अमेरिका र चीनबीचको बढ्दो प्रतिद्वन्द्विताले एसियामा कस्तो प्रभाव पारेको छ? यसको जवाफ खोज्दा सिंगापुरका प्रधानमन्त्री ली सेन लुङले दिएको अभिव्यक्ति पनि याद गर्नैपर्छ। सन् २०१९ को सांग्रिला डायलगलाई सम्बोधन गर्दा लुङले भनेका थिए, ‘दुई हात्तीले झगडा गरे पनि, प्रेम गरे पनि मासिने घाँस नै हो।’
यसपालि सांग्रिला डायलग शुक्रबारबाट सिंगापुरमै सुरू भएको छ। जसको केन्द्र फेरि पनि अमेरिका-चीन सम्बन्ध नै बन्नेछ। यसकारण यो अन्तर्राष्ट्रिय सम्मेलनमा पुग्ने जोकोहीको मस्तिष्कमा लुङको त्यो अभिव्यक्ति हुनेछ नै।
सांग्रिला डायलगभर निकै प्रश्न गारिनेछ। जवाफ खोजिनेछ। अमेरिकी रक्षामन्त्री लोयड अस्टिन र उनका चिनियाँ समकक्षी जेनरल ली साङ्फुबीच वान अन वान वार्ता होला कि नहोला, चासो त्यता पनि रहनेछ। अमेरिकाले गएको सोमबार चीनले वार्ताकोे प्रस्ताव अस्वीकार गरेको बताएको थियो। अमेरिकाको भनाइ आएपछि चीनको प्रतिक्रिया थियो, ‘अमेरिकाले सुरूमा वार्ताका लागि सही वातावरण सिर्जना गर्नुपर्छ।’
विश्वका दुई शक्तिशाली देशका मन्त्रीबीच वार्ता होस् वा नहोस्, उनीहरूको प्रतिद्वन्द्विताले सांग्रिला डायलगमा उपस्थित अरू देशका प्रतिनिधि भने च्यापिनेछन्। एसियाको सुरक्षाका विषयमा जति प्रश्न उठ्छन्, ती सबै प्रश्न कि अमेरिका कि चीनसँग ठोक्किन पुग्छन्। यस्तोमा एसियाली देशहरूले आआफ्नो विचार राख्नु नै छ। त्यो पनि अमेरिका र चीन दुवैलाई नचिढ्याई।
अमेरिका र चीनले विश्वको सबैभन्दा ठूलो महादेश एसियामा सैन्य गतिविधि क्रमशः बढाइरहेका छन्। दुई देशको बढ्दो सैन्य गतिविधिले एसियामा कस्तो प्रभाव पर्छ? यसको निर्क्याेल पनि सांग्रिला डायलगमा निकाल्ने प्रयास हुनेछ।
रक्षा विश्लेषकहरू भन्छन्, एसियामा सैन्य सन्तुलन अब परिवर्तन हुँदैछ। चीन बलियो बन्दैछ। किनभने चीनको जनमुक्ति सेना (पीएलए) ले आफ्नो क्षमता ह्वात्तै बढाएको छ। अब त उसँग ‘हाइपरसोनिक’ सैन्य सामग्री पनि छन्। अहिले चीनको ध्यान नै पीएलएलाई झन् झन् बलियो कसरी बनाउने भन्नेमा छ। किनभने चीन सम्भावित ताइवान युद्धका लागि तयार रहन चाहन्छ।
पीएलए पहिलेभन्दा बलियो बनेकोमा शंका छैन। तर केही पक्षमा अमेरिका सेनाभन्दा कमजोरै छ। जस्तै, सबै सबैखाले फौजको एकिकृत परिचालनमा। फेरि आधुनिक पीएलएसँग युद्धको अनुभव पनि छैन। फेरि यही बेला वासिङ्टनले एसियामा आफ्नो गठबन्धन कसिलो बनाउन गरिरहेको प्रयासलाई पनि नजरअन्दाज गर्न सकिँदैन।
सन् १९९६ मा चीन र ताइवान युद्धनजिक पुगेका थिए। युद्धको खतरा उत्पन्न भएपछि अमेरिकाले ताइवाननजिकै ‘एयरक्राफ्ट करियर’ परिचालन गरेको थियो। आखिरमा युद्धको खतरा टर्यो। तर अब यस्तो समय आएको छ, जहाँ चीन अमेरिकी ‘एयरक्राफ्ट करियर’ परिचालनले डराउँदैन।
भौगोलिक रूपमा ताइवानसँग नजिक रहेकाले युद्ध भइहाले चीन बलियो स्थितिमा हुनेछ। तर चीनले ताइवानमाथि हमला गरे अमेरिकाले सैन्य प्रतिक्रिया दिने नै छ। जसकारण युद्धको आकार स्वतः बढ्नेछ। युद्ध जसले जिते पनि क्षति सबै पक्षले भोग्नेछन्।
सन् १९९६ मा चीन र ताइवान युद्धको नजिक पुगेका थिए। युद्धको खतरा उत्पन्न भएपछि अमेरिकाले ताइवाननजिकै ‘एयरक्राफ्ट करियर’ परिचालन गरेको थियो। आखिरमा युद्धको खतरा टर्यो। तर अब यस्तो समय आएको छ, जहाँ चीन अमेरिकी ‘एयरक्राफ्ट करियर’ परिचालनले डराउँदैन।
त्यसमाथि चीन अहिले त आफैँ पनि ‘एयरक्राफ्ट करियर’ परिचालन गर्नसक्छ। गत अप्रिलमा ताइवानी राष्ट्रपति साइ इङ वेनले अमेरिकी सभामुख केभिन म्याककर्थीलाई भेटेपछि प्रतिक्रिया स्वरूप चीनले ताइवान नजिकै सैन्य अभ्यास गरेको थियो। सैन्य अभ्यासमा पीएलएको आफ्नो दोस्रो ‘एयरक्राफ्ट करियर’ शानडोङ खटिएको थियो।
‘सन् १९९० को दशकमा अमेरिका निकै बलियो स्थितिमा थियो। चीनतिर जाने समुद्री बाटोमा नाकाबन्दी गर्न सक्थ्यो,’ बेइजिङस्थित युआन वाङ सैन्य विज्ञान तथा प्रविधि नामक थिंकट्याङ्कका शोधकर्ता झाउ चेनमिङ भन्छन्, ‘तर अब समय फेरिएको छ। पीएलएले आफ्नो सैन्य क्षमतामा व्यापक वृद्धि गरेको छ। हामीसँग आधुनिक सैन्य उपकरण छन्। जसको सहयोगले अमेरिकासँग भिड्न सकिन्छ। हो, जुनसुकै ठाउँमा अमेरिकासँग लड्न सकिँदैन। तर इस्ट चाइना सी, साउथ चाइना सी र ताइवान वरपर त मज्जाले सकिन्छ।’
सैन्य विश्लेषकहरू अझ पनि समग्रमा अमेरिकी सेना पीएलएभन्दा बलियो रहेको ठान्छन्। तर उनीहरू दुई सेनाबीच क्षमताको दूरी घटिरहेको स्वीकार गर्छन्। कतिपय प्रविधिमा त पीएलएले छलाङ् मारेको उनीहरूको ठम्मयाई छ। तर सैन्य शक्ति फगत सैन्य उपकरण र प्रविधिमा मात्र सीमित नहुने तर्क गर्छन्, एस राजारत्नम स्कुल अफ इन्टरनेसनल स्कुलसँग आबद्ध शोधकर्ता कोलिनको। ‘सैन्य शक्ति जाँचको आधार धेरै छन्। जस्तै सैन्य सिद्धान्त, तालिम र समग्र पूर्वाधार,’ कोलिन भन्छन्।
काेलिन पनि पीएलए क्रमशः बलियो बन्दै गइरहेको तर्कमा सहमत छन्। आर्टिफिसियल इन्टिलिजेन्स र हायपरसोनिक प्रविधिमा आधारित सैन्य उपकरण विकासको मामलामा त पीएलए अमेरिकी सेनाभन्दा निकै अगाडि रहेको उनको मत छ। कोलिन जस्ता रक्षा विज्ञ मात्र होइन अमेरिका आफैँ पनि पीएलएको बढ्दो शक्तिबारे जानकार छ। तब त वर्षौँसम्म प्रतिआतंकवादमा ध्यान केन्द्रित गरेको अमेरिकी सेनाले सम्पूर्ण शक्ति पीएलएलाई रोक्न लगाएको छ।
पीएलएकै कारण अमेरिकी सेना हिन्द-प्रशान्तमा केन्द्रित भएको हो। पीएलएको गतिविधिलाई काउन्टर दिन अमेरिकी सेना पहिलेभन्दा सक्रिय भएपछि युद्धको स्थिति उत्पन्न भएको पनि भनिँदैछ। गत महिना मात्र अमेरिकी रक्षामन्त्री अस्टिनले उनको मन्त्रालयको मुख्य योजना चीनबाट उत्पन्न खतरासँग जुध्नु रहेको बताएका थिए। प्रशान्त महासागरमा अमेरिकी सेनाको उपस्थिति बलियो बनाउन आवश्यक रहेको भन्दै अस्टिनले रक्षा बजेट ४० प्रतिशत बढाउन राष्ट्रपति जो बाइडनलाई औपचारिक रूपमै आग्रह गरेका थिए।
पछिल्लो समय अमेरिका चीनलाई लिएर आत्तिएको छ। सन् २०२१ मा चीनले हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेपछि अमेरिका झसंग भएको बताइन्छ। चीनले विकास गरेको यो हाइपरसोनिक क्षेप्यास्त्र प्रहार भए, यसलाई बीचमै नष्ट गर्न सकिँदैन। अझ कहाँबाट प्रहार भएको हो भन्ने पनि पत्ता लगाउन सकिँदैन। यो क्षेप्यास्त्र विशेषगरी एयरक्राफ्ट करियरमाथि प्रहार गर्न बनाइएको अमेरिकी बुझाइ छ।
चीनको हाइपरसोनिक क्षेप्यास्त्रबाट झस्किएको अमेरिका आफू पनि यसको विकासमा लागेको छ। हाइपरसोनिक क्षेप्यास्त्रबाहेक अमेरिका यतिबेला आर्टिफिसियल इन्टिलिजेन्स र सम्भावित साइबर युद्धबारे शोध गर्न व्यस्त छ।
अमेरिकी नेभीको हिन्द-प्रशान्त कमाण्डको दाबी पत्याउने हो भने, पीएलए दोस्रो विश्वयुद्धपछिकै ठूलो युद्धका लागि तयारी गरिरहेको छ। गत अप्रिलमा हिन्द-प्रशान्त कमाण्डर एडमाइरल जोन एक्यिुन्लिोले पीएलएको गतिविधि र क्षमता बढोत्तरीलाई लिएर अमेरिकाले गम्भीर चासो दिनुपर्ने बताएका थिए।
एक्यिुन्लिोका अनुसार चिनियाँ नेभीसँग हाल युद्धका लागि तीन सय ५० सैन्य पानीजहाज तयार छन्। जबकि अमेरिकी नेभीसँग जम्मा तीन सय पानीजहाज छन्। सन् २०३० सम्म चिनियाँ नेभीसँग चार सय ४० पानीजहाज हुने उनको अनुमान छ। विश्वमा सबैभन्दा धेरै सैन्य पानीजहाज भएको चिनियाँ नेभीले सन् २०२२ मा मात्र १७ ठूला जहाज थपेकाे थियो।
नेभी मात्र होइन चिनियाँ वायु सेनाको पनि क्षमता अभिवृद्धिमा ध्यान दिइएको छ। चीनले पाँचौँ पुस्ताको युद्धकविमान जे-२० को उत्पादन क्षमता बढाएको छ। हाल यस्ता एक सय ५० युद्धकविमान प्रयोगको अवस्थामा छन्। तीमध्ये धेरैजसो विमान गत वर्षमात्र प्रयोगमा आएका हुन्। गत वर्ष अमेरिकी रक्षा मन्त्रालयले चिनियाँ वायु सेना अमेरिकी वायु सेना जत्तिकै बलियो बन्ने बाटोमा रहेको बताएको थियो।
चिनियाँ नेभीसँग हाल युद्धका लागि तीन सय ५० सैन्य पानीजहाज तयार छन्। जबकि अमेरिकी नेभीसँग जम्मा तीन सय पानीजहाज छन्। सन् २०३० सम्म चिनियाँ नेभीसँग चार सय ४० पानीजहाज हुने अनुमान छ। विश्वमा सबैभन्दा धेरै सैन्य पानीजहाज भएको चिनियाँ नेभीले सन् २०२२ मा मात्र १७ ठूला जहाज थपेकाे थियो।
चिनियाँ रक्षा विज्ञ झाउका अनुसार अमेरिकी सेना केही महत्त्वपूर्ण सैन्य उपकरणको विकासमा चीनभन्दा पछि परिसकेको छ। उनका अनुसार हाइपरसोनिकबाहेक सैन्य पानीजहाजबाट प्रहार क्षेप्यास्त्र बीचमै नस्ट गर्नसक्ने ‘एन्टी-सिप ब्यालेस्टिक मिसाइल’, राडरले पत्ता लगाउन नसक्ने युद्धक विमानको विकास र उत्पादनमा चीन निकै अगाडि छ।
नेसनल युनिभर्सिटी अफ सिंगापुरका शोधकर्ता ड्रिउ थोम्पसन सैन्य दौडमा चीन अमेरिकाकै हैसियतमा पुग्न लागेको दाबी गर्छन्। ‘विशेषगरी ब्यालेस्टिक मिसाइल विकासमा चीनले गज्जबको प्रगति गरेको छ। छोटो तथा मध्यम दूरीको मात्र होइन ५५ सय किलोमिटरभन्दा टाढासम्म प्रहार गर्न सकिने मिसाइल विकासमा पनि चीनले फ्डको मारेको छ,’ थोम्पसन भन्छन्।
आधुनिक युद्धमा प्रयोग गरिने सैन्य सामग्री विकासमा चीनले आफूलाई अब्बल साबित गरिरहे पनि क्षेत्रीय रक्षा सहकार्यमा भने अमेरिका चीनभन्दा निकै अघि छ। केही वर्षयता हिन्द-प्रशान्त क्षेत्रका देशहरूसँग अमेरिकाले गरिरहेको सहकार्यले पनि यसको पुष्टि गर्छ। सहकार्य बलियो बनाउन यो क्षेत्रका देश र अमेरिका मिलेर नियमित रूपमा सैन्य अभ्यास पनि गरिरहेका छन्।
गत फेब्रूअरीमा मात्र अमेरिकाले फिलिपिन्सका थप चार सैन्य बेस प्रयोग अधिकार पायो। ती चारमध्ये एक बेस ताइवान र अर्को बेस साउथ चाइन सीको नजिकै छन्। दक्षिण कोरियाको सामुद्रिक क्षेत्रमा आणविक हतियारयुक्त युद्धपोत परिचालन गर्ने सम्झौता पनि अमेरिकाले गरिसकेको छ।
यही वर्ष अमेरिकाले अस्ट्रेलिया र बेलायतसँग त्रिपक्षीय सैन्य सम्झौता पनि गरेको छ। अस्कस भनिएको यो सम्झौताबाहेक क्वाड अमेरिकाले चीनलाई तह लगाउन गठन गरेको अर्को समूह हो। क्वाडको स्वरूप अनौपचारिक भए पनि यसका सदस्य अमेरिकासँग नजिक रहेका देश (जापान, अस्ट्रेलिया र भारत) छन्।
रक्षा विश्लेषकहरू के भन्छन् भने, अमेरिका र चीनको सैन्य शक्ति विश्लेषण गरिँदा यी सम्झौता, गठबन्धन र समूहलाई पनि ध्यानमा राख्न जरूरी छ। ‘चीनविरूद्ध अमेरिका युद्धमा होमिए उसलाई मित्रहरूले सहयोग गर्ने कुनै ग्यारेन्टी छैन। गरिहाले कुन स्तरमा गर्छन्, त्यसको टुंगो छैन। तर इन्कार गर्न नसकिने तथ्य के हो भने, एसियामा अमेरिकाका मित्र धेरै छन्,’ कोलिन भन्छन्।
‘तर सँगसँगै हामी यो पनि अनुमान गर्न सक्छौँ, चीनसँगको युद्धमा अमेरिका एक्लै हुने छैन। उसका मित्रहरूले अप्रत्यक्ष सहयोग भए पनि गर्नेछन्,’ कोलिन थप्छन्।
सयौँ युद्धकविमान बोकेर समुद्री यात्रामा निस्किने एयरक्राफ्ट करियरको विकास र परिचालनमा चीन अमेरिकाको दाँजोमा परिपक्व नभइसकेको बताउने कोलिन पीएलएको युद्ध क्षमतामाथि पनि प्रश्न उठाउँछन्। थल, जल र वायु सेनालाई एकैसाथ परिचालन गर्ने मामलामा चीन अनुभवी नभएको पनि कोलिनको भनाइ छ।
उसो त चीनले पछिल्लो समय गरेको सैन्य पुनः संरचनाको उद्देश्य पीएलएका तीन हाँगाबीचको सही संयोजन नै हो। हाल पीएलएका सात क्षेत्रीय कमाण्ड छन्। जसलाई थिएटर कमाण्ड भनिन्छ। नान्जिङमा रहेको इस्टर्न थिएटर कमाण्डले इस्ट चाइना सी, ताइवान र जापान वरपरको क्षेत्रलाई निगरानीमा राख्छ।
पीएलएका पूर्वप्रशिक्षक सङ झोङपिङ चीनको सैन्य क्षमतामा जतिसुकै वृद्धि भए पनि अझ लामो समय प्रशान्त-हिन्द क्षेत्रमा अमेरिकी दबदबा रहने धारणा राख्छन्। ‘अमेरिकासँग ११ एयरक्राफ्ट करियर छन्। तीमध्ये पाँच वा छ वटा अमेरिकाले हिन्द-प्रशान्त क्षेत्रमै परिचालन गर्नसक्छ। त्यसमाथि अमेरिका आणविक हतियार विकासमा पनि अरूभन्दा अगाडि छ,’ हाल हङकङमा बस्ने सङ भन्छन्, ‘सामुद्रिक सैन्य अपरेसनको मामलामा अमेरिकालाई अरू देशले भेट्न सक्दैनन्। पाँचौँ पुस्ताको युद्धकविमान पनि अमेरिकाकै गतिला छन्। हो चीनले सेनाको आधुनिकिरणमा सक्दो प्रयास गरिरहेको छ। तर अमेरिका र चीनबीचको दूरी मेटिन समय लाग्छ।’
युआन वाङ सैन्य विज्ञान तथा प्रविधिका शोधकर्ता झाउ एसिया-प्रशान्तमा रहेको अमेरिकी गठबन्धन चीनका लागि खतरा रहेको बताउँछन्। अस्ट्रेलिया , जापान, दक्षिण कोरिया र दक्षिण पूर्वी एसियाका केही देशलाई उपयोग गर्ने अमेरिकी नीति चिन्ताजनक रहेको उनको भनाइ छ। ‘यी कुनै पनि देशसँग चीनको प्रतिद्वन्द्वी हुने क्षमता छैन। तर अमेरिका यी सबै देशलाई एक बनाएर चीनविरूद्ध उपयोग गर्न चाहन्छ,’ झाउ भन्छन्।
गत वर्ष चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशनमा महासचिव तथा राष्ट्रपति सी चिनफिङले पीएलएलाई सन् २०५० सम्ममा विश्वस्तरीय बनाउने संकल्प प्रस्तुत गरेका थिए। त्यहीबेला उनले पीएलएको आधुनिकीकरणका लागि आवश्यक कदम चाल्न निर्देशन दिएका थिए। उनी आर्टिफिसियल इन्टिलिजेन्स र साइबर फोर्सको निर्माणमा पनि विशेष जोड दिइरहेका छन्।
अमेरिकी थिंकट्याङ्क र्यान्ड कर्पोरेसनले गत मार्चमा निकालेको एक रिपोर्टमा पीएलएले समग्रमा आफूलाई अमेरिकी सेनाभन्दा कमजोर ठान्ने दाबी गरिएको छ। आखिर पीएलएले किन आफूलाई अमेरिकी सेनाभन्दा कमजोर ठान्छ? यसको जवाफमा भनिएको छ, ‘भविष्यमा हुने युद्ध जित्न आवश्यक रहने पक्षमा पीएलए तुलनात्मक रूपमा कमजोर छ। जस्तै, प्रविधिको प्रयोग गरी सूचना संकलन।’ पूर्वप्रशिक्षक सङ पनि पीएलए सूचना संकलन र प्रवाह कमजोर रहेको स्वीकार गर्छन्।
पछिल्ला केही वर्षयता चीन एयरक्राफ्ट करियर, युद्धपोत, आणविक हतियार लगायतको संख्या बढाउन मेहनत गरिरहेको सङको भनाइ छ। अमेरिकी वैज्ञानिकहरूको संगठनले गरेको अध्ययन पनि चीनले आणविक क्षेप्यास्त्रको संख्या बढाएको दाबी गर्छ। यो अध्ययनका अनुसार चीनसँग हाल चार सय ४० आणविक क्षेप्यास्त्र छन्। पेन्टागनको दाबी अनुसार यो संख्या सन् २०३० मा एक हजार र २०३५ मा १५ सय पुग्नेछ।
सेन्टर फर स्टारटेजिक एन्ड इन्टरनेसनल स्टडिज नाम गरेको अमेरिकी थिंकट्याङ्कले गरेको अनुमान अनुसार ताइवान युद्ध भए चीनलाई ताइवान, अमेरिका र जापान मिलेर परास्त गर्नसक्छन्। तर अमेरिका र जापानका लागि ताइवान रक्षाको मूल्य महँगो हुने सो थिंकट्याङ्कको अनुमान छ।
गत फेब्रूअरीमा अमेरिकी नेभीका सचिव कार्लोस डेल टेरोले आफ्नो देशले आधुनिक सैन्य पानीजहाजको संख्या बढाउनु पर्ने बताएका थिए। हालका लागि सर्वस्वीकार्य तथ्य हो, सैन्य पानीजहाज अमेरिकाभन्दा चीनसँग बढी छ। त्यसमाथि अमेरिकाका कयौँ सैन्य पानीजहाज पुराना भइसकेका छन्। तिनलाई प्रतिस्थापन गर्न र नयाँ थप्न अमेरिकालाई पाँच देखि आठ वर्ष लाग्नसक्ने झाउको अनुमान छ।
सेन्टर फर स्टारटेजिक एन्ड इन्टरनेसनल स्टडिज नाम गरेको अमेरिकी थिंकट्याङ्कले गरेको अनुमान अनुसार ताइवान युद्ध भए चीनलाई ताइवान, अमेरिका र जापान मिलेर परास्त गर्नसक्छन्। तर अमेरिका र जापानका लागि ताइवान रक्षाको मूल्य महँगो हुने सो थिंकट्याङ्कको अनुमान छ।
सङ चाहिँ कुनैदिन चीनले युद्ध नहारी ताइवानलाई आफूमा समाहित गर्ने विश्वास व्यक्त गर्छन्। ‘किनभने ताइवान चीनबाट नजिक छ,’ सङ भन्छन्।
झाउ पनि ताइवान युद्धमा चीन हाबी हुनसक्ने अनुमान गर्छन्। ‘अमेरिका आफैँले गरेको अनुमान हो, ताइवान युद्धमा अमेरिका र चीन दुवैको ठूलो क्षति हुनेछ। जित त सजिलै प्राप्त हुनेवाला छैन,’ झाउ भन्छन्, ‘अबको केही वर्षमै युद्ध होला भन्ने डर छ अमेरिकालाई। अमेरिका सन् २०३५ पछि मात्र युद्ध होस् भन्ने चाहन्छ, ताकि त्यसबेलासम्म आफू पहिलेजस्तो बलियो बन्न सकियोस्।’
‘तर चीनसँग आफ्नै रणनीति छ। यही रणनीति अनुसार चीन अघि बढ्छ। अमेरिकाको जस्तो रणनीति भए पनि त्यसले चीनलाई फरक पार्दैन,’ झाउको निस्कर्ष छ।
हङकङेली अखबार साउथ चाइना मर्निङ पोस्टको सहयोगमा