महिलालाई रोजगारी र घर खर्चको स्रोत बुटवलको हाट बजार

हिमाल प्रेस ४ असार २०८० १२:१५
8
SHARES
महिलालाई रोजगारी र घर खर्चको स्रोत बुटवलको हाट बजार सांकेतिक तस्बिर।

बुटवल– बुटवल उपमहानगरपालिका कार्यालयअगाडि हाट बजारमा ४ दशकदेखि तरकारी र फलफूलको व्यापार गर्दै आएकी ७६ वर्षीया नानी गुरुङको जीविकोपार्जनको प्रमुख आधार हाट बजार बनेको छ।

बुटवलको चिडियाखोला सुकुम्बासी टोलकी वृद्धा उनीको घरमा अन्य सहारा कोही पनि छैनन्।

१६ वर्षको कलिलो उमेरमा उनको आफूभन्दा २ वर्ष जेठा गोपाल ठकुरीसँग विवाह भयो। भारतीय सेनामा कार्यरत पति निवृत्त भएर स्वदेश फर्केपछि बुटवलमा मजदुरी गर्दा गर्दै क्षयरोगले थलिएर निधन भयो।

हाट बजारमा आफ्नै प्रदर्शनीकक्ष अगाडि रहेको तत्कालीन बुटवल नगरपालिकाको भवन देखाउँदै पतिको मृत्युपछि त्यही भवन बनाउने काममा मजदुरी गरेर जीवन निर्वाह गरेको उनले बताइन्।

उमेर ढल्किँदै गएपछि श्रमिकको काम गर्न नसक्ने अवस्था भएपछि एकमात्र छोरी निरुको आग्रहमा हाट बजारमा हरियो तरकारीको व्यवसाय सुरु गरेको उनको भनाइ छ।

हरेक हप्ता लाग्ने हाट बजारमा ४ दशकअघि आमा छोरीले सुरु गरेको व्यवसायमा हरियो तरकारी, टिम्मुर, सिद्रा माछा, सिन्कीजस्ता मौसमअनुसारको व्यापार गर्दै आएको उनले सुनाइन्।

आफू २३ वर्षको हुँदा छोरी जन्मिएकी छोरी मात्र एक सन्तानका रूपमा नाति रहेको उनले बताइन्।

‘नाबालक टुहुरो नाति म सँगै बस्थ्यो अहिले रोजगारीका लागि विदेश गएको २ महिना भयो,’ उनले भने, ‘नातिनीहरू भने विवाह भएर आ-आफ्नो घरमा छन्, म भने हरेक दिन बिहान हाट बजार आउँछु बिहानको खाना होटेलमै खान्छु, साँझको खाना भने माइली नातिनीले ल्याइ दिन्छन्।’

अहिले आफ्नो सहारा भनेकै नातिनीहरू रहेको उनी बताउँछन्।

हरेक शनिबार र बुधबार बुटवलमा लाग्ने यो हाट बजारमा जीवन गुजार्न केही व्यापार पनि हुने र समय कटाउन पनि सहज हुने भएकाले नियमितजसो आउने गरेको उनले सुनाइन्।

‘घरमा बस्न, दिन कटाउन गाह्रो हुन्छ, यहाँ आएपछि दिदी बहिनीसँग कुराकानी गरेर दिन कट्छु,’ उनले भनिन्, ‘व्यापार गर्ने दिदीबहिनीले पनि बजारको दिन एक दिन नआउँदा बजै किन नआएको भनेर सोधीखोजी गरेर बोलाउने गर्दछन्।’

बुटवल उपमहानगरपालिका-११ मजुवा घर भएकी मन्दिरा गौचन उमेरले ७ दशक पार गरिन्।

उनको जीवन निर्वाहको मुख्य आधार पनि यही हाट बजार बनेको छ।

२५ वर्षदेखि हाट बजारमा हरियो तरकारी र सालको पातजस्ता दैनिक उपभोग्य वस्तुको व्यापार गर्दै त्यसैको आम्दानीबाट घर व्यवहार चलाउँदै आएको उनको भनाइ छ।

उनका एक छोरी र एक छोरा छन् दम र मुटुको बिरामी वृद्धा गौचनका श्रीमानको पनि ४ वर्षअघि दम र मुटुको बिरामीले थलिएर मृत्यु भएको उनी बताउँछिन्।

वृद्धा गौचनको कमाइको मुख्य आधार नै हाट बजार हो। बुटवलको उपमहानगरपालिका-११ मजुवामा बस्दै आएकी ५२ वर्षीया कल्पना क्षेत्रीका पति १२ वर्ष पहिले भारतमा कमाउन भएका अहिलेसम्म फर्केका छैनन्।

४ सन्तानकी आमा क्षेत्रीको पढ्दै गरेको छोरो पनि बीचमै पढाइ छाडेर २ वर्षअघि कमाउन भारत पसेको छोरोक पनि अहिलेसम्म कुनै पत्तो छैन।

दैनिक जीवन चलाउने विकल्प नभएपछि हाट बजारमा कहिले सालको पात, कहिले हरियो मकै, कहिले हरियो साग र तरकारी बेचेर गुजारा चलाइराखेको उनले सुनाइन्।

‘पहिला अलि व्यापार हुन्थ्यो, दिनमा२ हजारसम्म बचत हुन्थ्यो। अहिले दिनमाचारदेखि ५ सय मात्र बचत हुन्छ,’ उनले भनिन्।

बुटवलको मुख्य बजार क्षेत्र बुटवल उपमहानगरपालिका-४ मा साताको २ दिन लाग्ने हाट बजारमा व्यवसायीले बजार लगाउने गर्छन। यहाँको बजारमा झण्डै ३ हजार बढीले प्रत्येक बजारमा व्यवसाय गर्दै आएका छन्।

रुपन्देही जिल्लामा लाग्ने यस्ता हाट बजारमा प्रत्यक्ष अप्रत्यक्ष ५० हजार मानिसले रोजगारी पाएको हाट बजार व्यवसायी संघ रुपन्देहीका अध्यक्ष टेक जिसी बताउँछन्।

हाट बजारमा आमसर्वसाधारणलाई दैनिक रूपमा आवश्यक पर्ने उपभोग्य सामान किनमेल हुने गर्छ। तरकारी, फलफूल, खाद्यान्न, खसीबोका, कुखुरा, हाँस, परेवा, माछामासु, कपडाजस्ता वस्तु हाट बजारमा खरिद गर्न आउनेको भीड लाग्ने गरेको अध्यक्ष जिसीले जनाए।

यी बजारमा मौसमअनुसारका कृषि उत्पादन ग्रामीण क्षेत्रबाट किसानले आफैँ बजारसम्म ल्याएर बिक्री गर्ने गरेको उनले जानकारी दिए।

हाट बजारमा मंसिरदेखि वैशाखसम्म अधिकांश नेपाली कृषि उत्पादनले नै धान्ने गरेको र वर्षायाममा भारतीय उत्पादन खपत हुने गरेका छन्। स्थानीय पालिकाले आफ्नो क्षेत्र ठेक्का प्रक्रियाबाट हाट बजार सञ्चालन गर्दै आएका छन्।

यसबापत स्थानीय पालिकाले व्यवसायीबाट बैठकी करस्वरूप प्रतिस्टल ५० देखि २ सयसम्म लिने गरेको अध्यक्ष जिसी बताउँछन् तर व्यापार नहुँदा राज्यका निकायलाई बुझाउनुपर्ने विभिन्न कारले व्यवसायीलाई मर्का परेको व्यावसायीहरूको गुनासो छ।

वर्षौंदेखि हाट बजारमा व्यवसाय गरेर जीविकोपार्जन गर्दै आएका वृद्धवृद्धा, असक्त र विभिन्न समुदायका व्यवसायीका लागि हाट बजार व्यवसायी संघले लिने सेवा शुल्कमा केही छुटको व्यवस्था गरेको छ तर व्यवसाय गरेबापत राज्यका निकायलाई तिर्ने करमा कुनै सुविधा नभएको अध्यक्ष जिसीको भनाइ छ।

‘हामीले यस्ता समूहका व्यवसायीलाई कुनै न कुनै हिसाबले सुविधा उपलब्ध गराउन स्थानीय पालिकालाई पटक पटक भन्यौं,’ उनले भने, ‘हाम्रो मागको सुनुवाइ कही कसैले पनि गरेन।’

बुटवल क्षेत्रभित्रका सम्पूर्ण हाट बजारलाई योजनाका साथ व्यवस्थित गर्न थालिएको बुटवल उपमहानगरका उपमेयर सावित्रादेवी अर्यालले जानकारी दिइन्।

अहिले बुटवलको हाट बजारलाई केही व्यवस्थित गर्ने कार्यको सुरुवात भएको अन्य बजारलाई पनि व्यवसायीसँग सल्लाह गरेर अगाडि बढ्ने योजनामा रहेको उनले बताइन्।

लामो समयदेखि हाट बजारमा व्यवसाय गर्दै आएका महिला तथा वृद्धवृद्धालाई तत्काल कुनै सुविधाको केही व्यवस्था नभए पनि अबको बजेटमा केही गर्न सकिन्छ कि भन्ने सोचमा रहेको उनको भनाइ छ। -रासस

प्रकाशित: ४ असार २०८० १२:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =