अन्तर्वार्ता

भूमि सट्टापट्टा गरेर भए पनि सीमा समस्या समाधान गरिनेछ : प्रचण्ड

छिमेक पहिलो नीतिमा अडेर नेपाल-भारतबीचका सबै समस्या समाधान गर्न माेदी तयार  

रासस २० जेठ २०८० १७:५७
26
SHARES
भूमि सट्टापट्टा गरेर भए पनि सीमा समस्या समाधान गरिनेछ : प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चारदिने औपचारिक भ्रमण सम्पनन गरेर केही बेरमा काठमाडौँ ओर्लदैछन्। भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच ‘वान अन वान’ र प्रतिनिधिमण्डलस्तरमा वार्ता भए। नेपाल र भारतबीच विभिन्न  द्विपक्षीय सम्झौता एवं समझदारी पनि भए। ऊर्जा व्यापार र अन्तरदेशीय प्रसारण लाइन निर्माण, अन्तरदेशीय भुक्तानी, नेपालमा आर्थिक पूर्वाधार निर्माण, पारवहन सन्धि नवीकरणलगायत मसिना सम्झौताहरू भए। दुई देशकाे सम्बन्ध थप उचाईमा लैजान सहकार्य  गर्ने सहमति पनि भएको छ। यही पृष्ठभूमीमा भ्रमणमा रहेका रासस प्रतिनिधिले प्रधानमनत्री ‘प्रचण्ड’सँग गरेको कुराकानीको संपादित अंश:
यहाँको यो चौथो भारत भ्रमण हो। यसपटकको भ्रमणलाई यहाँले कसरी मूल्यांकन गर्नुभएको छ? 
यो भ्रमण पहिलेका तुलनामा बढी फलदायी, दूरगामी प्रभाव पार्ने, नेपालको राष्ट्रिय हितमा केन्द्रित रह्यो। मुख्यतः आर्थिक क्रियाकलापमा सकारात्मक सन्देश दिन सफल भ्रमणका रूपमा मैले महसुस गरेको छु।
सफलताका आधारहरू पनि भनिदिनुहुन्छ की? 
पहिलो, भारतीय प्रधानमन्त्री मोदी र मेरा बीचमा खुलेर जसरी कुरा भयो, एउटा विश्वासको वातावरण बन्यो। त्यो स्तरमा विगतमा खुलेर कुराकानी त्यति हुने गर्दैनथ्यो। यो हिसाबले पनि यसलाई मैले भिन्न र मौलिक ठानेको छु। तीन पटक नै ‘वान अन वान’ वार्ता भएको त होइन, ‘वान अन वान’ त एक पटक नै हो। अरु कार्यक्रममा जाने क्रममा पाँच–सात मिनेट हामी दुई जना मात्रै बसेर कुरा गर्ने अवसर मिलेको हो। त्यसअर्थमा पनि हरेक पटक अलि खुलेर विश्वासको वातावरण बनाउने र केही परिणाम निस्कने किसिमले जानुपर्छ भन्ने बन्यो।
दोस्रो, हामीकहाँ समस्या भनेर भन्ने गरिराखेका थियौँ, नेपाली जनताको मनमा पनि त्यो कुरा गहिरोसँग थियो । सीमा समस्या हल हुन्छ कि हुँदैन, के होला भन्ने प्रश्न थियो, छ पनि, त्यसमा यसपटकको नयाँपन के देखियो भने सिमानाको समस्या सदाका निम्ति हल गर्नुपर्छ, भन्ने कुरा भयो। प्रधानमन्त्री मोदीले संयुक्त पत्रकार सम्मेलनमा मैलेभन्दा पनि पहिले सिमानाका समस्या समाधान गर्नुपर्छ भनेर बोल्नुभयो। नेपाल-भारत सम्बन्धलाई हिमालयको उचाइसम्म पुर्‍याउनुपर्छ भन्ने जसरी राखियो, त्यसले नयाँ सन्देश दिएको छ।
उहाँले त सम्बन्धलाई ‘सुपरहिट’ बनाउने र हिमालजस्तै उचाइ दिने भन्नुभएको छ। नेपाल भ्रमणमा पनि भन्नु भएकै हो। यसको अर्थ के हुन सक्छ ?
उहाँ पहिलो पटक सन् २०१४ मा नेपाल भ्रमणका क्रममा सदनमा बोल्दा ‘हिट’को अर्थ लगाएर नेपाल–भारत सम्बन्धको चर्चा गर्नुभएको हो। बीचमा जुन ‘गति’मा जानुपर्थ्याे, गएन। अब त्यसलाई ‘सुपरहिट’ बनाउनुपर्छ भनेर उहाँले त्यतिबेलाको आफ्नो सफल भ्रमणलाई जोडेर भन्नुभएको मैले महसुस गरेको छु। नेपाल–भारत सम्बन्धलाई धेरै नै माथि लानुपर्छ भनेर भन्ने नै त्यसको अर्थ हो।

सिमानाका समस्या समाधान गर्नुपर्छ, यसलाई अड्काइराख्नु हुँदैन भन्नेमा दुवै देश एउटास्तरमा आइपुग्नु नै ठूलो कुरा लाग्छ। प्रधानमन्त्री मोदी र मेराबीचमा कुरा हुँदा भारत र बंगलादेशले सीमा समस्या हल गरेको चर्चा हामीले गरेकै हो।
स्वयं प्रधानमन्त्री मोदीले लामो समयको मेहनत र गृहकार्यपछि त्यो सफलता प्राप्त भएको बताउनुभयो।  नेपाल-भारतबीचको सीमा समस्यालाई राखिराख्न हुँदैन भन्दै समाधान गर्ने बताउनुभएको छ। बंगलादेश मोडल पनि एउटा अवसर हुनसक्छ। त्यो मोडल भनेको ल्यान्ड स्वाप गर्ने हो। एक स्थानको ल्याण्डको सट्टा अर्को स्थान दिन भारत तयार हुनुपर्‍यो। वा, नेपालले इतिहासको तथ्यतथ्यांकका आधारमा आफ्नो भनेको भूमिलाई भारतले छाड्दा पनि समाधान हुने कुरा सुनाएको छु।
धेरै ठाउँमा अप्ठ्यारो पर्‍यो भने सट्टपट्टा गर्ने चलन पनि छ। तर अहिले नै यी विकल्पबारे हामी औपचारिक ढंगले प्रवेश गरेका छैनौँ। नेपालमा पनि केही सीमासम्बन्धी जानकारले बंगलाेदेश जाने बाटो हामीलाई दिने हो भने समस्या समाधान भइहाल्छ भनेर ल्याउने गर्नुभएको छ। तर यी विकल्प अहिले भारत सरकारसँग औपचारिकरूपले प्रवेश गरेका विषय होइनन् । जे भए पनि सिमानाका समस्या अब हल गर्नुपर्छ भन्ने प्रतिबद्धताको तह अहिले नेपाल–भारतको अर्को उचाइमा पुगेको छ। यो सत्य हो।
भारतसँगको विद्युत् व्यापारमा केही महत्त्वपूर्ण निर्णय भएका छन्, १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गरेर बिक्री गर्ने अवस्था सिर्जना भएकै हो त? 
नेपालमा लामो समयदेखि बिजुली उत्पादन गर्ने तर बजारको सुनिश्चित नहुँदा उत्पादन मात्रै गरेर के हुन्छ भन्ने प्रश्न लगानीकर्ता र नेपाली विज्ञको मनमा रहँदै आएको प्रश्न हो। भारतसँग दीर्घकालीन व्यापार सम्झौता होस् भन्ने नेपालको चाहना हो। यसपटक त्यो विषयमा सम्झौता सम्पन्न भयो। १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद गर्ने स्वयं भारतीय प्रधानमन्त्री मोदीले आफैले प्रष्ट भाषामा भन्नुभयो। त्यसको औपचारिकता करिबकरिब केही दिनभित्र सबै टुंगिन्छ। यसलाई मैले भ्रमणको ठूलो उपलब्धिको रूपमा लिएको छु।
बजारको सुनिश्चिताको अभावले लगानीकर्तालाई लगानी गर्न जुन समस्या हुन्थ्यो, त्यो अब रहेन। अब हामीले छिटोछिटो उत्पादन गर्ने दिशातर्फ जान सकिन्छ भन्ने मलाई लाग्छ। पश्चेश्वर बहुउद्देश्यीय आयोजनाको तीन महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने, एक वर्षमा मोडालिटी निर्माण गर्ने भनेर भनिएको छ, त्यसलाई संयुक्त रूपले घोषणा गरिएको छ। २६ वर्षदेखि रोकिएको कामलाई नयाँ ढंगले अगाडि बढाउने प्रक्रिया सुरु भएको छ।
नेपाल, भारत र बंगलादेशका बीचमा विद्युत् व्यापारका सम्बन्धमा जे सहमति बन्यो। भारत र बंगलादेश, नेपाल र बंगलादेश, नेपाल र भारतबीच सबैका बीचमा सहमति भइसकेको छ। यो पनि नेपालको विद्युत् व्यापारका क्षेत्रमा यसले धेरै महत्वपूर्ण भूमिका खेल्छ। यो नेपालको राष्ट्रिय हितमा भएको अर्को महत्वपूर्ण उपलब्धि हो।
१० हजार मेगावाट विद्युत् खरिद गर्ने घोषणा केबल घोषणामै सीमित हुने हो कि भन्ने आशंका उब्जेको छ, यो कसरी अगाडि बढ्छ?
यसमा कसैले पनि आशंका गर्ने कुनै ठाउँ छैन। दुईवटा प्रधानमन्त्रीले औपचारिक वार्तापछि आयोजित पत्रकार सम्मेलनमा घोषणा गरिएको हो। भारतले केही प्राविधिक कारणबाट ‘क्याबिनेट’ बैठक बस्न बाँकी हो भनेर हामीलाई विश्वास दिलाएको छ। प्रधानमन्त्री मोदीजस्तो शक्तिशाली नेताले घोषणा गरेको कुरामा शंका गर्नु हाम्रै कमीकमजोरीजस्तो हुन्छ।
हवाई प्रवेश विन्दुको विषय नेपालले उठाएको थियो, यस सन्दर्भमा के कुराकानी भयो?
एयर रुटकाे विषय नेपालले धेरै पहिलेदेखि उठाउँदै आएको विषय हो। यसपटक पनि मैले धेरै तयारीका सन्दर्भमा पनि सम्बन्धित मन्त्रालय र अधिकारीलाई यस विषयमा छलफल गर्न पहिले पनि दिल्ली पठाएको हो। कुराकानी पनि भएको हो। सिमराबाहेक हामीलाई सिधैँ अन्तर्राष्ट्रिय एयर रुटका रूपमा कम्तीमा एउटा रुट दिन भनेको हो। त्यहीस्तरमा त यो पुगेन अहिले, तर कम ‘अल्टिच्यूड’का जहाज भारतका विभिन्न सहर र नेपालगञ्ज जोड्ने भन्ने भएको छ, यो प्रारम्भिक राम्रो संकेत चाँही हो।
भारतको सबैभन्दा सफा सहर इन्दौरको भ्रमण गर्नुभयो, यहाँको फोहर व्यवस्थापनसम्बन्धी अभ्यासबारे पनि जानकारी लिनुभयो। यसबाट केही सिक्न सकिन्छ कि? 
इन्दौर भारतकै प्रमुख सफा सहरमा दर्ज भएको छ। इन्दौरबाट केही सिक्न सकिन्छ हेरौँ भन्ने उद्देश्यबाट पुगिएको हो। हिजो हामीले त्यसको अवलोकन पनि गर्‍याैँ। प्रस्तुति पनि हेरियो। यसबाट हामीले पाठ सिक्ने कुरा छन्। मैले के महसुस गरेँ भने सबैभन्दा ठूलो कुरा सरकारको प्रतिबद्धता हो।
सरकार कति दृढ इच्छाशक्तिका साथ अगाडि जान चाहन्छ भन्ने महत्त्वपूर्ण देखेँ। मध्यप्रदेश सरकार र इन्दौर नगरपालिकाको जुन पहलकदमी र प्रतिबद्धता देखेँ, यो धेरै ठूलो हो। सफा सहर बनाउन हरव्यक्तिले मेहनत गर्नुपर्छ भन्ने मनोभावना र चेतना पैदा गर्ने कुरा महत्वपूर्ण रहेछ। हाम्रा सन्दर्भमा आमजनतामा चेतना ल्याउनुपर्छ भन्नेमा पनि यो सम्बन्धित छ।
प्रकाशित: २० जेठ २०८० १७:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =