अन्‍नपूर्ण गाउँपालिकास्तरीय अस्पताल भवन निर्माण

हिमाल प्रेस २ असार २०८० १०:१७
4
SHARES
अन्‍नपूर्ण गाउँपालिकास्तरीय अस्पताल भवन निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका-१, दोबामा अस्पताल भवन निर्माण भएको छ। संघीय सरकारले ३ वर्षअघि अघि सारेको सबै स्थानीय तहमा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने कार्यक्रमअनुसार अन्नपूर्ण गाउँपालिकाले दोवामा अस्पताल भवन निर्माण गरेको हो।

५ शय्या क्षमताको भूकम्प प्रतिरोधी र अपांगमैत्री अस्पतालको भवन निर्माण भएको गाउँपालिकाका इन्जिनियर ईश्वर भण्डारीले जानकारी दिए।

भवनमा आकस्मिक कक्ष, अन्तरंग, बहिरंग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डारण्म कोठा, उपचारका लागि छुट्टाछुट्टै कक्ष र स्वास्थ्यकर्मी निवाससहित ३५ वटा कोठा रहेको छ। भवन निर्माणका लागि ०७८ वैशाख १७ गते रविना-अमित जेभीसँग ५ करोड १२ लाख ६० हजारमा ठेक्का सम्झौता भएको थियो।

सम्झौतालगत्तै निर्माण व्यवसायीले मजदुर, उपकरण परिचालनसँगै सामग्री जुटाएर निर्धारित समयमै भवन बनाएका हुन्। ०७९ फागुन मसान्तसम्म सम्झौताको म्याद भए पनि बजेट अभावमा भुक्तानी हुन नसक्दा हस्तान्तरण गर्न बाँकी छ। बेनी-जोमसोम सडकको भिरकाटे खण्डदेखि २ किलोमिटर ५ सय मिटरको दुरीमा अस्पताल भवन बनाइएको हो।

संघीय सरकारसँग बजेट माग गरेर भवन हस्तान्तरण प्रक्रियामा रहेको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीको भनाइ छ। ‘अस्पतालको भवन निर्माण भएको छ। जनशक्ति र स्वास्थ्य उपकरणको व्यवस्थापन गरेर अस्पताल चाँडै सञ्चालनमा ल्याउँछौं,’ उनले भने, ‘अस्पतालका लागि आवश्यक पर्ने उपकरण, फर्निचर र अस्पतालको कम्पाउन्डिङ गर्न ठूलो खर्च व्यवस्थापन गर्नुपर्ने छ।’

आगामी आर्थिक वर्षमा अस्पताल सञ्चालनमा ल्याउन गाउँपालिकाले आवश्यक बजेटको व्यवस्थापन गर्ने गाउँपालिकाका अध्यक्ष भारत पुनको भनाइ छ। दोबाका बासिन्दाले अस्पताल निर्माण गर्न १२ रोपनी ७ आना २ दाम क्षेत्रफलको जग्गा निःशुल्क उपलब्ध गराएका थिए।

वडाध्यक्ष दिलीप गर्बुजाका अनुसार स्थानीयले उपलब्ध गराएको जग्गाको बजार मूल्य १ करोड छ। ९ पुर्जाले १ रोपनी ३ पैसा, यादव गर्बुजाले १ रोपनी ८ आना, गम गर्बुजाले १ रोपनी १० आना, अमर गर्बुजाले ५ रोपनी ४ आना, घमती पुर्जाले १३ आना, कर्ण पुर्जाले २ रोपनी २ आना र टीका पुर्जाले साढे २ आना जग्गा निःशुल्क उपलब्ध गराएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =