साढे ३ करोड विगो दाबीसहित सिँचाइ विभागका तत्कालीन महानिर्देशक विरुद्ध मुद्दा

हिमाल प्रेस ४ असार २०८० १८:०९
4
SHARES
साढे ३ करोड विगो दाबीसहित सिँचाइ विभागका तत्कालीन महानिर्देशक विरुद्ध मुद्दा

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन महानिर्देशक मधुकरप्रसाद राजभण्डारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा आयोगले उनी विरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

आरोपी राजभण्डारी विरुद्ध ३ करोड ५६ लाख ७७ हजार ३ सय ४६ रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ। २०५१ फागुन ३० गते सार्वजनिक सेवामा प्रवेश गरेका राजभण्डारी २०७९ भदौ ३१ गते सेवाबाट अवकाश पाएका थिए।

आयोगका अनुसार राजभण्डारीको वैधानिक आय पारिश्रमिक बचत, उनको श्रीमतीको पारिश्रमिक बचत, उपदान, दैनिक भ्रमण भत्ता तथा स्थानीय भत्ता, बीमा परिपक्व भई प्राप्त भएको आय, सेयर बिक्रीबाट प्राप्त आय गरी ३ करोड ८५ लाख ५१ हजार ७ सय ४० रुपैयाँ बराबर छ।

सो अवधिमा राजभण्डारीले ७ करोड ४२ लाख २९ हजार ८६ बराबरको खर्च तथा लगानी गरेको पाइएको छ। त्यसमध्ये ३ करोड ५६ लाख ७७ हजार ३ सय ४६ रुपैयाँ बराबरको रकमको वैधानिक स्रोत पुष्टि हुन नसकेको पाइएको आयोगले विज्ञप्तिमा उल्लेख गरेको छ।

राजभण्डारीले सार्वजनिक पदको दुरुपयोग गरी गैरकानुनी आर्जन गरेको पाइएको र त्यस्तो सम्पत्तिले श्रीमती दीपा श्रेष्ठको नाममा जग्गा खरिद गरेको, घर निर्माण गरेको तथा विभिन्न कम्पनीमा लगानी गरेको पाइएको आयोगको भनाइ छ।

आरोपी राजभण्डारी र उनका श्रीमती दीपाको नाममा रहेको सम्पत्ति जफतको माग दाबी पनि अदालतमा दायर मुद्दामार्फत गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − six =