जिपलाइन निर्माणले पहिरोको जोखिममा भक्तपुरको रानीकोट

हिमाल प्रेस ६ असार २०८० १३:३०
6
SHARES
जिपलाइन निर्माणले पहिरोको जोखिममा भक्तपुरको रानीकोट

भक्तपुर– पर्यटकीय गन्तव्यको रूपमा पहिचान बनाउँदै आएको सुर्यविनायक नगरपालिका-८ घ्याम्पेडाँडा रानीकोट सडक खण्डमा योयो जिपलाइनले सार्वजनिक जग्गा अतिक्रमण गरी संरचना निर्माण गर्दा सडक पहिरोको जोखिममा परेको छ।

जिपलाइनले घ्याम्पेडाँडा हुँदै रानीकोट जाने ८ मिटर चौडा सडकको मापदण्ड एवम् सामुदायिक वनको जग्गा अतिक्रमण गरेर टिकट काउन्टरदेखि रेष्टुरेन्टसम्म बनाउँदा पनि स्थानीय तहले बेवास्ता गरेको भन्दै स्थानीयले अतिक्रमण रोक्न माग गरेका छन्।

भक्तपुरकै पर्यटकीयस्थलमात्रै नभई काभ्रेको र्‍यालेबाट पनौतीसम्म जाने मुख्य सडकको रूपमा प्रयोग हुँदै आएको यो सडक जिपलाइनकै लापरवाहीका कारण पहिराको जोखिममा परेको स्थानीय सन्तमान वाइबाको भनाइ छ।

नाफा कमाउने उद्देश्यले विगत १ वर्षदेखि पूर्ण रूपमा सञ्चालनमा आएको व्यावसायिक संस्था योयो जिपलाइनले यहाँको सामुदायिक वनको जग्गासमेत मिचेर संरचना बनाउँदा त्यसलाई रोक्नुको सट्टा त्यस्ता संरचना संरक्षण गर्न वडा कार्यालयले ६० प्रतिशत र जिपलाइनले ४० प्रतिशत बजेट व्यहोर्ने गरी ६०-४० शीर्षकको बजेट हालेर व्यवसायीको निजी सम्पत्ति संरक्षण गरेको रानीकोटका व्यवसायी हर्कमान लामाले गुनासो गरे।

‘जिपलाइनले सामुदायिक वनको जग्गा अतिक्रमण गरेर संरचना बनाएको छ, वर्षाको समयमा पहिरो जान सुरु भइसक्यो, योयो जिपलाइनको संरचना जोगाउन वडा कार्यालयले जालीसहितको पर्खाल लगाइदिएको छ, अहिले फेरि जिपलाइनले त्यहीँ पर्खाल मुनिबाट करिब ४० फिट गहिरो पहरा खनेको छ, यसले सडकमा पहिरो जाने जोखिम बढाएको छ,’ उनले भने।

जिपलाइनमा आउनेले सडकमै पार्किङ गरिदिँदा रानीकोट र र्‍यालेका बासिन्दालाई आवतजावतमा समेत कठिनाइ पर्ने गरेको रानीकोटका होटल व्यवसायी बताउँछन्।

यसबारेमा पटक-पटक सडकमा पार्किङ नगराइदिन जिपलाइनलाई आग्रह गर्दा अटेर गरेको व्यवसायीको गुनासो छ।

सडकमा पहिरो गएर रोकिए घ्याम्पेडाँडा रानीकोट जाने पर्यटकको आगमन बन्द हुनुका साथै यहाँबाट काभ्रेको र्‍याले, पनौती, लाकुरीभञ्याङ जाने सडक नै अवरुद्ध हुने भएकाले क्षति हुनु अगाडि नै स्थानीय तहले यसबारेमा चासो दिनुपर्ने होटल व्यवसायी सुनिल श्रेष्ठको भनाइ छ।

सयौं वर्ष अगाडिदेखि नै यो सडक काभ्रे-१ र्‍यालेका बासिन्दाले भक्तपुर, काठमाडौँ बजार आउने मुख्य सडकको रूपमा प्रयोग गर्दै आएको र्‍यालेका तरकारी व्यवसायी अमित लामाको भनाइ छ।

‘र्‍याले, पनौतीको ग्रामीण क्षेत्रबाट भक्तपुरको बजारमा दैनिक कृषि उत्पादन, तरकारी, दूध, कुखुरालगायतका उत्पादनलाई बजार लैजान प्रयोग गर्ने मुख्य सडक यही हो, पहिराले यो रोकिए हाम्रो रोजीरोटी गुम्छ, त्यसैले अरुलाई अवरोध नपुग्ने गरी र सार्वजनिक सम्पत्तिको क्षति नहुने गरी जिपलाइनले व्यवस्थापन गर्नुपर्छ, स्थानीय तहले पनि यसतर्फ चासो दिनुपर्यो,’ उनले भने।

रानीकोट हाम्रो थुम्को सामुदायिक वनको जग्गा अतिक्रमण नहुने गरी संरचना निर्माण गर्दा स्पष्ट नापी गर्न वनका अध्यक्ष सविन तामाङले आग्रह गरे।

‘जिपलाइन आएर पर्यटनको विकास र रोजगारीमा टेवा पुगेको छ, तर व्यवसाय सञ्चालन गर्दा वनको जग्गा नापेर स्पष्ट पारिदिनुपर्छ, सडक अतिक्रमण भएको छ, त्यसलाई रोक्नुपर्छ, व्यवसायप्रति हाम्रो आपत्ति होइन, गलत प्रवृत्तिप्रति हाम्रो आपत्ति हो,’ उनले भने।

स्थानीयले सडक किनारामा सामान्य चिया पसल राख्न नदिएर संरचना भत्काइदिएको स्थानीय तहले अहिले जिपलाइनले त्यही ठाउँमा जग्गा र सडक अतिक्रमण गर्दा मौन बसेको भन्दै स्थानीयले प्रश्न गरेका छन्।

यसबारे सुर्यविनायक-८ का वडाध्यक्ष एवम् नगरपालिका प्रवक्ता रवीन्द्र सापकोटा नगरपालिको ६०-४० को बजटले निजी सम्पत्ति संरक्षण गरेको नभई सडक संरक्षण गरेको दाबी गरे।

‘घ्याम्पेडाँडा-रानीकोट हाम्रो नयाँ पर्यटकीय गन्तव्य हो, यहाँको सडक संरक्षण गर्ने जिम्मेवारी हाम्रो पनि हो, त्यसैले सडकमा पहिरो जान थालेपछि तारजाली हालेर ढुंगाको पर्खाल लगाएका हौं, सडकको मापदण्ड जिपलाइनलाई मिच्न दिएका छैनौं, सार्वजनिक जग्गा र वनको विषयको विवाद मिलाउन छिट्टै जग्गा नापी गरेर सिमांकन गर्न निर्देशन दिएका छौं,’ उनले भने।

जिपलाइनका कर्मचारीले भने वनको जग्गा नापी गरेर छुट्याएको दाबी गर्दै जग्गा अतिक्रमण नगरेको र सुरक्षित रूपमा थप संरचना बनाउन थालेको जानकारी दिएका छन्।

प्रकाशित: ६ असार २०८० १३:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 9 =