साफ च्याम्पियनसिप : भुटानले थेगेन माल्दिभ्सको तीव्रता

हिमाल प्रेस ७ असार २०८० २२:३७
14
SHARES
साफ च्याम्पियनसिप : भुटानले थेगेन माल्दिभ्सको तीव्रता

काठमाडौँ- दुई पटकको च्याम्पियन माल्दिभ्सले साफ च्याम्पियनसिप २०२३ मा विजयी सुरुवात गरेको छ। बेंगलोरको कान्तिरिभा रंगशालामा माल्दिभ्सले आफ्नो पहिलो खेलमा बिहीबार भुटानलाई २-० ले पराजित गर्‍यो।

समूह ‘बी’ मा रहेको माल्दिभ्सलाई जिताउन हम्जा मोहम्मद र नाइज हसनले एक-एक गोल गरे। ‘ट्रान्जिसन’ र काउन्टर अट्याकमा खतरनाक देखिएको माल्दिभ्स छैटौँ मिनेटमा अग्रता लिएको थियो। अग्रता लिन माल्दिभ्सका हम्जाले पेनाल्टीमा गोल गरे। हम्जालई तेन्जिन दोर्जीले १८ यार्ड बक्सभित्र लडाएपछि माल्दिभ्सले पेनाल्टी पाएको थियो।

माल्दिभ्सको आक्रमण भने भुटानका निमा वाङ्दीले प्रहार गरेको खराब ‘थ्रो-इन’ का कारण सम्भव भएको थियो। निमाको ‘थ्रो-इन’ माल्दिभ्सका मोहम्मद इरुफानले ब्लक गरेका थिए। त्यसपछि बल पाएका हम्जा भुटानका तीन खेलाडीलाई बिट गर्दै पेनाल्टी बक्समा पुगेका थिए। जहाँ उनलाई लडाइयो। उनको तीव्रतालाई रोक्न दोर्जीले पछािडबाट तानेका थिए।

माल्दिभ्सले दोस्रो गोल निर्धारित समय सकिनै लाग्दा गरेको थियो। यो गोल पनि भुटानकै गल्तीका कारण सम्भव भयो। भुटानका यसी दोर्जीले मिसपास गरेपछि बल माल्दिभ्सका इब्राहिम एइसामले पाएका थिए। त्यसपछि एइसामले सामोह अलीलाई ब्याकपास दिए। अलीबाट बल फेरि एइमासकहाँ नै पुग्यो। एइमासले बल पाउन साथ टर्न गरेर नाइज हसनका लागि पास निकाले। हसन बल पाएपछि केही कदमअघि बढे र वान भर्सेस वानमा भुटानका छिरिङ डेन्डुपलाई छक्याउँदै गोल गरे।

गोल खाएको केही मिनेटअघि भुटानका वाङ्दीको प्रहार गोलपोस्टमा लागेको थियो। गोलका अरु निकै अवसर गुमाएको भुटानलाई रोक्न माल्दिभ्सका गोलरक्षक हुसेन सरिफ निर्णायक साबित भए। उनले पहिलो हाफको २२ औँ मिनेटमा यसी दोर्जीलाई वान भर्सेस वानमा विफल तुल्याएका थिए। पहिलो हाफ नसकिँदै फेरि यसी दोर्जीको शक्तिशाली प्रहार बचाएका सरिफ दोस्रो हाफमा पनि चट्टानझैँ उभिरहे।

जितपछि माल्दिभ्स समूह ‘बी’ को दोस्रो स्थानमा छ। बिहीबार नै बंगलादेशलाई २-० ले पन्छाएको आगन्तुक टिम लेबनान पहिलो स्थानमा छ। प्रतियोगिताको पहिलो दिनको खेलमा कुवेत र भारत विजयी भएका थिए। कुवेतले नेपाललाई ३-१ र भारतले पाकिस्तानलाई ४-० हराएका थिए। एक-एक जितका साथ भारत र कुवेत समूह ‘ए’ को शीर्ष दुईमा छन्।

अब आउँदो शनिबार समूह चरणका थप दुई खेल हुनेछन्। दिउँसो पाकिस्तान र कुवेत भिड्नेछन् भने साँझ भारत र नेपाल आमनेसामने हुनेछन्। लगातार दोस्रो खेल हारे गत संस्करणको उपविजेता नेपालको सेमिफाइनल पुग्ने सम्भावना कठिन बन्नेछ।

प्रकाशित: ७ असार २०८० २२:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =