
कैलाली- फिल्म तथा म्युजिक भिडियो निर्देशक जिबि आग्री सम्मानित भएका छन्। काठमाडौँमा रहेर चलचित्र तथा म्युजिक भिडियोको निर्देशन गर्दै आएका आग्री सुदूरपश्चिमाञ्चल कला प्रतिष्ठानद्वारा सम्मानित भएका हुन्।
उनलाई ‘सुपक राष्ट्रिय सम्मान २०८०’ बाट सम्मान गरिएको हो। कञ्चनपुरको पुनर्वासका स्थायी बासिन्दा आग्री दुई दशकदेखि काठमाडौँमा चलचित्र निर्माता तथा निर्देशकको रूपमा सक्रिय छन्।
आफ्नै कम्पनी रागभिजन मल्टिमुभिज प्राली स्थापना गरेर चलचित्र र म्युजिक भिडियो निर्माण गरिरहेका आग्रीले ठूलो पर्दाको नेपाली चलचित्र फुटपाथ, शर्ट फिल्म, जनचेतनामूलक नाटक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय इभेन्ट अर्गनाइज, म्यानेजमेन्ट डकुमेन्ट्री निर्माणदेखि दर्जनौँ म्युजिक भिडियो निर्माण तथा निर्देशन गरिसकेका छन्।
निर्देशक आग्रीले म्युजिक भिडियो ‘हजुर मुसुक्कै’ निर्माण तथा निर्देशन गरेका थिए। जुन केही समयअघि निकै चर्चामा रहेको थियो। जसमा महानायक राजेश हमाल र निरुता सिंहले अभिनय गरेका थिए।
उनी नेपाल चलचित्र निर्माता संघ र म्युजिक भिडियो निर्देशक समाजका सदस्य पनि हुन्। उनी यसअघि ‘बक्स अफिस म्युजिक भिडियो अवार्ड २०७९’ बाट सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशकलगायत अवार्डबाट यसअघि सम्मानित भइसकेका छन्।