पूर्वीचितवनको राजनीति र विकासका अग्रणीहरू पुस्तक सार्वजनिक

हिमाल प्रेस ३ असार २०८० १०:०८
6
SHARES
पूर्वीचितवनको राजनीति र विकासका अग्रणीहरू पुस्तक सार्वजनिक

चितवन– पूर्वीचितवनको राजनीति र विकासका अग्रणीहरू नामक पुस्तकको विमोचन गरिएको छ।

वाल्मीकि साहित्य सदनद्वारा शनिबार आयोजित कार्यक्रममा पूर्वीचितवनको राजनीतिक परिवर्तन र सामाजिक रूपान्तरणसँगै विकासको अभियान सञ्चालन गर्ने व्यक्तिहरूको योगदानलाई समेटिएको उक्त पुस्तक विमोचन गरिएको हो।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्व पौडेलले राजनीति समाजसेवा भएकाले जनप्रतिनिधिले राज्यबाट सेवा-सुविधा लिनु उचित नहुने बताए।

रत्ननगर नगरपालिकाका मेयर प्रल्हाद सापकोटाले पुर्खाहरूको निःस्वार्थता, अनुशासन र प्रेरणाबाट पूर्वीचितवनको विकास सम्भव भएको उल्लेख गर्दै भाषा, कला, संस्कृति, साहित्यको उन्नयनमा नगरपालिकाले सक्दो सहयोग गर्ने बताए।

नेपाली कांग्रेसका नेता एवम् पूर्वराज्यमन्त्री सावित्रीदेवी बोगटीले विमोचित पुस्तकले चितवनको इतिहासलाई उजागर गरेको उल्लेख गरे।

पुस्तकका लेखक राष्ट्रिय समाचार समितिका सञ्चालक समितिको सदस्य एवम् आलेख शाखा प्रमुख कृष्ण अधिकारीले अग्रजहरूको योगदान इतिहासको दस्तावेज भएकाले यसलाई भावी पुस्तासम्म पुर्‍याउन पुस्तकहरूको प्रकाशन गर्नु अत्यावश्यक रहेको जनाए।

पुस्तकमाथि समालोचना गर्दै चितवन साहित्य परिषद्का अध्यक्ष केदारनाथ खनालले पुस्तकले पूर्वीचितवनको इतिहासलाई जीवन्त राखेको र यस पुस्तकमा छुटेका थुप्रै व्यक्तित्वहरूलाई समेट्न अर्का संस्करण प्रकाशन गर्न सुझाव दिए।

वाल्मीकि साहित्य सदनका अध्यक्ष रामबाबु घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष डा. विजयराज न्यौपाने, भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा. कृष्ण पौडेल, रत्ननगर नगरपालिकाका विज्ञ सल्लाहकार रामहरि न्यौपानेले पूर्वीचितवनको आर्थिक, सामाजिक, राजनीतिक क्षेत्रमा योगदान पुर्‍याउने अग्रजहरूबारे चर्चा गरे।

पुस्तकमा पूर्वीचितवनमा राजनीतिक, सामाजिक, आर्थिक क्षेत्रमा योगदान पुर्‍याउनुभएका १८ जना अग्रजहरूको योगदानको चर्चा गरिएको छ।

पूर्वीचितवनमा बस्ती बसाउनेदेखि विभिन्न राजनीतिक आन्दोलनमा योगदान पुर्‍याउनेहरूबारे पुस्तकमा उल्लेख छ। पुस्तक १ सय ४० पृष्ठको रहेको छ।

प्रकाशित: ३ असार २०८० १०:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − ten =