साफ च्याम्पियनसिपबाट बाहिरियो पाकिस्तान

हिमाल प्रेस ९ असार २०८० १८:२७
12
SHARES
साफ च्याम्पियनसिपबाट बाहिरियो पाकिस्तान फाइल तस्बिर

काठमाडौँ- लगातार दोस्रो पराजय भोगेपछि पाकिस्तान साफ च्याम्पियनसिपको समूह चरणबाट बाहिरिएको छ। बेंगलोरको कान्तिरिभा रंगशालामा शनिबार कुवेतसँग ४-० ले हारेसँगै पाकिस्तानको सेमिफाइनल पुग्ने सम्भावना सकिएको हो। पाकिस्तान पहिलो खेलमा भारतसँग ४- ० ले नै पराजित भएको थियो।

पाकिस्तानलाई सजिलै पन्छाएको कुवेत भने सेमिफाइनल नजिक पुग्यो। प्रतियोगिताको उद्घाटन खेलमा नेपाललाई ३-१ ले हराएको कुवेतको अब समूह ‘ए’ मा ६ अंक भएको छ। समूह चरणमा कुवेतले अब एक खेल खेल्न बाँकी छ। कुवेत आगामी मंगलबार भारतसँग भिड्दैछ।

पाकिस्तान भने घर फर्कनुअघि नेपालसँग प्रतिस्पर्धा गर्नेछ। १२ औँ पटक साफ च्याम्पियनसिप खेल्दै गरेको पाकिस्तान साताैँ पटक समूह चरणबाटै बाहिरिएको हो।

यसपालि पहिलो पटक साफ च्याम्पियनसिप खेलेको कुवेतका लागि विंगर मोबरक अल्फानेनी दुई गोल गरेका थिए। बाँकी दुई गोल हसन अल इनेजी र इद अल रसिदको नाममा रह्यो। रक्षक इनेजीले १० औँ मिनेटमा कुवेतलाई अग्रता दिलाएका थिए। त्यसपछि एल फानेनीले १७ औँ मिनेटमा कुवेतको अग्रता दोब्बर बनाए।

उनै अल फानेनीले पहिलो हाफको निर्धारित समय सकिएपछि कुवेतलाई ३-० मा पुर्‍याए। दोस्रो हाफमा भने कुवेतले एक गोल मात्र थप्यो। ६९ औँ मिनेटमा अल रासेदीले कुवेतको अन्तिम गोल गरेका थिए।

शनिबार नै यही समूहमा भारत र नेपाल आमनेसामने हुँदैछन्। जित हात पारे भारत सेमिफाइनलमा पुग्नेछ। सर्वाधिक आठ पटक साफ च्याम्पियनसिप जितेको भारत नेपालसँग रोकिए घरेलु टिमका लागि कुवेतसँगको खेल निर्णायक हुनेछ। भारतसँग हारे नेपालको सेमिफाइनल पुग्ने सम्भावना अन्त्य हुनेछ।

प्रकाशित: ९ असार २०८० १८:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 12 =