अखण्ड भारतसम्बन्धी नक्साबारे जानकारी गराउन दूतावासलाई मन्त्री साउदको निर्देशन

हिमाल प्रेस ५ असार २०८० १३:५६
16
SHARES
अखण्ड भारतसम्बन्धी नक्साबारे जानकारी गराउन दूतावासलाई मन्त्री साउदको निर्देशन

काठमाडौँ- परराष्ट्रमन्त्री एनपी साउदले भारतीय संसद्‌मा रहेको नक्सामा नेपाली भूमि समेटिएको विषयमा भारतीयपक्षसँग छलफल गर्न नयाँदिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिइसकेको बताएका छन्।

मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा मन्त्री साउदले भारतका प्रवक्ता र विदेशमन्त्रीले समेत यस विषयमा बोलिसकेको अवस्थामा पुनः भारतीय पक्षसँग छलफल गरी रिपोर्ट गर्न दूतावासलाई निर्देशन दिइसकेको जानकारी दिएका हुन्।

नक्सामा सम्राट अशोकको समयमा साम्राज्यको फैलावट जनाइएको भनेर लेखिएको र उक्त विषय राजनीतिक नरहेको भनेर आधिकारिक रुपमा भारतीय विदेशमन्त्रीबाट प्रतिक्रिया आइसकेको मन्त्री साउदले बताए।

उनले नेपालको नक्साका बारेमा आफूहरू स्पष्ट रहेको, नेपालको नक्सा के हो भन्ने विषय संविधानमा नै उल्लेख भएकाले आफ्नै नक्सालाई विवाद बनाइराख्नु उचित नहुने धारणा राखे।

त्यस्तै मन्त्री साउदले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) को प्रतिवेदन बुझ्न नेपाल सरकार तयार रहेको भन्दै भारतले बुझ्ने नबुझ्ने विषयमा सरकारका तर्फबाट दबाब दिन नमिल्ने तर्क गरे।

प्रकाशित: ५ असार २०८० १३:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + eleven =