कूटनीतिक संयन्त्रमार्फत सीमासम्बन्धी समस्या समाधान गर्न मोदीलाई आग्रह गरेँ : प्रचण्ड

हिमाल प्रेस २२ जेठ २०८० १२:२५
6
SHARES
कूटनीतिक संयन्त्रमार्फत सीमासम्बन्धी समस्या समाधान गर्न मोदीलाई आग्रह गरेँ : प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले नेपाल-भारतबीचको सीमासम्बन्धी विषयलाई स्थापित कूटनीतिक संयन्त्रमार्फत समाधान गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गम्भीर ढंगले आग्रह गरेको जानकारी दिएका छन्।

प्रतिनिधिसभा बैठकमा सोमबार आफ्नो भारतको चार दिने औपचारिक भ्रमणबारे जानकारी गराउँदै प्रधानमन्त्री दाहालले यस्तो जानकारी दिएका हुन्।

उनले दुई मुलुकबीचको सीमालगायतका थाती रहेका सबै समस्याको समाधान गरिनेछ भनेर भारतीय प्रधानमन्त्री मोदीले सीमासम्बन्धी हालसम्मका स्पष्ट विचार राखेको पहिलो पटक भएको दाबीसमेत प्रधानमन्त्रीले गरे। प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री मोदीले संयुक्त पत्रकार सम्बोधनका अवसरमा दिएको सीमासम्बन्धी समस्या समाधान गर्ने अभिव्यक्तिलाई आफूले सकारात्मक लिएको पनि बताए।

आफूले भारतीय प्रधानमन्त्री मोदीसँग गम्भीर रूपले सीमा समस्या समाधानका विषयमा कुरा गरेको प्रचण्डले जिकिरसमेत गरे।

‘भेटवार्तामा सीमासम्बन्धी विषयहरूमा गम्भीर रूपले छलफल भएको छ। सीमासम्बन्धी विषयलाई स्थापित कूटनीतिक संयन्त्रमार्फत समाधान गर्न भारतका प्रधानमन्त्रीलाई मैले गम्भीर ढंगले आग्रह गरेको छु। प्रधानमन्त्री मोदीजीले पनि संयुक्त प्रेस मिटका अवसरमा सीमालगायतका थाती रहेका सबै समस्या समाधान गरिनेछ भन्ने कुरा स्पष्ट शब्दमा राख्नुभएको छ। लामो समयपछि भारतीय प्रधानमन्त्रीबाट सीमासम्बन्धी विषयमा स्पष्ट विचार आएको यो पहिलो र सकारात्मक अभिव्यक्ति हो,’ उनले भने।

प्रकाशित: २२ जेठ २०८० १२:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 15 =