कालीकोट जिल्ला अस्पतालमा खानेपानी अभाव

हिमाल प्रेस २७ जेठ २०८० १३:४३
4
SHARES
कालीकोट जिल्ला अस्पतालमा खानेपानी अभाव सांकेतिक तस्बिर।

कालीकोट– जिल्ला अस्पताल कालीकोटमा खानेपानी अभाव भएको छ। जिल्ला अस्पतालमा ल्याइएको खानेपानीको मुहानमा स्थानीयले अवरोध गर्दा खानेपानी अभाव भएको हो।

जिल्ला अस्पतालमा खाँडाचक्र नगरपालिका-१ को जिरोप्वाइन्ट रहेको मुहानबाट खानेपानीको आपूर्ति गरिँदै आएको थियो। जिरोप्वाइन्टमा आफ्नै खानेपानी ट्यांकी रहेको र त्यसलाई घेरबार गरेर राखेका अवस्थामा अनधिकृत रूपमा केही व्यक्तिले ट्यांकीमा आफ्ना निजी पाइप जोडेर लगेका कारणले जिल्ला अस्पतालमा खानेपानी अभाव भएको अस्पतालका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा संकेत विश्वकर्माको भनाइ छ।

‘अस्पताल जस्तो संवेदनशील क्षेत्रमा पानीको अवरोध गर्नु गैरकानुनी काम हो,’ उनले भने, ‘यो समस्या तत्काल समाधान नभए कानुनी रूपमा जान बाध्य हुने छौं।’

जिल्ला अस्पतालमा खानेपानी अभाव हुँदा बिरामी तथा बिरामीका कुरुवालगायत अन्य सेवाग्राहीलाई खानेपानीका लागि टाढाटाढा जानुपर्ने बाध्यता रहेको निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा. विश्वकर्माको भनाइ छ।

‘केही दिनयता खानेपानी अभाव हुँदा बिरामी तथा कुरुवालगायत स्वास्थ्यकर्मी र सेवाग्राहीलाई निकै सकस भएको छ,’ उनले भने, ‘गर्मीको मौसममा खानेपानी अभाव हुँदा अस्पतालमा उपचारमा आएका पनि खानेपानी अभावले बिरामी पर्ने गरेका छन्।’

खानेपानी अभावमा स्वास्थ्य सेवा प्रवाहमा प्रतिकूल असर परेको हुँदा ३ दिनभित्र खानेपानीको पाइप नहटाए कानुनी कारबाहीमा जाने निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा विश्वकर्माको भनाइ छ। ‘स्वास्थ्य क्षेत्रमा अवरोध गरिनु कुनै राम्रो काम होइन,’ उनले भने, ‘यस्तो गैरकानुनी कामलाई प्रश्रय दिनु पनि राम्रो होइन।’

जिल्ला अस्पतालमा खानेपानी अभाव भएका कारणले खानेपानीका लागि भौतारिनुपर्ने बाध्यता रहेको बिरामीका कुरुवा बस्नुभएका पचाल झरना गाउँपालिका-४ का नैन तिरुवाको भनाइ छ। ‘यता बिरामीको कुरुवा बस्नु कि खानेपानीका लागि भौतारिनु,’ उनले भने, ‘खानेपानी खोज्दाखोज्दै अस्पतालमा बिरामीलाई अप्ठ्यारो पनि हुनसक्छ।’ गर्मीयाम बढ्दै गएका कारणले कालीकोटको सदरमुकाममा पनि खानेपानीको चरम अभाव हुन थालेको छ।

प्रकाशित: २७ जेठ २०८० १३:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + ten =