गौतमको गुन तिर्लान् त ओलीले!

हिमाल प्रेस २४ जेठ २०८० १९:०५
32
SHARES
गौतमको गुन तिर्लान् त ओलीले!

काठमाडौँ- एमाले अध्यक्ष केपी शर्मा ओली र वामदेव गौतमको सम्बन्ध नजिकिन थालेको छ। राष्ट्रियसभा सदस्य रहेका गौतमले पार्टी नेतृत्वले बोलाएमा आफू एमालेमा फर्कने बताएका छन् भने अध्यक्ष ओलीले पनि सकारात्मक प्रतिक्रिया दिएका छन्। गौतमले बुधबार संसद् भवन परिसरमा भने, ‘मलाई खबर गर्नुभयो। तपाईँ आउनुपर्‍यो भन्नुभयो भने म र मसित रहेका जेजति साथीहरू छन् त्यो लिएर त्यहाँ एकीकृत हुन हामी जान्छौँ। यही अवस्थामा जान्छौँ। अरू केही पर्दैन अब।’

गौतमको यस्तो भनाइका बारेमा ओलीले पनि सकारात्मक जबाफ दिएका छन्। उनले पनि संसद् भवन परिसरमै सञ्चारकर्मीसँग भने, ‘उहाँले बीचमा पार्टी होइन एउटा फोरम बनाउनुभयो। एकता अभियान चलाउनुभयो। त्यो अभियान मात्रै हो। पार्टी खोलेको होइन। एमालेमा जान्छु भन्नुभएको छ। त्यो ठिक छ। उहाँको पार्टी सदस्यता एमालेमै छ।’

दुवै नेताले एकअर्का नजिक हुँदै गएको संकेत गरे पनि उनीहरूबीच पुनर्मिलनका लागि भएको संवादका बारेमा औपचारिक जानकारी सार्वजनिक भएको छैन। एमालेमा रहँदा गौतमले पटकपटक ओलीलाई साथ दिएका थिए। त्यसैले गौतम जिम्मेवार भूमिका पाएमा पार्टीमा फर्कन सक्ने कतिपयको बुझाइ छ।

गौतम एमालेमा रहँदा लामो समय पार्टीभित्र विपक्षीजस्तो भूमिकामा थिए। आफू विपक्षीजस्तो भए पनि कुनै बेला केपी शर्मा ओलीलाई पार्टी र सरकारको प्रमुख बन्ने वातावरण बनाउन गौतमले निर्णायक भूमिका खेलेको एमाले वृत्तमा ताजै छ।

२०७० सालमा भएको संसदीय दलको चुनावमा अध्यक्ष झलनाथ खनाललाई २३ मतको अन्तरमा हराएर ओली नेता बनेका थिए। त्यति बेला उपाध्यक्ष रहेका गौतम पार्टीभित्र निर्णायक मानिएका थिए। नेतृत्व हस्तान्तरणको मुद्दा अघि सार्दै ओली र गौतमबीच सहमति भएको थियो।

पार्टीको नवौँ महाधिवेशनमा नेता माधवकुमार नेपाललाई ओलीले हराएका थिए। त्यसमा पनि गौतमकै काँध थियो। सोही महाधिवेशनबाट पार्टी प्रमुख बनेका ओली तीनपटक प्रधानमन्त्री भइसकेका छन्। पार्टी विधानमा रहेको उमेर हद ७० वर्षलाई संशोधन गरेर ओलीले फेरि अध्यक्ष बन्ने बाटो खुलाएका छन्। एमालेमा ओली शक्तिशाली बनिरहँदा गौतम भने राष्ट्रियसभा सदस्यमा सीमित छन्। माओवादी र एमालेबीच खटपट पर्दा गौतमले मध्यस्थता गरेका थिए।

झलनाथ खनाल र माधव नेपाललाई प्रधानमन्त्री बनाउन पनि गौतमको विशेष योगदान छ। २०६४ सालको संविधानसभा चुनावमा दुई ठाउँबाट निर्वाचन हारेका माधवकुमार नेपाल गौतमकै पहलमा प्रधानमन्त्री बनेका थिए।

२०६६ सालमा प्रचण्ड सरकार ढलेपछि एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्रीका दाबेदार थिए। तर गौतमले मनोनीत कोटामा संविधानसभा सदस्य बनेका नेपाललाई प्रस्ताव गरे। सोही प्रस्तावमा नेपाल प्रधानमन्त्री बने। नेपालले २०६७ माघ २२ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए।

नेपालले राजीनामा दिएपछि गौतमले अध्यक्ष खनाललाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरे। माओवादी अध्यक्ष दाहालले पनि समर्थन गरेपछि एमाले अध्यक्ष खनाल प्रधानमन्त्री बनेका थिए। २०७० सालमा दोस्रो संविधानसभाको निर्वाचन भएपछि एमाले दोस्रो ठूलो पार्टी बनेको थियो। गौतमको प्रस्तावमा ओली संसदीय दलको नेतामा निर्वाचित भएका थिए। ओली २०७३ सालमा प्रधानमन्त्री बन्दासम्म गौतमले साथ दिएका थिए। त्यसपछि उनीहरूबीच मनमुटाव बढेको थियो।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि गौतम पछाडि परेका थिए। यद्यपि नेकपा कालमा उपाध्यक्ष बनेका उनले राष्ट्रियसभा सदस्य निर्वाचित भएका थिए। एमालेमा रहँदा मध्यस्थताको भूमिका खेलेका गौतमको सरकार वा पार्टीको कार्यकारी बन्ने चाहना भने पूरा हुन सकेको छैन।

नेकपामा विवाद भएका बेला बिस्तारै पार्टी भूमिकाबाट टाढा पुगेका गौतमले पार्टी एकीकरण अभियान जारी राखेका थिए। तर एकीकरण अभियान सफल बनाउन नसकेपछि उनी एमालेमै फर्कने मनस्थितिमा पुगेको बताइएको छ।

प्रकाशित: २४ जेठ २०८० १९:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − nine =