ओलीले प्रचण्डलाई लगाए टुप्पी कटुवा, जनै चुँडुवा र देशद्रोहीको आरोप

हिमाल प्रेस २५ जेठ २०८० १६:०८
48
SHARES
ओलीले प्रचण्डलाई लगाए टुप्पी कटुवा, जनै चुँडुवा र देशद्रोहीको आरोप

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिचानका नाममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले एमालेका नेताकार्यकर्तालाई छानीछानी आक्रमण गरिरहेको आरोप लगाएका छन्। पहिचानवादीका नाममा देशका विभिन्न ठाउँमा सत्ता संरक्षित ढंगले आन्दोलन भइरहेको दाबी उनको छ।

कोशी प्रदेशमा पनि प्रधानमन्त्री प्रचण्डकै संरक्षण र प्रोत्साहनमा आन्दोलन भइरहेको र सत्ता पक्षबाटै एक जनाको ज्यान गएको आरोप ओलीले लगाए। नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गरी एमालेमा समाहित भएका मुकुन्द न्यौपानेसहितका नेताकार्यकर्तालाई बिहीबार पार्टी कार्यालयमा स्वागत गर्दै ओलीले उक्त कुरा बताएका हुन्।

उनले भने, ‘अहिले प्रदेश १ मा पहिचानवादीका नाममा सत्ता संरक्षित आपराधिक घटनाहरू भइरहेका छन्।’ ओलीले पहिचानवादका नाममा जारी आन्दोलनमा आफू र आफ्नै कार्यकर्तामाथि आक्रमण भइरहेको पनि बताए।

यसरी आक्रमण हुँदा पनि प्रहरी प्रशासन मौन रहेको आरोप उनको छ। ओलीले भने, ‘केही दिनअघि मलाई ढुंगामुढा हुँदा पनि सरकारले केही गरेन। प्रहरीको टाउको फुट्यो, अनुहार कुच्चियो, तैपनि प्रहरीलाई केही नगर्नु भनिएको छ।’

ओलीले कोशी प्रदेशमा जारी पहिचानवादीको आन्दोलन सफल नहुने पनि बताए। सत्ता पक्षबाटै परिचालित भएकाले आन्दोलन सफल नहुने उनको भनाइ छ। ‘हरेक जिल्लामा तिनै थोरै केटाहरू पुग्छन्। मोटरसाइकल लियो, तिनै केटाहरू पहिचानका नाममा। पहिलेपहिले मधेशमा हुने गरेजस्तै भइरहेको छ।’ ओलीले कहिले बन्द र तोडफोड भइरहेको बताए।

उनले भने, ‘आजमात्रै केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य राम रानालाई मोबिल छर्केर आगो लगाउन खोजे। कहाँसम्मको हत्या प्रयास भइराख्या छ पहिचानका नाममा!’ अध्यक्ष ओलीले यस्ता घटनाबाट पार्टी कत्ति पनि नडराउने बताए। उनले भने, ‘हामी किञ्चित डराउँदैनौँ। लच्किँदैनौँ, झुक्दैनौँ, नो कम्परमाइज!’

नेपाललाई जातजातिका नाममा दंगाफसाद गराउन खोजिएको ओलीको भनाइ छ। उनले भने, ‘किराँत प्रदेश राख्न खोजेको किन रहेछ भन्ने देखिँदैछ नि। नराख्दा त यस्तो छ राख्ने हो भने के होला? गैरकिराँतले त त्यहाँ बस्न पनि नपाउने अवस्था हुने रहेछ नि।’

पहिचानका नाममा प्रचण्डले देशभर आगो फैलाउन खोजे पनि आफूहरूले त्यसलाई सफल हुन नदिएको ओलीले बताए। उनले भने, ‘प्रचण्डले सकेनन् यो विषको आगो फैलाउन। देशभरि आगो फैलाउन खोज्या हुन् पहिचानका राजनीतिका नाममा, जातजातिका नाममा राज्य बनाउने कोसिस गरेकै हुन्। भड्काउन खोजेका हुन्। बिथोल्न खोजेका हुन्। प्रचण्ड असफल भए।’

पहिला नाम राख्ने बेलामा सहमति जनाउने अनि पछि गल्ती भो पुनर्विचार गर्नुपर्छ भनेर प्रचण्डले दोहोरो चरित्र देखाइरहेको ओलीको आरोप छ। उनले भने, ‘यसमा प्रचण्डको प्रत्यक्ष संलग्नता देखिन्छ। नाम राख्ने अनि पछि गल्ती भो भन्ने, पुनर्विचार गर्नुपर्छ भन्ने र त्यता मान्छेहरूलाई भड्काउन खोज्ने!’

प्रचण्ड एउटा चाइनिज नाटकका पात्रजस्तै रहेको ओलीको टिप्पणी छ। उनले भने, ‘एकफेर आँखा झिम्काउँदा प्रो चाइनिज, फेरि प्रो इन्डियन, फेरि हिंसावादी, फेरि शान्तिवादी, फेरि १०८ किलो रुद्राक्ष, फेरि टुप्पी कटुवा, अनि यस्सो गर्दा जनै चुँडुवा, के के हो के के त्यो, एकछिनमा पहिचानवादी, एकछिनमा राष्ट्रिय एकतावादी, एकछिनमा फाटोवादी! यसो अनुहार झड्कार्दा बेग्लैबेग्लै चेहरा देखिन्छ। जति बेला जस्तो चाहियो, त्यस्तै खालको।’

आफ्ना कार्यकर्तामाथि मोबिल छर्केर आगो लगाउनेसम्मको हर्कत भइरहेकाले अब सहेर नबस्ने चेतावनी पनि ओलीले दिए। ‘अब नेकपा एमालेले तयारीका साथ दनक दिनुपर्ने अवस्था आयो। एमाले चुप लागेर बस्दैन। आफ्ना कार्यकर्ताका रक्षा हामी आफैँले गर्नुपर्छ,’ ओलीले भने। उनले सरकारबाटै गुण्डाहरूको संरक्षण भइरहेको आरोप लगाए। ओलीले भने, ‘सरकार न गुण्डाहरू नियन्त्रण गर्छ, न गिरफ्तार गर्छ न केही गर्छ। उनीहरूलाई प्रोत्साहित र संरक्षण भइरहेको छ प्रचण्ड सरकारबाट। त्यस कारण यस कुरालाई हामीले जबाफ दिनुपर्ने अवस्था आइसकेको छ।’

ओलीले प्रचण्डपथ भनेको देशद्रोही पथ हो र यो अझै कायमै रहेको पनि बताए। यस्तै उनले एमालेका नेताकार्यकर्तालाई कहाँबाट हमला गर्न सकिन्छ भनेर सरकार लागिपरेको आरोप लगाए। ओलीले आफ्नो जिउ सुनैसुनको बनाएर सामाजिक सञ्जालमा राख्ने काम पनि सरकारी संरक्षणमै भएको आरोप लगाए। ‘केपी ओली जिउमा सुनको भेस्ट, सुनको कोट, सुनको भोटो, सुनको जुत्ता बनाउने काम प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठहरूको हो। हामी अब यसको दृढतापूर्वक र सावधानीपूर्वक मुकाबिला गर्ने काममा अघि बढ्छौँ।’

प्रकाशित: २५ जेठ २०८० १६:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =