काठमाडौँ- पोखरामा नेपाल-चीन मैत्रीपूर्ण ‘ड्रागन बोट रेस फेस्टिभल’ हुने भएको छ। नेपाल पर्यटन बोर्ड, नेपालका लागि चिनियाँ दूतावास र पोखरा महानगरको संयुक्त आयोजनामा डुंगा दौड प्रतियोगिता हुने भएको हो।
प्रतियोगिता असार ८ र ९ गते फेवातालमा हुनेछ। २०० मिटर र ५०० मिटर गरी दुई विधामा हुने प्रतियोगितामा नेपाल, चीन र सिंगापुरका गरी ८ समूहले सहभागिता जनाउनेछन्। साथै सांस्कृतिक प्रस्तुति र परिकार प्रदर्शनी पनि हुनेछ।
नेपाल पर्यटन बोर्डका सीईओ डा. धनञ्जय रेग्मीले यस्ता किसिमका प्रतियोगिताले चिनियाँ पर्यटक भित्र्याउन मद्दत पुग्ने बताए। उनले फेस्टिभलमा चिनियाँ पर्यटकलाई चार्टर विमानमार्फत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रियमा ल्याउने तयारी भइरहेको बताएका छन् ।
‘त्यसपछि नियमित अन्तर्राष्ट्रिय उडान गर्ने गरी पोखरा विमानस्थलको प्रवर्द्धन गर्नेछौँ,’ उनले भने, ‘यस्ता फेस्टिभल हरेक वर्ष गर्ने पनि तयारी छ।’