ललितपुर महानगरको नीति तथा कार्यक्रम : श्रम बैंकदेखि क्लिनिङ एम्बुलेन्ससम्म

हिमाल प्रेस ६ असार २०८० २१:१७
16
SHARES
ललितपुर महानगरको नीति तथा कार्यक्रम : श्रम बैंकदेखि क्लिनिङ एम्बुलेन्ससम्म ललिपुरको कुपण्डोल क्षेत्र। फाइल तस्बिर

काठमाडौँ- ललितपुर महानगरपालिकाले आयोजना बैंक, श्रम बैंकदेखि क्लिनिङ एम्बुलेन्ससम्मको व्यवस्था गरी वार्षिक कार्यक्रम सञ्चालन गर्ने नीति लिने भएको छ।

आर्थिक वर्ष २०८०/८१ का लागि महानगर प्रमुख चिरीबाबु महर्जनले आज (बुधबार) नगरसभामा पेस गरेको वार्षिक नीति तथा कार्यक्रममा आयोजना बैंकको तर्जुमा गर्ने, नागरिकका गुनासा तत्कालै सम्बोधन गर्ने गरी क्लिनिङ एम्बुलेन्सको अवधारणा लागू गर्ने विषयलाई समेटिएको छ।

तेस्रो नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा महानगरले आगामी आर्थिक वर्षमा आवधिक योजना र मध्यकालीन खर्च संरचना तर्जुमा गरी सोहीअनुसार वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गर्ने, कार्यक्रम कार्यान्वयन कार्ययोजना तथा खरिद कार्ययोजना तर्जुमा गर्ने, योजना कार्यान्वयनको त्रैमासिक समीक्षा गर्नेलगायतका विषयलाई प्राथमिकताका साथ समावेश गरेको छ।

बढ्दो सवारी चापको व्यवस्थापन तथा पैदलयात्रीको सहजताका लागि महानगरको चक्रपथ खण्ड र अन्य उपयुक्त स्थानमा आकासे पुल निर्माणका लागि सम्बन्धित निकायसँग समन्वय र सहकार्य गर्ने नीति महानगरले लिने विषय नीति तथा कार्यक्रममा उल्लेख छ।

हरित र स्वच्छ सहरको अवधारणालाई ध्यान दिँदै आएको महानगरले धुलोरहित सडक व्यवस्थापनका लागि नक्खु खोला र अन्य उपयुक्त स्थानमा टिपर पखाल्ने प्रविधि जडानको व्यवस्था मिलाइने, टिपरलगायत मालवाहक सवारीसाधनको आवागमन नक्खु, बागमती करिडोरबाट मात्रै गर्न सम्बन्धित निकायसँग समन्वय गर्ने महानगरको नीति छ।

चालु आर्थिक वर्षमा सडक सौन्दर्यलाई ध्यानमा राखी महानगरपालिकाभित्रका सडकमा हरियाली प्रवर्द्धन गर्ने नीतिअनुरुप विभिन्न स्थानमा पार्क निर्माण गरिरहेको छ। परम्परागत पानीका मुहान, ढुंगेधारा, कुवा, इनार, पोखरी जस्ता स्रोतलाई संरक्षण गर्ने, सिस्नेरी खोलाको पानीलाई उपत्यकामा ल्याउने सम्बन्धमा सम्बद्ध निकायको समन्वयमा आवश्यक गृहकार्य गर्ने, प्रत्येक घरमा स्वच्छ खानेपानीको पहुँच पुर्‍याउने, पानीको वितरण प्रणालीलाई व्यवस्थित गर्ने, पैदल यात्रुलाई शुद्ध पिउने पानीको व्यवस्थाका लागि ‘वाटर एटीएम’ सञ्चालन गर्नेलगायतका विषयलाई समेत महानगरले नीति तथा कार्यक्रममा समेटेको छ।

आगामी वर्षको नीत तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा महानगर प्रमुख महर्जनले पारदर्शिता अपनाएर विधिसम्मत तरिकाले काम गर्न जनप्रतिनिधिलाई आग्रह गरे।

प्रकाशित: ६ असार २०८० २१:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =