खानेपानी सहजताका लागि वीरगञ्‍जमा साढे ४ लाख लिटर क्षमताको ट्यांकी निर्माण गरिँदै

हिमाल प्रेस २७ जेठ २०८० १३:४८
4
SHARES
खानेपानी सहजताका लागि वीरगञ्‍जमा साढे ४ लाख लिटर क्षमताको ट्यांकी निर्माण गरिँदै

काठमाडौँ– वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र नेपाल खानेपानी संस्थानले ठूलो क्षमताको पानी ट्यांकी निर्माण गर्न लागेको छ। बढ्दो गर्मीका कारण चापाकललगायत खानेपानीका मुहानमा पानी आउन छाडेपछि संस्थानले साढे ४ लाख लिटर क्षमताको पानी ट्यांकी निर्माण गर्न लागेको हो।

महानगरपालिकाको वडा १६ स्थित नगवामा निर्माण हुन लागेको खानेपानी पानी ट्यांकीको जनता समाजवादी पार्टी, नेपाल (जसपा) का प्रमुख सचेतक प्रदीप यादव र मेयर राजेशमान सिंहले संयुक्त रूपमा शनिबार (आज) शिलान्यास गरे। सो पानी ट्यांकीले वडा नम्बर १५ र १६ का लगभग ४५ हजार घरधुरी लाभान्वित हुने नेपाल खानेपानी संस्थानका प्रमुख निरन महर्जनले जानकारी दिए।

निर्वाचन क्षेत्र १ का प्रतिनिधिसभा सदस्यसमेत रहेका जसपाका प्रमुख सचेतक यादवले पानी ट्यांकी निर्माणले वडावासीले भोगिरहेको खानेपानीको समस्या समाधान हुने विश्वास व्यक्त गरे। पछिल्लो समय जलवायु परिवर्तन र बढ्दै गएको तापक्रमका कारण जमिनमुनिको पानीको सतह घट्दै जाँदा चापाकलमासमेत पानी आउन छाडेपछि वर्तमान मागलाई सम्बोधन गर्न पानीट्यांकी निर्माणको काम सुरु गरिएको उनको भनाइ छ।

जलवायु परिवर्तन र विभिन्न कारणले जमिनमुनि रहेको पानीको सतह तल झर्दै गइरहेको उल्लेख गर्दै उनले रुख रोप्ने र घरघरमै वाटर रिचार्जको उपाय अपनाउनुपर्नेमा जोड दिए।

मेयर सिंहले तराई-मधेसका क्षेत्रमा देखिएको पानीको समस्या गम्भीर भएको उल्लेख गरे।

महानगरभित्र देखिएको खानेपानीको समस्या समाधानका लागि नेपाल खानेपानी संस्थानसँग मिलेर महानगरका विभिन्न वडामा ४ हजार धारा निःशुल्क रूपमा जडान गर्न लागिएको उनले जनाए। महानगरपालिकाले नेपाल खानेपानी संस्थानसँग समन्वय गरेर ४ हजार घरधुरीमा निःशुल्क धारा जडान गरिने मेयर सिंहको भनाइ छ।

संघीय सरकारको सहयोगमा नेपाल खानेपानी संस्थानले वीरगञ्ज जलापूर्ति परियोजनाअन्तर्गत कूल लागत ५३ करोड ३२ लाख २४ हजार २ सय २० को लागतमा सो पानीट्यांकी निर्माण गर्न लागिएको खानेपानी संस्थानका प्रमुख महर्जनले बताए । परियोजना २ वर्षमा सम्पन्न हुने लक्ष्य लिइएको छ।

२ सातादेखि बढ्दो गर्मीका कारण सतहको पानी तल झर्दै गएर चापाकलमा पानी आउन छाडेपछि पर्साको ग्रामीण क्षेत्रमा खानेपानीको हाहाकार हुँदै गएको छ। पर्साको वीरगञ्ज महानगरपालिकाका ग्रामीण क्षेत्रसहित २ दर्जन गाउँमा खानेपनीको संकट बढ्दै गएको स्थानीयले बताएका छन्।

प्रकाशित: २७ जेठ २०८० १३:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =