दादुराबाट १६ जिल्लाका हजारभन्दा बढी व्यक्ति संक्रमित

हिमाल प्रेस ३१ जेठ २०८० १३:४२
4
SHARES
दादुराबाट १६ जिल्लाका हजारभन्दा बढी व्यक्ति संक्रमित

काठमाडौँ– दादुराको प्रकोपबाट १६ जिल्लाका १ हजारभन्दा बढी व्यक्ति बिरामी परेका छन्। स्वास्थ्य विभागको परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको प्रतिवेदनमा १६ जिल्लाको एक हजार ३ जनामा दादुरा फैलिएको हो।

महाशाखाका निर्देशक डा. विवेककुमार लालका अनुसार मोरङ, सुनसरी, धनुषा, महोत्तरी, सर्लाही, चितवन, काठमाडौँ, कपिलवस्तु, अर्घाखाची, दाङ, बाके, बर्दिया, सुर्खेत, कैलाली, कञ्‍चनपुर र बाजुरा जिल्लामा दादुराको प्रकोप देखिएको छ।

ती जिल्लामध्ये सबैभन्दा बढी कैलाली, सुनसरी र महोत्तरी जिल्लाका बालबालिका बढी सताइएका छन्। कैलालीको धनगढी उपमहानगरपालिका, गौरीगंगा नगरपालिका र गोदावारी नगरपालिका, सुनसरीको बर्जु नगरपालिका र महोत्तरीको गौलाशा नगरपालिका-२ र ५ मा दादुराको प्रकोप बढेको छ।

सो स्थानीय तहका छ महिनादेखि १५ वर्ष उमेरसमूहका बालबालिकालाई दादुराविरुद्धको खोप लगाइएको र अहिलेसम्म बाँकेको नेपालगन्जमा १ जनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

यही जेठ २४ गते काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा देखिएको दादुरा नियन्त्रणमा आएको महाशाखाले जनाएको छ। दादुरा फैलिएका जिल्लामा हालसम्म २ लाख १५ हजार ५४ जनालाई दादुराविरुद्धको खोप लगाइएको छ।

बाल स्वास्थ्य तथा खोप शाखाले यही जेठ २५ गतेदेखि सुनसरी मोरङ, महोत्तरी, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कञ्‍चनपुर र बाजुरा जिल्लाका छ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई दादुरा र रुवेला विरुद्धको खोप अभियान सुरु गरेको छ।

दादुरा र रुवेला रोग कोभिड भाइरसभन्दा पनि तीव्रगतिले फैलिनाका साथै मृत्युदर पनि उच्च रहेको छ। १ जना दादुरा संक्रमितले १८ जनासम्ममा रोग सार्न सक्ने जनाइएको छ। मन्त्रालायले यसअघि जतिपटक खोप लगाएपनि अभियानका क्रममा पुनः खोप लगाउन आग्रह गर्दै आएको छ।

महाशाखाले काठमाडौँका सबै स्वास्थ्य संस्था तथा निजी अस्पतालमा सक्रिय दादुराका बिरामी खोजी जारी राखेको जनाउँदै ती स्वास्थ्य संस्था तथा निजी अस्पताललाई दादुराका बिरामीको विवरण नगरपालिका र स्वास्थ्य सेवा विभागमा उपलब्ध गराउन अनुरोध गरेको छ।

यस्तै दादुराको निगरानीका लागि सबै जिल्ला र नगरपालिका स्रोत व्यक्तिलाई संवेदनशिल हुनसमेत महाशाखाले अनुरोध पनि गरेको छ।

प्रकाशित: ३१ जेठ २०८० १३:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − ten =