काठमाडौँ- ‘यसपालि साफ च्याम्पियनसिप जित्ने दाबी गर्न सकिँदैन,’ फिलिपिन्ससँगको मैत्रीपूर्ण खेल र साफ च्याम्पियनसिपका लागि नेपाल छाड्नुअघि राष्ट्रिय टिमका कप्तान किरण कुमार लिम्बुले भनेका थिए। यसअघिका सबैजसो संस्करणमा दाबेदार मानिने नेपाल यसपल्ट किन आत्मविश्वासी छैन? यसका धेरै कारण छन्। मुख्य कारण त अनुभवी खेलाडीको कमी। त्यसमाथि नयाँ मुख्य प्रशिक्षक र उनले तयारीका लागि पर्याप्त समय नपाउनु।
हुन पनि नेपाली टिमका २३ मध्ये १४ खेलाडी पहिलो पटक साफ च्याम्पियनसिपको अनुभव बटुल्दै छन्। गत बुधबार पहिलो खेलमा कुवेतविरुद्ध उतारिएको पहिलो एघारमा चार खेलाडी नयाँ थिए। बेन्चबाट मैदान छिरेका चारमध्ये तीन खेलाडीले पनि यसअघि साफ च्यामिपयनसिप खेल्न पाएका थिएनन्।
राष्ट्रिय टिमका सदस्य तथा लिगमा स्थापित दर्जनौँ खेलाडी विदेशीएपछि बनाइएको यो नयाँ स्वरुपको टिमले पहिलो खेलमै हार व्यहोर्यो। आगन्तुक टिमका रुपमा पहिलो पटक दक्षिण एसियाली प्रतियोगिता खेलिरहेको कुवेतले पहिलो हाफ पूर्ण रुपमा आफ्नो नियन्त्रणमा राखेको थियो। दोस्रो हाफमा भने नेपाल केही हदसम्म ब्युँतियो। एक गोल फर्काएर हार अन्तरलाई ३-१ मा पुर्यायो।
तीव्र गतिमा खेलेको कुवेतसँग सजिलै हारेपछि नेपालका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसको प्रतिक्रिया थियो, ‘पहिलो हाफमा नेपाली खेलाडी डराए। खेल्नै सकेनन्। दोस्रो हाफमा प्रदर्शनमा सुधार आयो। अब भारतसँगको खेल फाइनलसरह हुनेछ।’
एनिसले भनेझैँ भारतसँगको भिडन्त नेपालका लागि निर्णायक जस्तै हो। किनभने यो खेल हारे, नेपालको सेमिफाइनल पुग्ने सम्भावना असाध्यै कठिन बन्नेछ। कम्तीमा बराबरी गरे मात्र हो, अन्तिम चारमा स्थान बनाउने सम्भावना जीवित रहने।
हुन त पहिल्यै भनिएको हो, नेपाल रहेको समूह ‘ए’ सबैभन्दा कठिन छ भनेर। सदाबहार बलियो टिम भारत, खाडीको कुवेत र विदेशमा खेल्ने आधा दर्जन खेलाडी सम्मिलित पाकिस्तान कुनै हिसाबमा नेपालका लागि सजिला विपक्षी होइनन्। यी तीनसँगको खेल अप्ठ्यारा हुँदैनन् भनेर न त कसैले जिकिर गरेको थियो। कुवेतसँगको हारले नेपाललाई गर या मरको स्थितिमा पुर्याउनेछ, यो पनि पहिल्यै गरिएको अनुमान हो। यस्तोमा हालको स्थिति अनपेक्षित होइन।
तर जे जे भए पनि यो स्थितिबाट त पार हुनु नै छ।
नेपाली फुटबलमा प्रयोग भइरहने वाक्य छ, दक्षिण एसियाली फुटबलमा नेपालको सबैभन्दा ठूलो प्रतिद्वन्द्वी भारत हो। तर के भारत नेपाललाई प्रतिद्वन्द्वी मान्छ? यो प्रश्न किन गरिएको हो भन्दा, भारतका लागि नेपाल सजिलो विपक्षी हो। अहिलेसम्मका नतिजाले यही देखाउँछ। २३ खेल खेल्दा १६ पटक हराएको विपक्षी पनि के प्रतिद्वन्द्वी? त्यसमाथि यी दुई टिम जम्मा एक पटक मात्र साफ च्याम्पियनसिपको उपाधिका लागि भिडेका छन्। गत संस्करणको त्यो भिडन्तमा पनि नेपाल सजिलै पराजित भएको थियो।
यसपालि त भारत झनै बलियो लयमा छ। लगातार सात खेलमा गोल खाएको छैन। भारतीय टिमका लागि यो आफैँमा कीर्तिमान हो। यसअघि यत्तिका खेलमा भारतले लगातार क्लिनसिट राखेको थिएन। यसबीचमा भारतले वरीयतामा आफूभन्दा बलिया लेबनान र किर्गिजस्तानलाई हराएको छ। हालका मुख्य प्रशिक्षक इगोर स्टिमचको नेतृत्वमा भारत सुन्दर फुटबल खेलिरहेको छ, समर्थकको भनाइ यस्तै छ।
खासमा अहिले भारतीय समर्थक प्रफुल्लित छन्। कप्तान सुनिल क्षेत्री लगातार गोल गरिरहेका छन्। त्यसमाथि भारतीय फुटबल संघ हाक्न आइपुगेको नयाँ समितिले असीमित सपना देखाएको छ। घरेलु फुटबल संरचनालाई बलियो बनाइएको छ। यस्तै यस्तै कारणले भारतीय फुटबलमा अहिले माहोल तातेको छ। पाकिस्तानसँगको खेल हेर्न झन्डै २३ हजार समर्थक कान्तिराभा पुग्नु यसको प्रमाण हो।
यसपालि त भारत झनै बलियो लयमा छ। लगातार सात खेलमा गोल खाएको छैन। भारतीय टिमका लागि यो आफैँमा कीर्तिमान हो। यसअघि यत्तिका खेलमा भारतले लगातार क्लिनसिट राखेको थिएन। यसबीचमा भारतले वरीयतामा आफूभन्दा बलिया लेबनान र किर्गिजस्तानलाई हराएको छ।
तर नेपाली फुटबल भारतको भन्दा ठ्याक्कै उल्टो स्थितिमा छ। खैर यो गनगन गर्ने बेला होइन। यद्यपि यो माहोलले नेपाली खेलाडीलाई शनिबार साँझ थिच्ने नै छ। खेलाडीमाथि थुप्रिने यो भार हटाउने जिम्मेवारी एनिसको पनि हो। जो भारतीय फुटबलबारे जानकार छन्। भारतीय प्रशिक्षक र खेलाडीहरुलाई नजिकबाट चिन्छन्। भारतीय टिमबारे जानकार प्रशिक्षक हुनु नै नेपालको सबैभन्दा सबल पक्ष हो, कम्तीमा अहिलेका लागि।
भारतीय फुटबलमा दुई वर्ष बिताएका एनिसले त्यहाँ गोकुलम केरेला एफसीलाई दुई पटक आई लिग जिताएका थिए। एक सिजन त उनले गोकुलमलाई अपराजित राख्दै च्याम्पियन बनाएका हुन्। एनिसको यो सफलतालाई भारतीय समर्थकले बिर्सिएका छैनन्। न त स्टिमचले नै बिर्सिएका छन्। स्टिमचले किन पनि बिर्सदैनन् भने, एनिसले उनको पटक पटक आलोचना गरेका थिए।
आलोचनाको कारण थियो, क्रोएसियाली प्रशिक्षकले आई-लिग खेल्ने खेलाडीलाई भारतीय टिममा मौका नदिनु। फेरि यो यस्तो बेला थियो, जब आई-लिग र भारतीय सुपर लिग (आईएसएल) समर्थकबीच छेडखानी चलिरहन्थ्यो। आई-लिग समर्थक आफ्नो लिगलाई अर्गानिक दाबी गर्थे। एनिस पनि यही कित्तामा थिए। उनी ठान्थे, स्टिमच आई-लिग खेल्ने खेलाडीलाई हेपिरहेका छन्।
आफ्नो प्रोफाइल बलियो बनाउने लालसामा नेपाल आइपुगेका एनिसले साफ च्याम्पियनसिपका लागि गहिरो तयारी गर्न पाएनन्। लिग सकिएपछि नेपालमा दुई दिन, फिलिपिन्समा एक दिन र भारतमा केही दिन, एनिसले नेपाली खेलाडीलाई अभ्यास गराउन पाएको समय यत्ति हो। यति हुँदाहुँदै पनि एनिसले गुनासो गरेका छैनन्।
फिलिपिन्ससँगको खेलमा एनिसले रक्षात्मक रणनीति अपनाएका थिए। पुजन उपरकोटीले पेनाल्टी बक्समा त्यो बल क्लियर गरेको भए सम्भवतः खेल बराबरीमा सकिन्थ्यो। एनिस त्यस परीक्षामा उत्तिर्ण हुन्थे। बेंगलोरमा पनि एनिसले उही रणनीतिलाई निरन्तरता दिए। तर फेरि समस्या उही, रक्षापंक्तिमा भएका गल्ती।
उसो त एक टिमले गल्ती नगरी अर्को टिमले कसरी गोल गर्ने? यद्यपि कुवेतसँग भएका गल्ती नजरअन्दाज गर्न मिल्ने खालका थिएनन्। एनिस आफैँले पनि यो विषयमा प्रतिक्रिया दिएका छन्। हुन त रक्षात्मक रणनीति सजिलै लागू गर्न सकिने रणनीति होइन। ‘लो ब्लक’ खेल्ने हो भने, हरेक रक्षकले आधारभुत कौशलमा ध्यान दिनैपर्छ, सामान्य गल्ती गर्न पाइँदैन। विशेषगरी विपक्षी खेलाडीमाथिको कडा ‘मार्किङ’ त अनिवार्य शर्त हो। हो, यही पक्षमा नेपाली खेलाडी चुके। फलत नेपालले सेटपिस र ट्रान्जिसनमा गोल खान पुग्यो।
भारतले पछिल्ला पाँच खेलमा नौ गोल गरेको छ। कप्तान तथा मुख्य स्ट्राइकर सुनिल क्षेत्रीले गत बुधबार पाकिस्तानविरुद्ध ह्याट्रिक नै गरे। सुनिल फेरि यस्ता स्ट्राइकर हुन्, जो नेपाली रक्षापंक्तिलाई दुःख दिइरहनेका रुपमा परिचित छन्। उनले नेपालसँगका १२ खेलमा आठ गोल गरेका छन्। नेपालविरुद्धको यो लय उनी शनिबार पनि जारी राख्ने दाउमा हुनेछन्। उनको यो लक्ष्यलाई अनिरुद्ध थापा, लालिनजसला चाङ्टे, शाहाल अब्दुल समाद जस्ता तीव्र गतिका फरवार्डले साथ दिनेछन्।
फुर्किएका भारतीय खेलाडीलाई रोक्न एनिसले फेरि पनि रक्षात्मक रणनीति नै अपनाउन सक्छन्। भलै उनले यो खेलमा नेपालले आक्रमक खेल्ने बताएका छन्। काउन्टर अट्याकमा भारतलाई दुःख दिने नियतसहित नेपाल बेंगलोरको मैदानमा ओर्लनेछ। यो रणनीतिमा नेपाल सफल होला? अहिलेलाई यति भन्न सकिन्छ, सफल हुन नेपालसँग पर्याप्त हतियार छन्। ती हतियार तीव्र गतिमा खेल्ने फरवार्ड नै हुन्।
हो, अन्जन विष्ट, मनिष डाँगी, आयुष घलान, नवयुग श्रेष्ठ लगायतका नेपाली फरवार्ड भारतीय रक्षकहरुको तुलनामा शारीरिक रुपमा कमजोर छन्। तर त्यस्तो कमजोरी छोप्न यी नेपाली खेलाडीसँग कौशल भने छ। बल पाउन साथ काउन्टर अट्याकमा होमिने क्षमता नेपाली खेलाडीले कुवेतविरुद्द प्रमाणित गरेकै हुन्। अनन्त तामाङबाट आएको लामो बललाई कुवेती रक्षकले हेडर गर्दा भएको मिसपासलाई अन्जन विष्टले तुरुन्तै सदुपयोग गरेका थिए। बल पाउनसाथ उनले नअत्तालिकन कुवेती पोस्टमा प्रहार गरे। आत्मविश्वासले भरिएको उनको प्रहार कुवेती गोलरक्षकले रोक्न सकेनन्।
मौका पाए गोल गर्न अन्जन सिपालु छन्। यो स्थापित तथ्य हो। होचो कदका भए पनि लोभलाग्दो तरिकाले एयर बल नियन्त्रणमा लिने अन्जन ड्रिब्लिङ गर्न डराउँदैनन्। मनिष र आयुषसँग पनि यो क्षमता छ। यी तीनै जना विंगबाट बल लिएर सिधै विपक्षीको बक्समा छिर्न सक्छन्। तर यहाँ प्रश्न, यी खेलाडीलाई त्यस्ता सुन्दर पास पर्याप्त मात्रामा पाउलान्? लाकेन लिम्बु, एरिक विष्ट र पुजन उपरकोटी ‘ब्रेक थ्रु’ पास निकाल्न तयार छन्? अनि के नेपाली रक्षापंक्ति एकाग्रता नगुमाई आफ्नो क्षेत्रको सुरक्षा गर्न सफल हुन्छ? यी प्रश्नको जवाफ वरपर नै शनिबारको नतिजा घुम्नेछ।