एक हजार २२ बोरा अवैध युरिया मल बरामद

हिमाल प्रेस २७ जेठ २०८० २१:२४
8
SHARES
एक हजार २२ बोरा अवैध युरिया मल बरामद

पाल्पा- पाल्पामा प्रहरीले अवैध युरिया मल बरामद गरेको छ। पाल्पाको रामपुर नगरपालिका र रम्भा गाउँपालिकाबाट १ हजार २२ बोरा अवैध मल प्रहरीले बरामद गरेको हो।

रामपुर नगरपालिका-५ स्थित बेझाड बजारमा विजय श्रेष्ठको चारतले घरको सटर कोठामा अवैध रूपमा भण्डारण गरिएको ६ सय ५० बोरा र रम्भा गाउँपालिका–१ स्थित कालीगण्डकी करिडोर सडकखण्डमा प्रहरी चौकी हुँगीले ३ सय ७२ बोरा मल बरामद गरेको हो।

रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाको संयोजकत्वमा रहेको उपभोक्ता हित संरक्षण समिति र प्रहरीले शनिबार दिउँसो अनुगमन गर्ने क्रममा उक्त मल फेला परेको हो।

केही दिनदेखि रामपुर-५ बेझाडस्थित विजय श्रेष्ठको घरको पहिलो तलाको भाडाको सटर कोठामा मल भण्डारण गरेको अवस्थामा ‘प्रधानमन्त्री भारतीय जनउर्वरक परियोजना भारत युरिया’ नामक रासायनिक मल ठूलो मात्रामा भेटिएको थियो।

इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले आशंका लागेको स्थानमा अनुगमन गर्ने क्रममा अवैश मल फेला परेको जानकारी दिए। सम्बन्धित व्यक्तिलाई नभेटेपछि ताला काटेर हेर्दा ६ सय ५० बोरा मल फेला परेको उनको भनाइ थियो।

अवैध रूपमा भण्डारण गरिएको युरिया मल अहिले जनप्रतिनिधि, सरोकारवालाको रोहवरमा सटर कोठा सिल गरिएको छ। रामपुरमा ठूलो परिमाणमा अवैध मल फेला परेपछि जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापासहितको टोलीले स्थलगत अनुगमन गरेको छ। ‘अहिलेलाई सिल गरेर मल राखिएको छ, मल कसरी भित्रियो यसबारे प्रहरीले अनुसन्धान गर्नेछ,’ प्रहरी उपरीक्षक थापाले भने।

यसैगरी नवलपरासीबाट पाल्पाको रामपुरतर्फ आउँदै गरेको लु १ ख ३८१ नम्बरको ट्रकलाई रोकी जाँच गर्ने क्रममा शनिबार बिहान ‘भारतीय जनउर्वरक परियोजना भारत युरिया नामक’ युरिया मल १६ हजार ७ सय ४० किलोग्राम फेला परेको प्रहरीले बताएको छ। ३ सय ७२ बोरामा भेटिएको उक्त मलको बिल नभेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाको भनाइ छ।

सो मल, ट्रक र चालकसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि भन्सार कार्यालय पठाइएको छ। ट्रकले पहिले चामलको बिल देखाएको र पछि अनुसन्धान गर्दा युरियाको बिल फेला परेको हो। रासस

प्रकाशित: २७ जेठ २०८० २१:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − eight =