प्रधानमन्त्रीको भारत भ्रमण : सुदूरपश्चिममा पूर्वाधार बन्ने आशा

हिमाल प्रेस २१ जेठ २०८० १५:२५
4
SHARES
प्रधानमन्त्रीको भारत भ्रमण : सुदूरपश्चिममा पूर्वाधार बन्ने आशा

महेन्द्रनगर- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा कञ्चनपुरको दोधारा चादँनीमा डेढ दशकअघि प्रस्ताव भएको सुक्खा बन्दरगाह आगामी तीन वर्षमा बनाउने सहमतिपत्र (ओएमयू) मा हस्ताक्षर भएको छ।

डडेलधुराकाे शीर्ष र बैतडीको झुलाघाटमा महाकाली नदीमाथि पक्की पुल बनाउने सम्झौता भएको छ। त्यसका साथै भारतले बन्दरगाह बनाइदिने विषयमा सम्झौता भएपछि स्थानीय हर्षित छन्।

मन्त्रिपरिषद्‌बाट सुक्खा बन्दरगाहको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) स्वीकृत भइसकेको छ भने परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनिरहेको छ। सुक्खा बन्दरगाह बनाउने विषय पनि भ्रमणका क्रममा सहमति गरिएको छ। यी विषयले सुदूरपश्चिमका बासिन्दामा आशाको सञ्चार गराएको छ।

सुक्खा बन्दरगाहले कञ्चनपुरलाई नेपाल-भारत र चीनबीचको त्रिदेशीय नाकाका रूपमा विकास गर्दा सुदूरपश्चिमको कायापलट नै हुनेछ। भारतसँग धेरै विषयमा सन्धि र सम्झौता भए पनि कार्यान्वयनको पाटो सकारात्मक छैन। यसले गर्दा स्थानीयबासीमा कार्यान्वयन नहुने आशांका भने छँदैछ।

सुदूरपश्चिमका नागरिकको रोजगारीको प्रमुख गन्तव्य भारत हो। पहाडी जिल्लाका नागरिकले भारत जान कञ्चनपुरको गड्डाचौकी र कैलालीको गौरीफन्टा नाका बढी प्रयोग गर्छन्।

नेपालसँग कनेक्टिभिटी बढाउन भारतीय प्रधानमन्त्री मोदीले शीर्ष र झुलाघाटमा पुल बनाउने घोषणा गरेपछि बैतडी, डडेलधुरालगायत जिल्लाका नागरिक यातायातमा थप सहजता हुनेमा आशावादी देखिएका छन्।

नेपाल-भारत यातायात सुविधालाई सहज बनाउने उद्देश्यले गत असोजदेखि दार्चुलाको महाकाली नगरपालिका-८, असिगडामा पुल निर्माण हुँदैछ। उक्त पुल निर्माणको तत्कालीन उद्योग वाणिज्य तथा आपूति मन्त्री दीलेन्द्रप्रसाद बडू र भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले उद्घाटन गरेका थिए।

प्रतिनिधिसभाको निर्वाचनको प्रचारका क्रममा जोगबुढा पुगेका तत्कालीन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावी कार्यक्रममा शीर्ष नाकामा पुल निर्माण गर्ने विषयमा भारतीय प्रधानमन्त्रीसँग कुराकानी भएको बताएका थिए।

डडेलधुराको परशुराम नगरपालिकाका नगरप्रमुख भरत वडायर जोशी शीर्षमा पुल समयमै बन्नेमा आशावादी रहेको बताउँछन्। ‘प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्रीसम्मको चासो भएकाले शीर्षमा पुल समयमै बन्नेमा ढुक्क छौँ।’ अहिले शीर्षमा डुंगाबाट जोखिम मोलेर स्थानीयले महाकाली तरिरहेका छन्।

नगरप्रमुख जोशीले शीर्षमा पुल बने डडेलधुरासँगै अन्य पहाडी जिल्लाका नागरिकलाई पनि भारत जान आउन दूरीका हिसाबले नजिक पर्ने बताए। उनका अनुसार वारी परशुराम धाम र पारी भारतको पूर्णागिरी मन्दिर पर्ने भएकाले धार्मिक पर्यटनका हिसाबले पनि पुल बने दुवै पक्षलाई लाभ हुनेछ।

त्यस्तै बैतडीकाे झुलाघाटमा पनि पक्की पुल बन्रे भएकाे छ। झुलाघाटमा पक्की पुल बनाउने विषय दलहरूले चुनावी एजेन्डा बनाउँदै आएका थिए। पुलको माग गर्दै निजी क्षेत्रले पनि दबाब दिँदै आएकाे थियाे।

झुलाघाटमा वर्षौँ पुरानो जीर्ण बनेको झोलुंगे पुलबाट जोखिमपूर्ण आवतजावत गर्न बाध्य यस क्षेत्रका नागरिक मोटरेबल पुल बन्ने भएपछि खुसी भएका छन्। उनीहरूले यो योजना छिट्टै कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन्।

नाकामा मोटरेबल पुल निर्माण भएमा बैतडी र डडेलधुरा मात्रै नभएर सुदूरपश्चिम क्षेत्रकै आर्थिक गतिविधिमा सुधार आउने र दुई देशको व्यापारिक सम्बन्ध पनि विस्तार हुने विश्वास लिइएको छ।

कञ्चनपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा सुदूरपश्चिम क्षेत्रलाई महत्त्वमा राखिएको विषय सकरात्मक रहेको बताए। ‘भारतीय प्रधानमन्त्रीले घोषणा गरेको शीर्ष र झुलाघाट बन्यो भने यातायात सुविधासँगै आर्थिक रूपले पनि सबल हुने अवस्था सृजना हुनेछ,’ उनले भने।

मल्लका अनुसार भारतले बनाइदिने भनेको सुक्खा बन्दरगाह निर्माण भएपछि सुदूरको आर्थिक समृद्धिको ग्राफ निकै माथि आउने छ। सुदूरपश्चिम विश्वविद्यालयका पूर्वडीन डा. टेकराज पन्तले प्रधानमन्त्रीको भारत भ्रमणमा भएका सम्झौता र मिलेका आश्वासन पूरा हुनेमा विश्वस्त रहेको बताए। उनले भने, ‘भारतको समेत समान स्वार्थ जोडिएकाले अवश्य पनि कार्यान्वयन हुनेमा आशावादी छु।’

– रासस

प्रकाशित: २१ जेठ २०८० १५:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − two =