राष्ट्रिय कविता प्रतियोगितामा सिरहाका भट्टराई प्रथम

हिमाल प्रेस २७ जेठ २०८० ६:२७
4
SHARES
राष्ट्रिय कविता प्रतियोगितामा सिरहाका भट्टराई प्रथम

पोखरा– गण्डकी वांमय प्रतिष्ठान तनहुँको आयोजनामा दमौलीमा शुक्रबारदेखि सुरु राष्ट्रिय कविता प्रतियोगितामा सिरहाका अविनाश भट्टराई प्रथम भएका छन्। यस्तै संखुवासभाका सिजन श्रेष्ठ द्वितीय र झापाका केशव भट्टराईले तृतीय स्थान हासिल गरे।

प्रतियोगितामा रौतहटका मनोज विश्वकर्मा, चितवनका सिर्जन अविरल, मोरङका पूजा आराधना, तनहुँका प्रकाश रम्घाली, गोरखाका भरतबाबु ढकाल र सिन्धुपाल्चोकका सुन्दर शिरिष सान्त्वना भएका छन्।

प्रथम, द्वितीय र तृतीय हुने कविलाई क्रमशः ५५ हजार, ४० हजार र २५ हजार रुपैयाँ नगद प्रदान गरिनेछ। यस्तै सान्त्वना हुनेलाई जनही १० हजारका दरले पुरस्कार प्रदान गरिनेछ।

पुरस्कार शनिबार (आज) प्रदान गरिने गण्डकी वांमय प्रतिष्ठानकी सचिव अञ्जु दाहालले जानकारी दिइन्।

साहित्यकार रमेश पौडेलको संयोजकत्वमा रहेको निर्णायक समितिले कविताहरूको स्थान निर्धारण गरेको हो।

कविता प्रतियोगितामा देशभरबाट २ सय ३७ कविता प्राप्त भएको थियो। २ वर्षअघि नै कार्यक्रम तय गरी कविता प्राप्त भएकामा सोही कवितालाई अहिले प्रतिस्पर्धामा सहभागी गराई घोषणा गरिएको प्रतिष्ठानका अध्यक्ष अर्जुन अधिकारीले जानकारी दिए।

‘२ वर्ष पहिला कार्यक्रम तय भई कविताहरु प्राप्त भएका थिए, त्यतिबेला कोभिडका कारण कार्यक्रम गर्न नसकेर स्थगित भयो, सोही कविता अहिले प्रतिस्पर्धामा सहभागी गराएर उत्कृष्ट घोषणा गरिएको हो,’ उनले भने।
कार्यक्रममा गण्डकी वांमय पुरस्कार ०७९ वरिष्ठ साहित्यकार समालोचक नारायण गौतमलाई प्रदान गरिएको छ। ०५४ सालमा स्थापना भएको यो संस्थामा स्थापित १ लाख अक्षयकोषबाट साहित्यकार गौतमलाई पुरस्कृत गरिएको हो। पुरस्कारको राशि १० हजार रहेको छ।

कार्यक्रमकै अवसरमा कविता प्रतियोगितामा सहभागी कवितामध्ये उत्कृष्ट ६५ वटा कविता समावेश गरी स्मारिका प्रकाशित गरिएको छ। उक्त स्मारिकाको शुक्रबार साहित्यकार सरुभक्त श्रेष्ठले विमोचन गरे।

प्रकाशित: २७ जेठ २०८० ६:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =