बालबालिकालाई श्रममा लगाएकाे पाइएमा कारबाही गर्ने काठमाडौँ महानगरको चेतावनी

हिमाल प्रेस २३ जेठ २०८० १४:५१
2
SHARE
बालबालिकालाई श्रममा लगाएकाे पाइएमा कारबाही गर्ने काठमाडौँ महानगरको चेतावनी काठमाडौँ महानगर

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले बालबालिकालाई जोखिमपूर्ण श्रममा लगाइएको भेटेमा कारबाही गर्ने भएको छ। महानगरले मंगलबार सूचना जारी गर्दै महानगरभित्र कसैले पनि कानुनविपरीत बालबालिकालाई श्रममा संलग्न गराएको पाएमा कारबाही गर्ने चेतावनी दिएको हो।

कोही कसैले बालबालिकालाई जोखिमपूर्ण श्रममा लगाएको भए जानकारी गराउन पनि महानगरले अनुरोध गरेको छ। १८ वर्ष उमेरसम्मका बालबालिकालाई कसैले जाेखिमपूर्ण श्रममा लगाएको भए १५ दिनभित्र जानकारी गराउन महानगरले सूचनामा उल्लेख गरेको छ।

नियम विपरीत घर तथा होटल, ग्यारेज, गाडी, कलकारखानामा बालश्रम गराएको भेटिएमा महानगरको सामाजिक विकास विभागमा जानकारी दिन सकिने उक्त सूचनामा उल्लेख छ।

कोही कसैले आफ्नो घरमा वा साथमा राखेको भएमा विभाग, वडा कार्यालय वा महानगरको ‘केएमसी एप’मार्फत पनि सूचीकरण हुन महानगरले आग्रह गरेको छ।

सूचनाअनुसार १५ दिनभित्र सूचीकृत हुन नआएमा घरेलु बालश्रम राखेको मानेर प्रचलित कानुनअनुसार कारबाही गर्ने महानगरपालिको चेतावनी छ। बालश्रम निषेध गर्ने ऐन २०५६ को दफा ५ अनुसार १४ वर्षमुनिका बालबालिकालाई कुनै पनि प्रकारको बालश्रममा लगाउन नपाइने र १८ वर्षमुनिका बालबालिकालाई जोखिमपूर्ण श्रममा लगाउन प्रतिबन्ध गरिएको छ। रासस

प्रकाशित: २३ जेठ २०८० १४:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + two =