हिउँपहिरोमा बेपत्ता भएका यार्सा संकलकको शव ३२ दिनपछि फेला

हिमाल प्रेस २४ जेठ २०८० १३:३०
8
SHARES
हिउँपहिरोमा बेपत्ता भएका यार्सा संकलकको शव ३२ दिनपछि फेला फाइल तस्बिर।

मुगु– हिउँपहिरोमा बेपत्ता भएका ३ जना यार्सा संकलक ३२ दिनपछि मृतावस्थामा फेला परेका छन्।

मुगुको पाटनमा यार्सागुम्वा टिप्न गएका जुम्लाको पातारासी गाउँपालिका-२ तल्फि गाउँका १५ जनामध्ये ४० वर्षीय तारासिंह सार्की, ३५ वर्षीय पुन्न सार्की र ३५ वर्षीय वीर बोहोराको शव सोमबार फेला परेको मुगुस्थित जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) महेश बस्नेतले जानकारी दिए।

मुगुको मुगुम कार्मारोङ गाउँपालिका-२ च्यार्खु लेखमा वैशाख २२ गते यार्सा संकलन गर्न गएका उनीहरू हिउँपहिरोमा परी बेपत्ता भएका थिए।

बेपत्तामा परेका उनीहरूलाई जिल्ला प्रशासन कार्यालय र पातारासी गाउँपालिकाको समन्वयमा कर्णाली प्रदेश सरकारले हेलिकप्टरसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको टोलीले २ हप्तासम्म खोजी गर्दा शव फेला परेको डीएसपी थापाको भनाइ छ।

लगातारको हिमपातका कारण पाटनलगायत हिमालमा बाक्लो हिउँ जमेकाले खोजी कार्यमा समस्या भएको उनले जनाए।

‘बेपत्ता भएका ३ जनाको शव घटनास्थलभन्दा २ किलोमिटर तल ल्याएका हौं,’ उनले भने।

शव परीक्षणका लागि जिल्ला अस्पताल मुगुबाट चिकित्सकको टोली शव राखिएको स्थानमा पुगेर परीक्षण गरेपछि मृतकका आफन्तलाई शव बुझाइ दाहसंस्कार गरिएको उनले जानकारी दिए। -रासस

प्रकाशित: २४ जेठ २०८० १३:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =