प्रधानमन्त्रीले गरे लुम्बिनी केबलकारको उद्घाटन

हिमाल प्रेस २५ जेठ २०८० १३:४२
42
SHARES
प्रधानमन्त्रीले गरे लुम्बिनी केबलकारको उद्घाटन

बुटवल- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी केबलकारको उद्घाटन गरेका छन्। बिहीबार बिहान प्रधानमन्त्री दाहालले बुटवलको गोलपार्क बमघाटमा रहेको बटम स्टेशनमा ताम्रपत्र अनावरण गरी केवलकारको उद्घाटन गरेका हुन्।

आइएमई समूहको लगानीमा बनेको लुम्बिनी केवलकार बुटवलको गोलपार्क बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ वसन्तपुरसम्म चल्नेछ। ३ किलोमिटर दुरीको केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार पनि हो।

केबलकार सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकासँग कम्पनीको त्रिपक्षीय सम्झौता भएको छ। जसअनुसार प्रतिटिकट शुल्कको २ प्रतिशत रकम दुई वटा पालिकाका लागि छुट्याइने छ।

आइएमई समूहले सञ्चालनमा ल्याउन लागेको यो तेस्रो केबलकार हो। यसअघि आइएमई समूहले काठमाडौँको चन्द्रागिरि र नवलपरासीको गैँडाकोटमा मौलाकालिका केबलकार सञ्चालनमा ल्याएको छ। अध्यक्ष चन्द्रप्रसाद ढकालले लुम्बिनी केबलकारले वसन्तपुर नयाँ धार्मिक र पर्यटकीय गन्तव्यका रूपमा थपिएको बताए।

यस पर्यटकीय पूर्वाधारले रुपन्देही, पाल्पा, नवलपरासी र कपिलवस्तु जिल्ला तथा समग्र लुम्बिनी प्रदेशकै आर्थिक तथा सामाजिक रुपान्तरणमा टेवा पुयाउने विश्वास रहेको पनि अध्यक्ष ढकालले बताए।

लुम्बिनी केवलकार र रिसोर्ट सहितको आयोजनाको कुल लागत ५ अर्ब रुपैयाँ छ। पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी भएको छ। टप स्टेसनमा पाँचतारे होटल निर्माणाधीन छ।

टप स्टेसनमा पर्यटकका लागि भेज र नन भेज छुट्टाछुट्टै रेस्टुरेन्ट बनिसकेका छन् भने बाल उद्यान, स्काईवाक, जीप लाइन निर्माणको क्रममा छन्। मोनोकेवल डिट्याचेबल सिस्टमका २५ वटा गोण्डोला रहेको केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्छ।

बटम स्टेसन समुद्री सतहबाट २३० मिटर र टप स्टेसन ९४० मिटरको उचाइमा रहेको छ। बटन स्टेसनबाट १० मिनेटको यात्रामै टप स्टेसनमा पुग्न सकिने कम्पनीले जनाएको छ।

प्रकाशित: २५ जेठ २०८० १३:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =