ईसीडी शिक्षक र विद्यालय कर्मचारीका मागबारे गम्भीर बन्न सरकारको ध्यानाकर्षण

हिमाल प्रेस ८ असार २०८० ११:५८
2.0k
SHARES
ईसीडी शिक्षक र विद्यालय कर्मचारीका मागबारे गम्भीर बन्न सरकारको ध्यानाकर्षण

काठमाडौँ- संघीय प्रतिनिधिसभा बैठकमा सामुदायिक विद्यालयमा कार्यरत बाल विकास शिक्षक (ईसीडी)का समस्याबारे सरकारको गम्भीर ध्यानाकर्षण गराइएको छ। पूर्वशिक्षामन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले शुक्रबारको संसद् बैठकमा भने, ‘ईसीडी शिक्षकका समस्या समाधान गरेर सार्वजनिक विद्यालयलाई सुधार्ने अभियानमा अघि बढ्न सरकार र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।’

उनले सदनमा निरन्तर रूपमा विद्यालय कर्मचारीका मागबारे कुरा उठिरहे पनि सम्बोधन गर्न सरकार संवेदनशील नभएको बताए। उनले भने, ‘विद्यालय सुधारका निम्ति महत्त्वपूर्ण जिम्मेवारी प्राप्त गरेका शिक्षक र कर्मचारी समस्या समाधान गरेर मात्र सार्वजनिक विद्यालय सुधार हुन सक्छ।’

यस्तै उनले विद्यालय कर्मचारीका समस्याबारे विगतदेखि नै कुरा उठाइँदै आएको स्मरण गरे। पौडेलले भने, ‘२०७८ फागुन ९ गते नेपाल शिक्षक महासंघसँग ५१ बुँदे सहमति भएको थियो। २०७५ सालमा पनि शिक्षक महासंघसँग त्यस प्रकारका समस्या समाधान गर्ने प्रतिबद्धता गरिएको थियो। आजसम्म त्यस प्रकारका समस्याको हल नहुनु र विद्यालयका विषयमा शैक्षिक सुधारका विषयमा सदनमा लगातार कुरा उठ्दा पनि शिक्षकका समस्या समाधान नहुनु भनेको गम्भीर कुरा हो।’

उनले राज्यसँग भएका सहमति त्यत्तिकै कागजमा नसुकाउन र कार्यान्वयन गर्न सरकारसँग माग गरे।

प्रकाशित: ८ असार २०८० ११:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =