५ लाख पुर्याएको सूचना अधिकारी गुरागाईंले जानकारी दिए।

यस्तै आन्तरिक आयतर्फ ललितपुरले ८५ प्रतिशत उपलब्धि हासिल गरेको छ। आन्तरिक र राजस्व बाँडफाँटबाट प्राप्त हुनेसमेत गरी २ अर्ब ४० करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको महानगरले आन्तरिकतर्फ जेठ मसान्तसम्म १ अर्ब १५ करोड संकलन गर्न सफल भएको राजस्व महाशाखा प्रमुख प्रेम थापाले जानकारी दिए।

थापाका अनुसार महानगरले यस वर्ष आन्तरिक र राजस्व बाँडफाँटबाट प्राप्त हुनेसमेत गरी कुल २ अर्ब ४० करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको छ। आन्तरिकतर्फ १ करोड ३५ लाख राजस्व संकलन गर्ने लक्ष्य राखेको हालसम्म उठेको रकम ८५ प्रतिशत हो।

अघिल्लो आर्थिक वर्षमा २ अर्ब ६७ करोड राजस्व संकलन गरेको महानगरले आन्तरिकतर्फ १ करोड ४५ लाख राजस्व संकलन गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =