बलिउड फिल्म ‘आदिपुरुष’ का संवाद लेखक मनोज मुन्तसिरलाई मुम्बई प्रहरीले सुरक्षा उपलब्ध गराएको छ। मनोजले फिल्मको संवादलाई लिएर उत्पन्न विवादका कारण आफू असुरक्षित रहेको बताएपछि प्रहरीले सुरक्षा दिएको हो।
‘हामीलाई मनोजको सुरक्षाका लागि आवेदन प्राप्त भएको थियो। सोही आधारमा सुरक्षा उपलब्ध गराएका हौँ’, मुम्बई प्रहरीका एक अधिकारीले पीटीआईसँग भनेका छन्। उनका अनुसार मनोजको निवास र कार्यालयमा प्रहरीले गस्ती बढाएको छ।
फिल्म ‘आदिपुरुष’ गत साता रिलिज भएको थियो। रिलिज हुनेबित्तिकै फिल्मको संवादलाई लिएर विवाद उत्पन्न भएको हो। विवाद भए पनि फिल्मले सोमबारसम्म ३४० करोड भारतीय रुपैयाँको व्यापार गरेको छ।
‘आदिपुरुष’ नेपालभरकै हलमा प्रदर्शन रोकिएको छ। नेपाल फिल्म वितरक कम्पनी श्री व्यंकटेश इन्टरटेनमेन्ट प्रालिले प्रेस विज्ञप्ति जारी गर्दे नेपालभर फिल्म प्रदर्शन रोकिएको जानकारी दिएको हो।
‘आदिपुरुष उपत्यकालगायत देशका विभिन्न स्थानमा प्रदर्शन बन्द भएको विषयमा विभिन्न भ्रामक समाचार प्रकाशित भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ।
उक्त चलचित्र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमा गरेको अभिव्यक्तिको आधारमा उपत्यकाका हल व्यवसायीले शान्ति सुरक्षाको कारण देखाएर प्रदर्शन स्थगित गरेको तथा देशका विभिन्न नगरपालिकाका मेयरले पनि बन्द गर्न आदेश दिएको कारण प्रदर्शन बन्द भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
काठमाडौँ महानगरसहित पोखरा महानगरपालिका र धरान उपमहानगरपालिकामा पनि फिल्म प्रदर्शन नगर्न आग्रह गरिएको छ।