नथाकेका नोभाक जोकोभिच

हिमाल प्रेस ३० जेठ २०८० २१:२६
12
SHARES
नथाकेका नोभाक जोकोभिच

रोलान्ड गारोसमा आइतबार राति नोभाक जोकोभिचले २३ औँ ग्रान्डस्लाम जिते। डेढ वर्षअघि अस्ट्रेलियाबाट डिपोर्ट हुँदै गर्दा जोकोभिच यो स्थितिमा आइपुग्लान् भनेर अनुमान गर्न सजिलो थिएन।

तर सर्बियाली जोकोभिचले यो बीचमा जे जे गरे, त्यसले उनलाई विश्व पुरुष टेनिसको सर्वाधिक सफल खेलाडी बनाएको छ।

‘यो मेरा लागि सबैभन्दा कठिन ग्रान्डस्लाम रह्यो,’ नर्वेका कास्पर रुडलाई हराएर फ्रेन्च ओपन जितेपछि जोकोभिचले भने। रुडमाथि जोकोभिचले ७-६ (१), ६-३, ७-५ को जित दर्ता गरे।

रुडको अन्तिम प्रहार बेसलाइनभन्दा बाहिर गएपछि जोकोभिच र्‍याकेट फ्याँकेर कोर्टमा ढलेका थिए। उनको यो ढलाइ जितको घोषणा थियो। केही सेकेन्डपछि जोकोभिच उठे, कोर्टको बीचमा घुँडा टेकेर प्रार्थना गरे। त्यसपछि आफ्ना प्रशिक्षक तथा परिवारका सदस्यभएतिर लागे।

जब उनी कोर्टमा फर्किए, उनको शरिरमा २३ नम्बर लेखिएको ज्याकेट थियो।

३६ वर्षीय जोकोभिचले पछिल्ला दुई दशक आफ्ना दुई प्रतिद्वन्द्वी रोजर फेडेरर र राफाएल नाडाललाई पछ्याएर बिताए। अब यो दौड अन्त्य भएको छ। कम्तीमा तत्कालका लागि। ‘ती दुईले मेरा मस्तिष्कमा १५ वर्षसम्म डेरा जमाएका थिए,’ जोकोभिचले भने।

जोकोभिचले फेडेररलाई त गत वर्ष नै पछि पारेका थिए, विम्बल्डन सेन्टरमा २१ औँ ग्रान्डस्लाम जितेर। जनवरीमा अस्ट्रेलियनमा ओपन फर्किएर च्याम्पियन बनेपछि भने जोकोभिच र नाडालबीच बराबरी भएकाे थियाे। यसपालि नाडाल फ्रेन्च ओपनमा थिएनन्। सबैभन्दा धेरै पटक विजेता बनेका खेलाडी नै नभएपछि जोकोभिचलाई सजिलो भयो।

नाडालले फ्रेन्च ओपन १४ पटक जितेका छन्। यहाँ जोकोभिच सफल भएको यो तेस्रो पटक मात्र हो। फिलिप चार्टियरको कोर्टमा नाडालभन्दा जोकोभिच कयौँ कोस टाढा छन्।

खैर जोकोभिच अब कीर्तिमानधारी भएका छन्। उनले कीर्तिमान कायम गर्दा फरक फरक क्षेत्रका स्टार साक्षी बन्न दर्शकदिर्घामा थिए। अमेरिकी फुटबलका टोम ब्राडीदेखि फुटबलका किलियान एम्बाप्पे र ज्लाटान इब्राहिमोभिचसम्म। अमेरिकी कलाकार ज्याक गाइलेनहाल, टेनिसकै स्टान स्मिथ, यानिक नो, फ्रान्सेली गायक, कलाकार, व्यापारी, अन्य खेलाडी आदि पनि थिए।

जोकोभिचको टेनिस यात्रामा उतारचढावको कमी भएको छैन। नाडाल र फेडेरसँग मैदानी प्रतिस्पर्धा र कयौँ ग्रान्डस्लामबाट बाहिर राख्ने चोटका कारण मात्र होइन कोभिड-१९ विरुद्धको खोप नलगाएकोमा प्रतिबन्ध आदिले जोकोभिचको यात्रा सम्झनलायकको बनेको छ।

विश्वभर फैलिएको कोभिड नियन्त्रणका लागि बनाइएको खोप लगाउदिनँ भन्दा जोकोभिचको सर्वत्र आलोचना भयो। उनकै आफ्ना समर्थकले पनि ठिक मानेनन्। यस्तोमा उनलाई ठूलो चुनौती थियो, टेनिस प्रेमीको मन जित्ने। समर्थकलाई फकाउने। उनी यसमा सफल भएका छन्।

सन् २०१० को समाप्तिमा २३ वर्षीय जोकोभिचले एक ग्रान्डस्लाम जितेका थिए। जबकि फेडेरर १६ पटक च्याम्पियन भइसकेका थिए। त्यसको एक वर्षपछि जोकोभिच कसैले भेट्न नसक्ने लयमा पुगे। एक सिजनमा अस्ट्रेलियन ओपन, विम्बल्डन र यूएस ओपन जिते। लगातार ४१ खेलमा अपराजित रहे। फेडेरर र नाडालविरुद्ध १०-१ को अग्रता कायम गरे। त्यसपछि त विश्व पुरुष टेनिस परिवर्तन हुन सरु भइहाल्यो नि।

जोकोभिचले कसरी लगातार बलियो प्रदर्शन गर्न सकिरहेको? यसका धेरै कारण हुनसक्छन्। जस्तै, ‘ग्लुटेन’ नभएको खाना मात्र खानु। मदिराबाट टाढा रहनु। ‘कालिसथेनिक’ अभ्यास। कुनै उपकरणको प्रयोगबिना गरिने शारीरिक अभ्यास, कालिसथेनिक हो। यसले जोकोभिचको शारीरिक लचकता बढाएको बताइन्छ। जोकोभिच कति लचक छन्, उनका प्रशिक्षक गोरान इभानिसेभिचको टिप्पणीले प्रस्ट पार्छ। ‘यो उमेरमा पनि जोकोभिचको शारीरिक लचकता बिरालोको जस्तै छ,’ इभानिसेभिचले आइतबार भने।

धेरैलाई थाहा नहुन सक्छ, जोकोभिचको काँधमा ‘चिप’ छ। के भनिन्छ भने, बालख हुँदै जोकोभिचको काँधमा यो चिप लगाइएको थियो।

जोकोभिचका प्रशिक्षक इभानिसेभिच क्रोएसियाका हुन्। कुनै समय क्रोएसिया र सर्बिया युगोस्लाभियाको हिस्सा थिए। कालान्तरमा युगोस्लाभिया टुक्रियो। क्रोएसिया र सर्बिया स्वतन्त्र देश बने। बाल्कान भनिने यस क्षेत्रका हरकोही लडाकु स्वभावका हुने इभानिसेभिच बताउँछन्। ‘हाम्रो डीएनए नै फरक किसिमको छ। जस्तो ठूलो खेलमा पनि हामी नअत्तालिकन खेल्छौँ,’ इभानिसेभिच भन्छन्।

एक समय जोकोभिचलाई प्रशिक्षण गराउँथे, बोरिस बेकरले। १७ वर्षकै उमेरमा विम्बल्डन जितेका बेकर तीन वर्ष जोकोभिचको प्रशिक्षक बने। उनी कुनैबेला भन्थे, ‘जोकोभिचले आफूलाई दण्ड दिन छाड्नुपर्छ।’ दण्डबारे न त बेकरले सबैले बुझ्नेगरी विस्तारमा टिप्पणी गरे न त जोकोभिचले नै प्रतिक्रिया दिए। पछि बेकरकै थप टिप्पणी आयो। ‘जब उनले आफूलाई दण्ड दिनछाडे, तब जित्न थाले,’ बेकरको भनाइ थियो।

त्यसपछिका दिनमा जोकोभिचले जसरी जितेका छन्, त्यसले सबैलाई छक्क पारेकै छ। फ्रेन्च ओपन जितेपछि उनी विश्व वरीयताको शीर्षस्थानमा फर्किए। उनले वरीयतामा शीर्षस्थान हासिल गरेको यो ३८८ औँ साता हो। यो आफैँमा कीर्तिमान हो। ग्रान्डस्लाम त उनले सर्वाधिक पटक जितेकै छन्, मास्टर्स १००० उपाधि सबैभन्दा बढी जित्ने पनि उनी नै हो।

फ्रेन्च ओपनको फाइनल पुग्नुअघि जोकोभिचले कार्लोस अल्कारेजलाई हराएका थिए। स्पेनका अल्कारेजलाई हराएको भोलिपल्ट जोकोभिच अभ्यासमा गएनन्। बरु हलुका हिँडडुल गरे। फाइनल जितेकाले भन्न सकिन्छ, जोकोभिचको यो निर्णय सही थियो।

फाइनलमा जोकोभिच यस्तो विपक्षीसँग भिड्दै थिए, जसले १३ महिनामा तेस्रो पटक ग्रान्डस्लाम फाइनलमा स्थान बनाएका थिए। नर्वेका रुडविरुद्ध जोकोभिचले पहिलो सेटमा कठिन जित हात पारे। जोकोभिचले पहिलो सेट जितेपछि उनका समर्थकले विगत सम्झिए होलान्। जोकोभिचको पछिल्लो तीन वर्षको तथ्यांक नै त्यस्तै छ, सम्झिनु पर्ने खालको छ। किनभने त्यसबीचमा उनले पहिलो सेट जितेर पनि गुमाएका खेल पाँच मात्र छन्।

जोकोभिचबारे अरु टेनिस स्टारले निकै पटक रोचक टिप्पणी गरेका छन्। पूर्वनम्बर एक एन्डी रोडिकको टिप्पणी सबैभन्दा रोचकमध्येको एक हो। ‘सुरुमा उनी विपक्षीलाई शारीरिक रुपमा थकाउँछन्। त्यसपछि आत्मालाई,’ रोडिकले भनेका छन्।

रोडिकसँग इभानिसेभिच सहमत छन्। ‘उनी ठूलो खाँडल खन्छन्। त्यसमा विपक्षी खेलाडीलाई खसालिदिन्छन्। अनि बिदा माग्छन्,’ इभानिसेभिचले आइतबार भनेका थिए। इभानिसेभिचले जे भने, जोकोभिचको खेलमा ठ्याक्कै त्यही झल्किएको थियो।

हारपछि रुडले आफू निशब्द भएको प्रतिक्रिया दिए। सुरुको एक घण्टा २२ मिनेटसम्म जोकोभिचलाई कडा टक्कर दिएका थिए। तर त्यो पहिलो सेटपछि भने रुड जोकोभिचअघि टिक्न सकेनन्। खेल तीन घण्टा लम्बिए जोकोभिचको जित निश्चित थियो।

फ्रेन्च ओपनको सफलताले जोकोभिचलाई कीर्तिमान टेनिस स्टार मात्र बनाएको छैन, उनको सबैभन्दा पछिल्लोे विगत पनि ढाकिदिएको छ। गत वर्ष उनी अस्टे«लियाली प्रहरीको थुनामा थिए, डिपोर्टेसनको यो मुद्दाले उनको साख गिराइदिएको थियो। सन् २०२० मा पनि उनी विवादित बनेका थिए। लाइन जजलाई बलले हानेकामा उनको खुबै आलोचना भएको थियो।

त्यो घटनाको एक महिनापछि जोकोभिचले फ्रेन्च ओपनकै फाइनलमा नाडालसँग नमिठो पराजय भोगे। यो हारका कारण जोकोभिच अनिश्चिततातिर धकेलिएझैँ देखिएको थियो। तर जोकोभिचले त बलियो पुनरामगन पो गरे। सन् २०२१ को यूएस ओपन फाइनलमा पराजित नभएको भए जोकोभिचले त्यस वर्ष चारवटै ग्रान्डस्लाम जित्ने थिए। रोचक त के छ भने, त्यस वर्ष उनले फ्रेन्च ओपनको सेमिफाइनलमा नाडाललाई पन्छाएका थिए।

यसपालि पनि उनी चार ग्रान्डस्लाम जित्ने बाटोमा अघि बढेका छन्। ‘यात्रा अझै सकिएको छैन। यदि म ग्रान्डस्लाम जितिरहेको छु भने किन यात्रा टुंग्याउने? किन संन्यास लिनेबारे सोच्ने?’ जोकोभिचको प्रश्न छ।

हो, २३ ग्रान्डस्लाम जित्ने उनी एक्ला खेलाडी हुन्। तर उनी ठान्छन्, अझै इतिहास कोर्न बाँकी छ।

प्रकाशित: ३० जेठ २०८० २१:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 4 =