फेवातालमा ड्रागन बोट फेस्टिभल [फोटो फिचर]

विजय नेपाल ८ असार २०८० ११:५३
16
SHARES
फेवातालमा ड्रागन बोट फेस्टिभल [फोटो फिचर]

पोखरा– चीनबाहिर एसियामै पहिलो पल्ट पर्यटकीय नगरी पोखरामा शुक्रबार ड्रागन बोट रेस फेस्टिभल सुरु भएको छ। २ दिनसम्म चल्ने सो फेस्टिभल शुक्रबार (आज) संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले उद्घाटन गरेका हुन्।

नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ राजदूतावास र पोखरा महानगरपालिकाको आयोजनामा भएको बोट रेस फेस्टिभलमा नेपालसहित चीन, सिंगापुरका गरी ८ टिमले भाग लिएका छन्।

तीमध्ये नेपाली ४ टिममा नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ एसोसिएसन (एनआरसिए), चाइना नेपाल फ्रेन्डसिप, फेवा डुंगा नव्यवसायी संगठन र पोखरा महानगरपालिकाको टिमले भाग लिएका हुन्।

प्रतिस्पर्धा २ सय र ५ सय मिटरको इभेन्टमा हुनेछ। एक टिममा १२ खेलाडी सम्मिलित हुने छन्। चाइनीज ड्रमको तालमा खेलाडीले डुंगामार्फत निर्धारित दुरी पार गर्नुपर्नेछ।

विजेताले ५ लाख ५० हजार पुरस्कार प्राप्त गर्ने छन्। पुरस्कारको लागि नगद ३० लाख खर्च हुनेछ। सो अवसरमा नेपालसहित विभिन्न देशका सांस्कृतिक प्रस्तुतिसमेत राखिने छ।

यसअघि अस्ट्रेलियामा भएको अन्तर्राष्ट्रिय वोट रेसमा प्रथम सिंगापुरको टिम पनि यहाँ भाग लिएको छ।

फेस्टिभल उद्घाटन अवसरमा मन्त्री किरातीले नेपाल र चीनबीचको सम्बन्ध १५ सय वर्ष अघिदेखि रहेको बताए। उनले यसप्रकारको प्रतियोगिताले पर्यटनमा टेवा पुग्नुका साथै दुई देशबीच सांस्कृतिक एकतासहित सम्बन्ध थप सुमधुर हुन मद्दत मिल्ने जानकारी दिए।

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चन सोङ, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीलगायतले फेस्टिभलले पोखराको पर्यटनमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एसोसिएसनको सहआयोजनामा हुने फेस्टिभलमा होटल एसोसिएसन नेपाल (हान), नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा), नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ एसोसिएसनलगायत विभिन्न संघ संस्थाको सहकार्य छ।

फेस्टिभल अवलोकनका लागि ठूलो संख्यामा मानिसको भिड लागेको छ। फेवाताल किनार क्याम्पिङचोकमा फेस्टिभलको रौनक छ।

प्रकाशित: ८ असार २०८० ११:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − thirteen =