नेपाली नागरिक नागरिकताविहीन हुनु हुँदैन भन्नेमा हामी गम्भीर छौँ : रास्वपा

हिमाल प्रेस २५ जेठ २०८० १४:५०
12
SHARES
नेपाली नागरिक नागरिकताविहीन हुनु हुँदैन भन्नेमा हामी गम्भीर छौँ : रास्वपा फाइल तस्बिर

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् सांसद नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टी कुनै समुदायविरुद्ध छ भन्ने भाष्य निर्माण गरेर निमुखा नागरिकलाई गुमराहमा राख्न खोजिएको आरोप लगाएका छन्।

प्रतिनिधिसभा बैठकमा बिहीबार सम्बोधन गर्दै लामिछानेले कुनै पनि नेपालीले नागरिकता पाउनुपर्छ भन्ने पक्षमा रास्वपा गम्भीर रहेको स्पष्ट पारे। उनले भने, ‘म यतिमात्र भन्न चाहन्छु, राजनीतिसँग कुनै सरोकार र भोट बैंकको कुनै आवश्यकता नहुँदा पनि प्राकृतिक विपत्ति, वैदेशिक रोजगारीका समस्या र मिटरब्याजका विषयमा आवाज विहीन मधेशी जनाको पक्षमा हामी उभिएको संसार साक्षी छ।’

लामिछानेले नागरिकले नागरिकता नपाउनुको पीडा आफूलाई राम्ररी जानकारी रहेको बताए। उनले भने, ‘कुनै पनि नेपाली नागरिक नेपाली नागरिकताबाट वञ्चित हुनु हुँदैन। त्यो उसको नैसर्गिक अधिकार हो।’ उनले जन्मसिद्ध नेपाली नागरिकका सन्तान र एकल आमाका सन्तानका नागरिकका अधिकार सुनिश्चित हुनुपर्ने बताए।

उनले भने, ‘वैवाहिक अंगीकृतका विषयमा मौन रहेका हुनाले यसबारेमा छलफल चलाउन खोजिएको हो। एकल आमाका सन्तानले नागरिकता लिँदा आमाले बाबुको पहिचान नै नखुलेको स्वघोषणा गर्ने व्यवस्था हाम्रा आमा दिदीबहिनीहरूको आत्मसम्मान विपरीत छैन यो?’

उनले यस्ता प्रश्नहरूका विषयमा पनि आफ्नो पार्टीले छलफल गर्न चाहेको स्पष्ट पारे। सभापति लामिछानेले भने, ‘विधेयक संसद्‌मा आएको भए हामी छलफल गर्दथ्यौँ। स्वामित्व लिन्थ्यौँ तर जसरी जुन बाटोबाट प्रमाणीकरण भयो जम्मा हाम्रो विमति छ।’

लामिछानेले सदनमा आएर छलफल भएको भए विधेयकमा भएका विभेदका विषयमा छलफल गर्न सकिने उनको भनाइ छ। उनले भने, ‘महिला र पुरुषलाई विभेद गरिएको छ वैवाहिक अंगीकृतका विषयमा, त्यसमा पनि हामी हाम्रो धारणा राख्ने थियौँ। अनि दूधको दूध पानीको पानी थाहा हुन्थ्यो।’ लामिछानेले नागरिकता विधेयकका पक्ष विपक्षमा कोको थियो भन्ने विषयमा पनि सदनमै जानकारी हुने बताए।

उनले भने, ‘गलत बाटोबाट गएका हुनाले गलत मानिसको पुतला जलाइएको छ भन्ने जानकारी गराउन चाहन्छु।’

प्रकाशित: २५ जेठ २०८० १४:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − ten =