सुर्खेत- कालीकोटस्थित सुनथराली विमानस्थलको निर्माण कार्य २०४२ सालमा थालिएको थियो। निर्माण कार्य एक वर्षअघिमात्र सम्पन्न भएको छ। चार दशक लगाएर बनेको विमानस्थलमा नियमित हवाई उडान कहिलेदेखि सुरु हुने हो अझै यकिन छैन। विमानस्थल सञ्चालनमा नआउँदा झेल्नुपर्ने समस्या त छँदै छ, त्यसमाथि निर्माण कार्यका क्रममा आफ्ना मान्छे गुमाउनुको पीडा त्यहाँका बासिन्दामा आलै छ।
२०५८ फागुन ११ मा अछामको मंगलसेन आक्रमण गरेपछि विद्रोही माओवादीलाई खोज्दै हिँडेको तत्कालीन शाही नेपाली सेनाले यही विमानस्थलमा काम गर्दै गरेका ३५ जना मजदुरलाई एउटै चिहान बनाएको थियो। घटनामा धादिङ, जोगिमाराका मजदुरसहित केही स्थानीय परेका थिए।
स्थानीय त्यो कालो दिनलाई बिर्सिन चाहन्छन्। विमानस्थल सञ्चालनमा आए आफ्ना मान्छे गुमाउनुको घाउमा मलम लाग्ने उनीहरूको भनाइ छ। घटनामा कृष्ण विष्ट र मिर्गा विष्टले छोरा गुमाएका थिए। १५ वर्षको छोरा टेकबहादुरलाई आँखैअगाडि शाही नेपाली सेनाले गोली हानेको सम्झिँदा मिर्गा विष्टका आँखा रसाउँछन्।
पीडा उस्तै भए पनि विमानस्थल सञ्चालनमा आए त्यो पीडा केही कम हुने उनी बताउँछिन्। ‘छोरा गुमाउनुको पीडाले दिनरात सताइरहन्छ,’ उनी भन्छिन्, ‘कम्तीमा विमानस्थल सञ्चालनमा आए पीडा केही कम हुन्थ्यो कि!’
‘विमानस्थलबाट नियमित हवाई उडान हुँदा मनले शान्ति पाउँथ्यो भन्ने लाग्छ,’ कृष्ण विष्ट भन्छन्, ‘त्यस कालो दिनलाई बिर्सिएर सुनौलो दिनको पर्खाइमा छौँ।’ कामदारसहित स्थानीयकोे तत्कालीन राज्य पक्षले ज्यान लिँदा हतोत्साहित भएका नागरिकलाई अहिले पनि त्यस दुःखद घटनाले झस्काइरहन्छ। तैपनि सुनथराली विमानस्थलमा हवाईजहाजले नियमित उडान भर्दा दुःख केही कम हुने आशामा उनीहरू छन्।
२०७३ माघ २९ मा तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीको कार्यकालमा परीक्षण उडान गरिएको थियो। आन्तरिक तयारी र भौतिक कार्य सम्पन्न हुन नसक्दा नियमित रूपमा विमानस्थल सञ्चालनमा आउन सकेको थिएन।
विमानस्थलको धावनमार्ग, रिपिटर टावर, घेरबार र भवनसमेत निर्माण भइसकेको छ। यति हुँदा पनि विमानस्थलबाट कहिलेदेखि नियमित उडान सुरु हुन्छ अझै निश्चित छैन।
विमानस्थल नियमित सञ्चालनमा ल्याउन सदरमुकाम मान्मदेखि कोटबाडासम्म केबुलकार जडानको पहल थालिएको छ। कर्णाली प्रदेशका पहिलो मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पहलमा केबुलकार निर्माणका लागि डीपीआरसमेत भइसकेको छ।
केबुलकार निर्माणका लागि स्रोतको खोजी भइरहेको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र विष्ट बताउँछन्। ‘एयरपोर्ट त पूरा भयो तर जहाज नहुँदा सञ्चालनमा आउन सकिरहेको छैन,’ उनी भन्छन्, ‘नियमित सञ्चालन गर्न त्यहाँ पुग्ने बाटोसहित रामारोशन, त्रिवेणी पाटन र बडिमालिका पर्यटकीय स्थलसम्म जोड्न केबुलकार चाहिने भयो।’
केबुलकार निर्माणका लागि १ अर्ब १४ करोड लागतको डीपीआर बने पनि स्रोत नहुँदा समस्या परेको सुनाउँछन् अध्यक्ष विष्ट। ‘सुरुमा कर्णाली प्रदेश र स्थानीय तहको ५० प्रतिशत तथा अन्य निकायबाट ५० प्रतिशत रकम जुटाउने योजना बनाइए पनि शाही मुख्यमन्त्री पदबाट हटेपछि उक्त योजना अलपत्र परेको छ,’ उनी भन्छन्।
२०४३ मा पहिलोपटक शिलान्यास भएको विमानस्थललाई २०४८ सालमा तत्कालीन सांसद तिलकप्रसाद न्यौपानेले पुनः शिलान्यास गरे। कालीकोटका खड्कबहादुर विश्वकर्मा पर्यटनमन्त्री भएका बेला सात करोड रुपैयाँ विनियोजन भएपछि विमानस्थल निर्माणले गति लिएको थियो।
विमानस्थल निर्माण सुरु भएदेखि हालसम्म कति खर्च भयो भन्नेबारे विवरण नागरिक उड्डयन प्राधिकरणसँग समेत छैन। विमानस्थल निर्माणमा झन्डै एक अर्ब रुपैयाँ र कालोपत्रेका लागि १४ करोड ९३ लाख ५ हजार रुपैयाँ खर्च भएको गैसस महासंघ कालिकोटका अध्यक्ष वीरेन्द्र बुढाको अनुमान छ। उनका अनुसार विमानस्थल निर्माणका लागि भएका सम्झौताको म्याद २३ पटकसम्म थपिएिको छ।
अलपत्र चौरजहारी
नौ वर्षदेखि अलपत्र रुकुम पश्चिमको चौरजहारी विमानस्थल स्तरोन्नति गरी धावनमार्गको विस्तार गर्न थालिएको छ। तर विमानस्थलमा जहाज चलेका छैन। कच्ची धावनमार्ग हुँदासम्म उडान भइरहने विमानस्थल कालोपत्र भएपछि भने ठप्प बनेको हो।
त्यसका लागि संघीय सरकारको अर्थ मन्त्रालयले बजेटसमेत विनियोजन गरिसकेको छ। हवाई मैदानको डीपीआर गर्न र मुआब्जा वितरण गर्न नौ करोड रुपैयाँ विनियोजन गरिएको जनाइएको छ।
नेपाल पर्यटन बोर्डमार्फत विनियोजित बजेटको सदुपयोग गर्न पहल भइरहेको चौरजहारी नगरपालिकाका नगरप्रमुख पुष्प बादी बताउँछन्। अहिले उत्तर–दक्षिण फैलिएको धावनमार्गलाई ७२ सिटे जहाज ओर्लन सक्ने बनाउन नाखिरागाउँसम्मको जग्गा अधिग्रहण गरिनेछ।
चौरजहारी विमानस्थल २०७० फागुनदेखि २०७२ भदौसम्मको समय लगाएर कालोपत्र गरिएको थियो। ५ करोड ५९ लाख रुपैयाँ लागतमा विमानस्थलको धावनमार्ग कालोपत्र गरिए पनि त्यसयता एउटै जहाज उडेको छैन। सुरुमा नेपाल वायुसेवा निगमले जहाज नभएको भन्दै उडान बन्द गराएको थियो। अहिले भने यात्रु नभएको कारण देखाउँदै जहाज आउन छाडेका छन्।
चौरजहारीस्थित नेपाल वायुसेवा निगमको कार्यालयलाई नगरपालिकाले धेरैपटक पत्रसमेत पठाएको थियो। अहिले विमानस्थल हटाएकै सात वर्ष भएको छ। स्थानीय अब कहिल्यै जहाज नआउने हो कि भन्ने चिन्तामा छन्। वायुसेवा निगमले कार्यालय उठाएर नेपालगन्ज लगेपछि त्यहाँ कार्यरत जुनियर सहायक कर्मचारी सुरेन्द्र नेपालीलाई सदरमुकामस्थित सल्ले विमानस्थल पठाइएको छ।
विमानस्थल बन्द भएपछि स्थानीयले काँडेतार हटाएर बिस्कुन सुकाउने र पशुचौपाया चराउने गर्न थालेका छन्। ‘जहाज नभएपछि विमानस्थलको के काम?’ नगरप्रमुख बादी भन्छन्।
धावनमार्ग वरिपरि झाडी उम्रिएको छ भने टावरघरमा ताला लागेको छ। उडान नहुँदा जरुरी काम हुने र बिरामीलाई जिल्लाबाहिर जान सास्ती छ। रुकुम पश्चिम, सल्यान र जाजरकोटलाई लक्ष्य गरी २०२८ सालमा विमानस्थल बनाइएको थियो। अहिले कर्णाली प्रदेशमा सञ्चालित विमानस्थल सुर्खेत, जुम्ला, मुगु र हुम्लामात्र हुन्।