स्थलगत

खडेरीको चपेटामा धरान, सर्वसाधारणको बिलौना- पानीकै कारण सहर छाडौँजस्तो भो

विवेक विवश रेग्मी २८ जेठ २०८० ८:४९
174
SHARES
खडेरीको चपेटामा धरान, सर्वसाधारणको बिलौना- पानीकै कारण सहर छाडौँजस्तो भो

इटहरी– धेरै दिनको चर्को घामपछि शनिबार अलिअलि बतास चलिरहेको थियो। साँझ पर्नै लाग्दा स्थानीय मानिस बासिन्दा चिया गफमा भेटिए। पहिलेपहिले चिया गफमा देशको राजनीतिक माहोल, समसामयिक अवस्था, केही कविलेखकहरू साहित्यिक गतिविधि र बजारमा नयाँ आएका पुस्तकबारे चर्चा गर्थे। तर अचेल भने चिया गफमा हरेक दिन धराने जनता यहाँको खानेपानी समस्याबारे चर्चा गर्न थालेका छन्।

वर्षौँदेखिको खानेपानी समस्या रहेको धरान यतिबेला काकाकुल अवस्थामा छ। पानी परेको छैन। धारामा पानी आउन छाडेको महिनौँ बितेको छ।

 धरान उपमहानगरपालिका वडा ३ का सुदीप पाख्रिन भन्छन्, ‘पुस अन्तिम सातादेखि पानी किनेर खाइरहेका छौँ। मेयरसाबले श्रमदानको नाममा ह्विम फैलाउनुभएको छ।’ उनका अनुसार हरेक वर्ष जेठ मसान्तसम्म पानीको समस्या हुँदै आए पनि दिन बिराएर पानी वितरण हुन्थ्यो। यस वर्ष भने पानी नआएको पुसदेखि नै हो।

पानी किनेर खान समस्या नभए पनि शौच गर्न, नुहाउन, लुगा धुन, भाँडा पखाल्नजस्ता अत्यावश्यक कामका लागि भने काकाकुल अवस्थामा रहेको उनी बताउँछन्। ‘किनेर खानुको विकल्पै छैन। धारामा पानी आउँदै-आउँदैन,’ उनी भन्छन्, ‘प्रत्येक वर्ष धरानमा पानीको हाहाकार हुन्छ। यस वर्ष त दिन बिराएर पनि दिइएन।’

अघिल्ला वर्षमा दिन बिराएर पानी आउँथ्यो। सार्वजनिक धारामा पानी अभाव हुदैनथ्यो। यस वर्ष सार्वजनिक धारामै पानी आउन छाडेको छ। सुकुमबासी बस्तीका बासिन्दाले सार्वजनिक धाराको  प्रयोग गर्थे।

‘सबै मान्छे पानी किन्ने पहुँचमा छैनन्, कहिलेकाहीँ त पानीको कारण धरानै छाडाैँजस्तो हुन्छ,’  पाख्रिन भन्छन्, ‘अलिक पहिले पानीको विषयमा बोल्दा आफैँमाथि विरोधका चर्को स्वर आउँथे। अचेल त मानिसले बुझ्न थालेर होला मेयरसाबका विषयमा बोल्दा विरोध हुनै छाड्यो।’

पानी नै नभएर धरानमा काकाकुलको अवस्था नआएको उनको बुझाइ छ। स्थानीय सरकारले व्यवस्थापन गर्न चासो नदेखाउँदा समस्या खेप्नुपरेको उनले बताए। ‘खासमा धरानमा खानेपानीको समस्या होइन, व्यवस्थापनको समस्या हो,’ पाख्रिनले भने, ‘चुहावट नियन्त्रण र वितरणमा ध्यान दिने हो भने पानीको समस्या हुँदैन।’

धरान ३ का उत्तर गुरुङले पानी नभएका कारण छोराछोरीलाई विद्यालय पठाउनै समस्या भएको बताए। उनले भने, ‘धरानमा खानेपानीको सदाबहादर समस्या हो। तर यति धेरै समस्या पनि हो जस्तो लाग्थेन।’

