भारतमा गेरुवस्त्र लगाएकोबारे प्रचण्ड : म वास्तवमा मनैदेखि धर्मनिरपेक्षतावादी हुँ

हिमाल प्रेस २० जेठ २०८० २०:३७
2
SHARE
भारतमा गेरुवस्त्र लगाएकोबारे प्रचण्ड : म वास्तवमा मनैदेखि धर्मनिरपेक्षतावादी हुँ

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको उज्जेन सहरको महाकालेश्वर मन्दिरमा गएकोबारे प्रतिक्रिया दिएका छन्। शनिबार साँझ स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै उनले उज्जेनमा गरिएको पूजाबारे स्पष्ट पार्न खोजेका हुन्।

‘उज्जेन गएर गेरुवस्त्र लगाएको मेरो नयाँ अवतार होइन, मेरै पुरानै अवतार हो,’ उनले भने, ‘केही नयाँ ठान्नु पर्दैन यसलाई।’

उनले आफू मुस्लिम समुदायमा गएर मुस्लिम टोपी लगाएर धेरैचोटी मद्रासाहरूमा गएको पनि बताए। साथै क्रिस्चियनको गिरिजाघरमा गएर जप गरेको पनि उनको भनाइ थियो।

लुम्बिनी गएर बुद्धिस्टहरूको कार्यक्रममा पनि सभागी भएको भन्दै उनले उज्जेनमा लगाएको गेरुवस्त्रलाई सामान्य रूपमा लिन आग्रह गरे।

सबै धर्मका धार्मिक कार्यक्रमहरूमा सहभागी हुने गरेको भन्दै उनले धर्म निरपेक्ष भनेको धर्मविरोध नभएको स्पष्ट पारे। ‘म वास्तवमा मनैदेखि धर्मनिरपेक्षतावादी हो। धर्मनिरपेक्षता भनेको धर्मविरोधी होइन,’ उनले भने, ‘धर्मनिरपेक्षतावादी भएको हुनाले हिन्दु, मुस्लिम, क्रिस्चियनसबैसँग समान व्यवहार गर्नुपर्छ। इन्दौर जान हुने, नजिकैको सांस्कृतिक सहर उज्जेनमा जान नहुने भन्ने त हुँदैन।’

प्रधानमन्त्री प्रचण्डले यस पटकको भारत भ्रमण विगतको तुलनामा परिणाममुखी र कामकाजी भएको पनि बताए।

प्रकाशित: २० जेठ २०८० २०:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =