साइबर अपराध न्यूनीकरण गर्न नेपालगञ्‍ज उपमहानगरद्वारा सचेतना अभियान

हिमाल प्रेस २७ जेठ २०८० १३:३५
12
SHARES
साइबर अपराध न्यूनीकरण गर्न नेपालगञ्‍ज उपमहानगरद्वारा सचेतना अभियान

नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिकामा साइबर अपराध न्यूनीकरण गर्न सचेतना अभियान सुरु गरिएको छ। उपमहानगरपालिका-१८ ले निजी क्षेत्रसँगको साझेदारीमा माध्यमिक विद्यालय तहमा अध्ययनरत विद्यार्थीमार्फत साइबर अपराध न्यूनीकरण अभियान सुरु गरिएको वडाध्यक्ष दिपककुमार वर्माले जानकारी दिए।

‘नेपालगञ्जका विभिन्न विद्यालय तथा कलेजमा अध्ययनरत विद्यार्थी र शिक्षकलाई लक्षित गरेर सचेतनामूलक कार्यक्रम सुरु गरिएको हो,’ वडाध्यक्ष वर्माले भने, ‘समाजमा ठूलो समस्याका रूपमा देखिँदै गएको साइबर अपराध न्यूनीकरण गर्न सकिन्छ भन्ने अपेक्षा हो।’

साइबर अपराध न्यूनीकरणका लागि सचेतना अभियान नेपालगञ्जभरि सञ्चालन गर्न मेयर र अन्य वडासँग सहकार्य तथा समन्वय गर्दै अघि बढ्ने वडाध्यक्ष वर्माको भनाइ छ। जिल्ला प्रहरी कार्यालय बाँके अपराध शाखाका प्रहरी निरीक्षक नरेश विकले बाँकेमा पनि साइबर अपराधसम्बन्धी घटना घटिरहेकाले यो अभियान प्रभावकारी हुने बताए।

युवा तथा किशोरावस्थामा साथीसाथीबीच सामाजिक सञ्जालको पासवर्ड एकापसमा लिनेदिने कुराले सम्बन्ध बिग्रिएपछि साइबर अपराधसम्मका घटना निम्त्याउने गरेको उनको भनाइ छ। ‘सामाजिक सञ्जालको पासवर्ड तपाईं आफ्नो साथी वा प्रेमी प्रेमिकालाई होइन आफ्ना बाबुआमालाई दिनुस्, यसले तपाईंमाथि घट्नसक्ने साइबर अपराध रोक्न ठूलो सघाउ पुग्छ,’ उनले भने, ‘अरू कसैलाई आफ्नो पासवर्ड नदिनुस्, अभिभावकले पनि आफ्ना सन्तानका साइबर गतिविधिलाई निगरानी गर्न जरुरी छ।’

नेपालगञ्जमा माध्यमिक विद्यालय तहमा अध्ययनरत विद्यार्थीलाई साइबर अपराधसम्बन्धी सचेतना कार्यक्रममा प्रहरी निरीक्षक विकले सम्बन्ध राम्रो हुँदा एकअर्कालाई दिइएको सामाजिक सञ्जाल सम्बन्ध बिग्रिएपछि साइबर अपराधका घटना घटाउने हतियार बन्ने गरेको उल्लेख गरे।

‘सामाजिक सञ्जालको पासवर्ड अभिभावकलाई दिएमा छोराछोरी के गर्दैछन् र कसको संगतमा छन् भन्ने बुझ्न र गलत बाटोमा लागेको समयमै थाहा पाउन सहज हुन्छ,’ प्रहरी निरीक्षक विकले भने, ‘आफ्ना बालबालिकाले के गरिरहका छन् भन्ने कुरा बुझ्न अभिभावकसमेत सचेत हुन जरुरी छ।’

बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले इन्टरनेटको प्रयोगका हिसाबले पनि युवा बढी देखिएको भन्दै साइबर अपराध नियन्त्रणका लागि युवाको महत्त्वपूर्ण भूमिका रहने बताए। साइबर अपराध सचेतनाका लागि वडाले गरेको पहलको सराहना गर्दै प्रजिअ आचार्यले साइबर अपराध न्यूनीकरणमा सचेतना नै मुख्य पक्ष रहेको उल्लेख गरे।

बाँके प्रहरी प्रमुख सन्तोषसिंह राठौरले आफ्ना सन्तानका काममा निगरानी गर्न अभिभावकलाई सुझाव दिनुभयो। अपराधको कानुनी उपचारभन्दा सचेतना नै महत्त्वपूर्ण हुने उल्लेख गर्दै प्रहरी उपरीक्षक राठौरले व्यक्ति अञ्जानबस वा जानकारीको अभावमा पनि साइबर अपराधमा फसेकाले न्यूनीकरणमा प्रहरीले सबैको साथ र सहयोग खोजेको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − three =