पुस अन्तिम सातादेखि पानी नआउँदा दैनिकीमा चरम समस्या रहेको उनले सुनाए। ‘डेलिगेसनका लागि मेयरकहाँ गएका थियौँ,’ उनले थपे, ‘मेयरसाब त पानी आएन भने भ्यागुता खोजेर ल्याउनू, म भानुचोकमा राखेर बिहे गरिदिन्छु भन्दै गैरजिम्मेवारपूर्ण तरिकाले प्रस्तुत हुनुभयो।’ धरानका मेयर हर्क साम्पाङले ‘भ्यागुताको बिहे गरिदिँदा पानी पर्छ भन्ने मान्यता रहेको भन्दै भ्यागुताको खोजी गर्न’ भनेको उनले बताए।

०७२ सालमा भुइँचालो आएको बेला त्यस वर्ष पानी नै नपरे पनि यो किसिमको हाहाकार नभएको गुरुङ बताउँछन्। ‘राजनीति गर्नेहरूले समस्या राखिरहन्छन्। त्यत्रो वर्ष खानेपानी समस्याको विरोध गरेको अहिलेको मेयरलाई समस्याबारे थाहा छ,’ उनले भने, ‘कोकाहाको पानी ल्याउने कुरा मेयरको ‘स्टन्ट’ मात्रै देखियो। समस्याबारे बताउँदा यहाँका २० वटा वडाध्यक्ष मेयरका लागि भिलेनजस्ता देखिएका छन्। धरान गञ्जागोल छ।’

धरानमा साबिकका गाविसबाहेक अन्य वडामा खानेपानीको चरम अभाव रहेको स्थानीयको भनाइ छ। साबिकका ४, ५, ६ र २० वडाबाहेक अन्य सबै वडाका धेरैजसो टोल, गाउँमा समस्या छ। धरान ११ का एक स्थानीय भन्छन्, ‘खानेपानीको समस्या त पहिलादेखि नै हो। तर अहिलेचाहिँ विकराल नै बनेको छ।’

खानेपानी समस्या समाधानका लागि एसियाली विकास बैँकले गर्छ भनेर बुझाइ नै फरक भएको उनले सुनाए। ‘पार्ट- पार्टमा समस्या छ। हिजो राति ११ बजे लाइनमा बसे पनि पानी पाइएन,’ उनले भने, ‘प्राय सबै वडाका धेरैजसो ठाउँमा पानीको समस्या छ।’

यी त केही भुक्तभोगी हुन्। धरानमा खानेपानीको चरम अभावका कारण यहाँका लाखौँ जनता समस्यामा छन्।  हर्कराज राई (हर्क साम्पाङ) ले धरानको खानेपानी समस्या समाधान गर्ने एजेन्डा बोकेर अघिल्लो वैशाखमा भएको स्थानीय निर्वानमा मेयरमा जितेका थिए। उनी मेयरमा निर्वाचित भएसँगै सप्तकोशीको पानी ल्याउन भन्दै श्रमदानमा जुटेका छन्।  श्रमदान गर्दै गर्दा धरानमा नियमित आइरहेको खानेपानीको व्यवस्थापन गर्नमा ध्यान नपुग्दा समस्या भइरहेको हो।

मेयर साम्पाङ स्रोत व्यवस्थापनमा मात्रै लागेको तर वितरण प्रणाली सुधारमा अग्रसर नभएको धरानबासी बताउँछन्। मेयर साम्पाङले निर्वाचित हुनुअघिको आन्दोलनमा र निर्वाचनका क्रममा एसियाली विकास बैंकको ऋण अनुदानमा सञ्चालित खानेपानी परियोजनामा भ्रष्टाचार भएको आरोप लगाउँदै आएका थिए। तर अहिलेसम्म पनि त्यो विषय ओझेलमा छ।

धरानका पूर्व मेयर मनोज मेन्यांबो भन्छन्, ‘भुइँको टिप्न खोज्दा, गोजीको पनि पोखियो।’ मेयर साम्पाङ परिणाममुखी भन्दा पनि प्रचारमुखी काममा सीमित रहेको आरोप उनको छ। ‘धराने जनता पानी नपाएर प्रताडित छन्, आलोचना भइरहेको छ। म त्यति धेरै आलोचना गर्न चाहन्नँ,’ उनले भने, ‘यतिचाहिँ भन्छु- उहाँको काम ठिक छ, शैलीचाहिँ नितान्त बेठिक छ।’ हाल सर्दु, खर्दु, पकुवा र निशाने खोलाको पानी उत्पादन भए पनि वितरणमा समस्या देखिएको धरानबासी बताउँछन्।

बीपी प्रतिष्ठानमा उस्तै समस्या

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खानेपानी अभावका कारण शैक्षिक क्रियाकलाप एक साताका बन्द छ। प्रतिष्ठानमा  खानेपानी अभाव भई विद्यार्थीलाई बिदा दिइएको यो पहिलोपटक हो। प्रतिष्ठानकै जंगल क्षेत्रमा आफ्नै वेल, रिजर्व वायर र पाइपलाइन छ। सञ्चालनचाहिँ खानेपानी व्यवस्थापन बोर्डले गरिरहेको छ। प्रतिष्ठान र खानेपानी व्यवस्थापन बोर्डबीच दैनिक १५ लाख लिटर पानी उपलब्ध गराउने र त्यसबापत वार्षिक ८२ लाख रुपैयाँ बोर्डलाई उपलब्ध गराउने लिखित सम्झौता छ।

प्रतिष्ठानमा दैनिक ४० लाख लिटर पानीको माग छ। सुक्खायाममा हस्पिटल सेवा, आवास र होस्टलमा गरी कम्तीमा २० लाख लिटर पानी उपलब्ध भए व्यवस्थापन गर्न सहज हुने प्रतिष्ठानले जनाएको छ। अहिले भने पानी अभावका कारण विद्यार्थीलाई एक साता बिदा दिइएको छ। चारकोसे जंगलमा प्रतिष्ठानको २ वटा वेल छ। त्यसबाहेक शिवजट्टा र भालुखोलाको पानी पनि प्रतिष्ठानले उपभोग गर्दै आएको छ।

मेयरको आलोचना

धराने मेयर साम्पाङ भने सामाजिक सञ्जालमा मात्रै ‘स्टन्ट’ देखाउँदै आएको भन्दै कारण धरानबासी आक्रोशित छन्। अहिले सामाजिक सञ्जालदेखि चिया गफसम्म मेयर साम्पाङको आलोचना हुँदै आएको छ।  साम्पाङ उनै व्यक्ति हुन् जो विगतमा खानेपानी समस्याको विरोधमा चर्को स्वर गर्दै उपमहानगर र खानेपानी बोर्ड घेराउको अगुवाइ गर्थे। तर अहिले उनी खानेपानी समस्या लिएर पुगेका जनतासमक्ष गैरजिम्मेवारीपूर्ण तरिकारबाट प्रस्तुत हुने गरेको पीडितको गुनासो छ।

केही दिनअघि सामाजिक सञ्जालमा लाइभ बस्दै उनले सुख्खायाममा भने खानेपानी खुवाउने उद्घोष नगरेको बताएका थिए। ‘मैले सुख्खायाममा त पानी खुवाउने भनेकै थिइनँ,’ उनले भनेका थिए। एक गृहिणी भन्छिन्, ‘पानी पर्दा र खोलामा पानी बढ्दा मात्रै पानी खुवाउने भनिएको अरे। मेयर साम्पाङ समस्याबाट पन्छिँदै आएका छन्।’

प्रकाशित: २८ जेठ २०८० ८:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + nineteen =