युरोपेली क्लब फुटबलमा नयाँ शक्ति बन्न तयार ‘सम्पन्न’ सिटी

हिमाल प्रेस ३१ जेठ २०८० २२:२४
8
SHARES
युरोपेली क्लब फुटबलमा नयाँ शक्ति बन्न तयार ‘सम्पन्न’ सिटी

काठमाडौँ- च्याम्पियन्स लिग जितेपछि म्यानेचस्टर सिटीमाथि उठाइएको प्रश्न हो, के यो क्लब युरोपेली क्लब फुटबलको नयाँ शक्ति बन्ला? उपाधि भिडन्तका गोलकर्ता रोड्री सिटीले यसका लागि मेहनत गर्नुपर्ने बताउँछन्।

हुन पनि सिटीसँग नयाँ शक्ति बन्न पर्याप्त आर्थिक स्रोत छ। यही सिजन मात्र सिटीले झन्डै ३० करोड पाउन्ड कमायो। इस्तानबुलमा इन्टर मिलानलाई हराएपछि सिटीले ११ करोड पाउन्ड पाएको थियो। त्यसअघि इंग्लिस प्रिमियर लिग र एएफए कप जितेर सिटीले १८ करोड ५० लाख पाउन्ड प्राप्त गरिसकेको थियो।

रोड्रीको विचारमा सिटी रियल म्याड्रिड र बार्सिलोनाको पथमा लम्किन सक्छ। स्पेनका यी दुई क्लबले पछिल्लो दुई दशकमा च्याम्पियन्स लिगमा दबदबा कायम गरेका छन्।

रियलले नौ सिजनमा पाँच पटक र बार्सिलोनाले सन् २०१५ यता चार पटक च्याम्पियन्स लिग जितेका छन्। सिटी भने गएको तीन वर्षमा दुई पटक फाइनल र एक पटक सेमिफाइनलसम्म पुगेको छ।

‘मैले त यो फाइनलअघि नै भनेको थिएँ, अब च्याम्पियन्स लिगमा सिटी बलियो टिम बन्नेछ भनेर। उपाधि जित्नु सिटीका लागि महत्त्वपूर्ण थियो। किनभने यही उपाधिलाई जग बनाएर सिटी अघि बढ्नसक्छ,’ रोड्रिले भनेका छन्, ‘हामीले आफूमाथि भरोसा गर्‍यौँ, त्यहीभएर आज च्याम्पिन बन्न सक्यौँ। हामी रियल, बायर्न म्युनिख, बार्सिलोना, एसी मिलानलगायतका क्लबको बाटोमा अघि बढ्न सक्छौँ जस्तो लाग्छ।’

रोड्रीको कुरामा पेप ग्वार्डिओला पनि सहमत छन्। ‘सिटीसँग एउटा च्याम्पियन्स लिग जितेर हराउन चाहदिनँ। आउँदा सिजनमा झन् मेहनत गर्नुछ। कयौँ अरु टिम जस्तो एक पटक च्यामिपयन्स लिग जितेर गुमनाम हुनुछैन,’ ग्वार्डिओलाले भनेका छन्।

च्याम्पियन्स लिगको ट्रफी बोकेर सिटीको टिम आइतबार घर म्यानचेस्टर फर्कियो। सिटीको टिमलाई चढाउन इत्तिहाद एयरले आफ्नो बोइङ ७८७–९ विमानलाई फरक ‘लिभेरी’ ले पोतेको थियो। यो ‘लिभेरी’ मा सिटीको रंग झल्किन्थ्यो।

युरोपेली क्लब फुटबलको सर्वाधिक ठूलो पुरस्कार हात पारेपछि सिटीका खेलाडी रातभर खुसीयालीमा झुमिए। खुसीयाली मनाएका विभिन्न तस्बिर त सामाजिक सञ्जालमा देखिए नै।

सम्पन्न सिटी
यसपालि सिटीले झन्डै ३० करोड पाउन्ड त पुरस्कार नै पाएको छ। लगातार तेस्रो पटक प्रिमियर लिग जितेको सिटीले केही वर्षयता लगातार यसरी आम्दानी गरेको छ। सिटीले पुरस्कार मात्र होइन खेलाडी बिक्रीबाट पनि मनग्यै आम्दानी गर्ने गरेको छ।

यसपल्ट पनि सिटी खेलाडी खरिद बिक्रीमा व्यस्त हुनेछ। तर सिटी क–कसलाई बेच्न चाहन्छ, त्यसको सूची बनिसकेको छैन। यद्यपि एल्काई गुन्डोवान, बर्नादो सिल्भा, एयमेरिक लापोर्ट, जोआओ कान्सेलो लगायतका खेलाडीले सिटी छाड्ने अनुमान छ।

बेलायती सञ्चारमाध्यमका अनुसार सिटी माटियो कोभाचिच अनुबन्ध गर्न चाहन्छ। उनलाई इत्तिहाद भ्त्रियाउन सिटी चेल्सीसँग वार्तामा छ। कोभाचिचबाहेक सिटीले क्रोएसियाका अर्का खेलाडी पनि अनुबन्ध गर्न खोजिरहेको छ। ती खेलाडी हुन्, जोस्को गार्भिडियोल। रक्षक गार्भिडियोल हाल जर्मनीको आरबी लाइपजिगमा छन्। उनले लापोर्टलाई प्रतिस्थापन गर्ने बताइएको छ।

सिटी ज्युड बेलिङहमलाई अनुबन्ध गर्न चाहन्थ्यो। तर इंग्लिस मिडफिल्डर बेलिङहम बोरुसिया डर्टमन्डबाट रियल सरिसकेका छन्। बेलिङहमलाई अनुबन्ध गर्न नसकेपछि सिटी हाल गाब्रियल भिएगातिर मोडिएको छ।

उसो त सिटी गुन्डोवानको निर्णय पर्खिरहेको छ। ३२ वर्षीय गुन्डोवानलाई बार्सिलोनाले अनुबन्ध गर्ने इच्छा जाहेर गरेको छ। गुन्डोवानले भने बार्सिलोनाको प्रस्तावमा केही जवाफ दिइसकेका छैनन्। गुन्डोवानसँगै सिल्भा पनि सिटी छाड्नसक्ने अर्का खेलाडी हुन्।

च्याम्पियन्स लिग फाइनल सकिएपछि गुन्डोवान र सिल्भाले अन्य खेलाडीभन्दा ढिलो मैदान छाडेका थिए। निकैबेर सिटी समर्थकलाई धन्यवाद दिएकाले उनीहरुले यो क्लबका लागि अन्तिम खेल खेलेको अनुमान गरिँदैछ।

सिल्भा सन् २०१७ मा सिटी पुगेका थिए। के भनिन्छ भने, अब उनी यस्तो ठाउँ जान चाहन्छन्, जुन पोर्चुुगलको संस्कृतिसँग मिल्दोजिल्दो होस्। २८ वर्षीय सिल्भालाई बिक्री गर्न सिटी तयार छ, तर सात करोड पाउन्ड स्थान्तरण रकम चाहन्छ। यो मूल्य तिर्न कतिवटा क्लब तयार छन्, स्पष्ट छैन।

सिटीबाट बर्हिगमन हुने खेलाडीको सूचीमा कान्सेलो पनि छन्। आधा सिजन बायर्नमा खेलेका उनी सिटी फर्किएका छन्। तर उनी अर्को सिजन सिटीमा नहुने सम्भावना छ। २९ वर्षीय फुलब्याक कान्सेलोलाई अनुबन्ध गर्ने इच्छा आर्सनलले देखाएको छ। तर स्थान्तरणका लागि छलफल भने सुरु भइसकेको छैन।

विंगर रियाद माहरेज पनि यसैपटक सिटी छाड्न सक्छन्। उनलाई साउदी अरबको अल अह्ली अनुबन्ध गर्न चाहन्छ।

१५ वर्षदेखिको मेहनत

‘सिटी च्याम्पियन्स लिग विजेता बन्नु संयोग होइन, १५ वर्षदेखिको मेहनत हो,’ रोड्री भन्छन्। सन् २००८ मा आबुधाबीको शाही परिवारले सिटीको स्वामित्व लिएको थियो।

ठ्याक्कै यही बेला हो सिटी नयाँ यात्रामा निस्किएको। यात्रा थियो, इंग्लिस र युरोपेली क्लब फुटबलको शक्ति बन्ने। सिटी बल्ल युरोपेली क्लब फुटबलमा स्थापित भएको हो।

ढिलै सही, सिटीले हात पारेको यो सफलतामा अहिलेका मात्र होइनन्, विगतका खेलाडीको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण थियो। ‘मैले फर्नान्डिन्हो, सर्जियो अग्वेरो, डेभिड सिल्भा। भिन्सेन्ट कम्पनी जस्ता खेलाडीलाई बिर्र्सिएको छ्रैन। उनीहरुले विगत आठ वा १० वर्षमा गरेको महेनतका कारण हामी यहाँसक्क आइपुगेको हो,’ रोड्रीले भनेका छन्।

रोड्रीले च्याम्पियन्स लिग सफलता ती पुराना खेलाडीमा समर्पित गर्न भुलेनन्। ‘मलाई थाहा छ सिटीका अध्यक्ष अल मुबारक खाल्दुन कति ठूला मान्छे हुन् भनेर। तर मैले उनलाई भनेकै हो, सिटीले च्याम्पियन्स लिग जित्नुको कारण विगतको मेहनत हो भनेर,’ रोड्रीको भनाइ थियो।

प्रकाशित: ३१ जेठ २०८० २२:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast