अब भरतपुरवासीलाई छैन खानेपानी समस्या

हिमाल प्रेस ४ असार २०८० १३:०१
6
SHARES
अब भरतपुरवासीलाई छैन खानेपानी समस्या

भरतपुर– भरतपुर महानगरपालिकाले अन्य पूर्वाधारसँगै स्वच्छ खानेपानीको पहुँच विस्तारमा उच्च प्राथमिकता दिएको छ। अहिले महानगरपालिकाभित्रका ९३ प्रतिशत बासिन्दाले स्वच्छ खानेपानीको उयोग गरिराखेका छन्।

पछिल्लो ६ वर्षमा महानगरपालिकाभित्र २६ ठूला आयोजना सञ्चालित छन्। कतिपय निर्माण सम्पन्न भइसकेका छन् भने कतिपय अन्तिम चरणमा पुगेका छन्।

महानगरपालिकाले खानेपानी व्यवस्थापन बोर्ड, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र प्रदेश सरकारको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयसँग मिलेर खानेपानीका आयोजना अघि बढाएको हो।

महानगरले दिएको जानकारीअनुसार ती आयोजनामा झण्डै ४ अर्ब लगानी भएका छन्। अन्य ठूला आयोजनासमेत आउने चरणमा रहेका छन्। भरतपुर खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक प्रजापती दाहालका अनुसार चालु रहेका आयोजना सम्पन्न हुँदै गर्दा ९७ प्रतिशत जनतामा खानेपानीको पहुँच पुग्ने छ।

६ वर्षअघिसम्म महानगरका ५७ प्रतिशत बासिन्दा मात्र खानेपानीको पहुँचमा थिए। महानगरपालिकाले मासिक ७ हजार लिटरसम्म खानेपानी प्रयोग गर्ने उपभोक्तालाई निःशुल्क उपलब्ध गराउन सुरु गरेको छ।

चालु आर्थिक वर्षमा३ करोड महानगरपालिकाले विनियोजन गरेको छ। यसबाट बोर्डका मात्रै झण्डै १२ हजार उपभोक्ता लाभान्वित भएका छन्। भरतपुरमा बोर्डसँगै उपभोक्ता समितिले खानेपानीको व्यवस्थापन गर्दै आएको छ। झण्डै ४० ठूला-साना उपभोक्ता समितिले खानेपानी व्यवस्थापन गर्दै आएका छन्।

भरतपुर महानगरपालिका मेयर रेनु दाहालले भरतपुरमा शतप्रतिशत खानेपानी पुर्‍याउने गरी काम भइरहेको जानकारी दिइन्।

हाल सञ्चालनमा रहेका आयोजना सम्पन्न हुँदै गर्दा आउँदो १ वर्षमा भरतपुरका ९७ प्रतिशत उपभोक्ताकोमा पानीको पहुँच पुग्ने उनले बताइन्।

‘हाम्रो दोस्रो कार्यकाल सकिनुपूर्वनै शतप्रतिशत उपभोक्ताकोमा पानी पुर्‍याउँदै छौं,’ उनले भनिन्। कतिपयले पहुँच पुगेको ठाउँमा पनि प्रयोग नगरेका कारण प्रतिशत कम भएको उनको भनाइ छ।

शारदानगर खानेपानी आयोजनामा ५९ करोड, जखडीमाई सहलगानी खानेपानी आयोजनामा ३२ करोड ८५ लाख, धनगडा सहलगानी खानेपानी आयोजनामा २८ करोड ८८ लाख, पटिहानी-टाउन खानेपानी आयोजनामा २५ करोड २५ लाख, दिव्यनगर खानेपानी आयोजनामा २४ करोड १५ लाख र शिवनगर खानेपानी आयोजनामा२३ करोड २५ लाख खर्च हुँने जनाइएको छ।

यसैगरी भरतपुर खानेपानी आयोजना मर्मत सुधारमा ५ करोड ५८ लाख, सोही आयोजनाको विस्तारमा ११ करोड ३५ लाख, भरतपुर १० मा एउटै ट्यांकी ९ लाख लिटरको निर्माण गरिएको छ। जुन नेपालकै सबैभन्दा ठूलो ट्यांकी हो।

कैलाशनगर-फूलबारी खानेपानी आयोजनामाआठ करोड ४ लाख, आनन्दपुर खानेपानी आयोजनामाछ करोड ६५ लाख, पटिहानी खानेपानी आयोजनामा५ करोड ३५ लाख, मंगलपुर खानेपानी आयोजनामाछ करोड ७६ लाख, गीतानगर खानेपानी आयोजनामाचार करोड २७ लाख विनियोजन भई काम भइरहेका छन्। कतिपय काम सम्पन्न भइसकेका छन्।

पार्वतीपुर खानेपानी आयोजनामा२२ करोड ५ लाख, देवनगर खानेपानी आयोजनामा५ करोड ५ लाख, मेघौली साना सहरी खानेपानी आयोजना १७ करोड २ लाख, शुक्रनगर खानेपानी आयोजना १८ करोड ७५ लाख, जगतपुर खानेपानी आयोजना २१ करोड ५ लाख, गोलाघाट खानेपानी आयोजना१४ करोड ७५ लाख रुपैयाँ खानेपानी आयोजनामा खर्च गरिँदै छ।

यस्तै वडा २९ १० करोड २ लाख, गुञ्जनगर खानेपानी आयोजना१६ करोड ३५ लाख, विजयनगर खानेपानी आयोजनाआठ करोड ३ लाख र भरतपुर महानगरपालि-१ मा एक करोड खर्च गरिँदै छ।

देवघाट खनोपानी आयोजनाएक करोड २ लाख, चौकीडाँडा खानेपानी आयोजना भरतपुर ५ करोड ९५ लाख, ठिकुरा रामनगर-१७२ लाख र ढोडेनी खानेपानी आयोजनाएक करोड ५ लाखको लागतमा निर्माण भइरहेको छ। गौरीगञ्जमा झण्डै ४० करोडको लागतमा नयाँ आयोजना अघि बढाइँदै छ।

महानगरपालिकाका उपप्रमुख चित्रशेन अधिकारीले खानेपानी विस्तारको आयोजना तीव्र गतिमा अघि बढेको बताए। पहाडी र समथर भू-भाग सबै ठाउँमा पानीको पहुँच पुर्‍याउने काममा महानगर लागि परेको उनको भनाइ छ।

‘जनप्रतिनिधि आएपछि खानेपानी विस्तारमा भरतपुर अग्रणी रहेको छ,’ उनले भने।

महानगरपालिकाको पहलमा प्रदेश र संघीय सरकारले खानेपानी विस्तारमा सहयोग गरेको उनले बताए। खानेपानीमा सहज पहुँच पुग्न कठिन भएको रामनगर क्षेत्रमा महानगरले अहिले अस्थायी रूपमा खानेपानी उपलब्ध गराएको छ।

दीर्घकालीन आयोजना संघीय सरकारमार्फत अघि बढाउन गुरु योजना बनिरहेको महानगरले जनाएको छ। -रासस

प्रकाशित: ४ असार २०८० १३:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =