डीएसपी बढुवा सिफारिसमा एआईजी हाबी हुँदा चुलियो असन्तुष्टि

हिमाल प्रेस २४ जेठ २०८० १४:३२
2.6k
SHARES
डीएसपी बढुवा सिफारिसमा एआईजी हाबी हुँदा चुलियो असन्तुष्टि प्रहरी प्रधान कार्यालय

काठमाडौँ- पछिल्लो समय नेपाल प्रहरीले माथिल्लो तहका अधिकारीहरूको धमाधम बढुवा र सरुवा निकालिरहेको छ। यहीक्रममा जेठ २२ गते ४६ जना इन्स्पेक्टरलाई डीएसपीमा बढुवा गर्न सिफारिस सिमितिले सिफारिस गर्‍यो। प्रहरी बढुवा हरेकपटक विवादमा तानिने गरेको छ। यसपटक पनि त्यस्तै भयो। यसपटकको डीएसपी बढुवा सिफारिसमा मानव स्रोत विकास विभागका प्रमुख एआईजी सन्दीप भण्डारीले हालीमुहाली गरेको भन्दै असन्तुष्टि बढेको छ।

आईजीपी बसन्तबहादुर कुँवरले भण्डारीलाई यसबारे व्यवस्थापन गर्न जिम्मा दिएका थिए। भण्डारीले बढुवा सिफारिसमा कार्यसम्पादन मूल्यांकनलाई ध्यान नदिएको आरोप बढुवा सिफारिसमै परेका केही इन्स्पेक्टरको गुनासो छ।

‘हुन त मेरो पनि नाम बढुवा सिफारिसमा परेको छ। तर सिफारिसमा फिल्डमा खटिएर राम्रो काम गरेकाहरू भन्दा हाकिमका नजिक फाइल यताको उता, उताको यता सार्नेले बाजी मारे,’ ती इन्स्पेक्टरले भने, ‘केही राम्रो काम गर्ने इन्स्पेक्टर सा’पहरू अगाडि नम्बरमै हुनुहुन्छ तर केही फाइलमात्रै ओसार्नेहरू क्रमसंख्यामा अगाडि राखिएको देखियो। यो राम्रो होइन।’

आईजीपीका नजिक रहेका र गृहमन्त्री नारायणकाजी श्रेष्ठको गृहजिल्ला गोरखा घर भएका इन्स्पेक्टरहरू बढुवा सिफारिसमा प्राथमिकतामा परेको गुनासो छ।

जेठ २२ गते बढुवा सिफारिस भएकाहरूविरुद्ध कुनै उजुरी परेन भने जेठ २९ गतेसम्म उनीहरू डीएसपी बन्नेछन्। बढुवा सिफारिस समितिले सिफारिस गरेको मितिले ७ दिनभित्र उजुरी दिन सकिने व्यवस्था छ। यसपटक डीएसपी बन्नका लागि १४६ जना इन्स्पेक्टरहरूबीच प्रतिस्पर्धा चलेको थियो।

यो पनि 

यी हुन् डीएसपीमा बढुवा सिफारिस हुने ४६ इन्स्पेक्टर [सूचीसहित]

 

प्रकाशित: २४ जेठ २०८० १४:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − five =