संखुवासभामा बाढी

बाढीमा एकजनाको मृत्यु, १६ जना बेपत्ता, सात घर बगे, पुल र हाइड्रोपावरमा क्षति

हिमाल प्रेस ३ असार २०८० ११:४२
12
SHARES
बाढीमा एकजनाको मृत्यु, १६ जना बेपत्ता, सात घर बगे, पुल र हाइड्रोपावरमा क्षति

काठमाडौँ– संखुवासभाको चैनपुर नगरपालिकामा पर्ने दोभान, नुनढाकीमा अविरलको वर्षापछि शनिबार राति आएको बाढीमा परी १ जनाको मृत्यु भएको छ। हेवाखोलाको बाढीले बगाउँदा चैनपुर  नगरपालिका-४ दोभानमा १ जना मजदुरको मृत्यु भएको हो। बाढीपहिरोमा परी १६ मजदुर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारका अनुसार बेपत्ताको खोजी जारी छ।

बाढीमा स्थानीय स्तरमा निर्माणाधीन सुपर हेवा हाइड्रोपावरमा कार्यरत १ मजदुरकाे मृत्यु भएको पूर्वसांसद राजेन्द्र गौतमले जानकारी दिए। ती मजदुरको शव पाँचखपन नगरपालिका-५ खोला किनारमा फेला परेको प्रहरीले जनाएको छ। उनको पहिचान खुलेको छैन। किनाराका सात घर बगाएको छ। बाढीले चैनपुर-वानाकाे निर्माणाधीन पुल र चैनपुर-१ नुनढाकी बिहीबारेमा रहेकाे पुल बगाएको छ।

यस्तै अमर कन्ट्रक्सनमा कार्यरत १ जना मजदुर बेपत्ता भएका छन्। बाढीले स्थानीय सडकमा ठूलो क्षति भएका कारण यातायात अवरुद्ध छ।  पिलुवा खोलामा आएको बाढीले मादी नगरपालिका ७, ८ र ९ मा क्षति पुर्‍याएको छ। निर्माणाधीन माबिलुङ हाइड्रोपावर आयोजनामा भौतिक क्षति भएको मादी नगरपालिकाका पूर्वप्रमुख विदर लिङ्थेपले जानकारी दिए। साथै मादी-चैनपुर जोड्ने मोटरेबल पुल बगाएपछि सडक सञ्जाल विच्छेद भएको छ।

बाढीले चैनपुर-४ मा निर्माण भइरहेको सुपर हेवा हाइड्रोमा पूर्णरूपले क्षति पुगेको छ। घटनाको जानकारी लिन प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, सुरक्षा निकायका प्रमुखको टोली घटनास्थलमा पुगेका छन्।

तस्बिर साभार : याम सुब्बाको फेसबुक

प्रकाशित: ३ असार २०८० ११:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − four =