चीनसँगको दशकौँ पुरानो जासुसी खेलमा पछि परेको अमेरिका

हिमाल प्रेस ११ फागुन २०७९ २१:५४
50
SHARES
चीनसँगको दशकौँ पुरानो जासुसी खेलमा पछि परेको अमेरिका समुद्रमा खसालिएको चिनियाँ बलुनको भग्नावशेष खोज्दै अमेरिकी सुरक्षाकर्मी।

उत्तर अमेरिकी आकाशमा उडेको बलुनका कारण अमेरिकी नागरिक त्रसित र आक्रोशित बने। बलुनकै कारण चीनलाई गिज्याइयो पनि। सामाजिक सञ्जालमा कैयौँले यसरी खिल्ली उडाए, ‘चीन आजको दिनमा पनि बलुनको सहारामा जासुसी गर्छ।’ ‘स्टान्ड अप कमेडियन’ हरूले यसलाई ‘कन्टेन्ट’ बनाए।

प्रतिघण्टा २० किलोमिटर गतिमा उडिरहेको बलुनलाई मोन्टानामा खसालिँदा वासिङ्टनमा भने चुट्किला बनेन। किनभने ह्वाइटहाउस यो निष्कर्षमा पुगिसकेको थियो, आधुनिक उपकरणजडित यस्तो बलुनको प्रयोग गरेर चीन लगातार अमेरिकाको जासुसी गरिरहेको छ। उसै पनि अमेरिका चीनको जासुसी गतिविधिलाई लिएर पहिलेदेखि चिन्तित थियो।

युद्धक विमान एफ-१६ का अवकाशप्राप्त पाइलट चार्ली टुना मुर के दाबी गर्छन् भने चीनले उडाउने यस्तो बलुनले उच्च गुणस्तरको तस्बिर खिच्न सक्छ। यति मात्र कहाँ हो र, यसमा जडित सेन्सरले अमेरिकी सैन्य उपकरणबीच सूचना कसरी आदानप्रदान हुन्छ भनेर पनि पत्ता लगाउन सक्छ।

पछिल्ला केही वर्षयता अमेरिका-चीन प्रतिद्वन्द्विताले नयाँ बिन्दु छोएको छ। अमेरिकाको हरेक गोप्य जानकारी बटुल्ने चिनियाँ लक्ष्य बलियो भइरहेको छ। चिनियाँ जासुस विदेशी भूमिमा पछिल्लो १५ वर्षयताकै सबैभन्दा सक्रिय छन्। चिनियाँ जनसेना (पीएलए) ले आफ्नो जासुसी क्षमता बलियो बनाउँदै लगेको छ। गत नोभेम्बरमा पेन्टागनले निकालेको एक रिपोर्टमा भनिएको थियो, जासुसीकै लागि चीनले २ सय ६० भू-उपग्रह परिचालन गरेको छ। यो संख्या सन् २०१८ को भन्दा ठ्याक्कै दुई गुणा बढी हो।

‘अमेरिकाको जासुसी गर्न चीन अनेक तरिकाको प्रयोग गरिरहेको छ। उसले आफ्ना मान्छे अमेरिका पठाइरहेको छ। अमेरिकी कम्पनीहरूमाथि लगानी गरिरहेको छ। बढीभन्दा बढी भू-उपग्रह विकास गरिरहेको छ। चीनले यदि हवाई जासुसी गरिरहेको छ भने त्यसमा अचम्म नमाने हुन्छ,’ कुनै समय अमेरिकी गृह मन्त्रालय सम्हालेका माइकल सेर्टफ भन्छन्।

चीनको यस्तो गतिविधिप्रति अमेरिका सचेत नभएको होइन। चीनका कतिपय शंकास्पद गतिविधिको प्रत्याक्रमणमा अमेरिका उत्रिएको पनि छ। विद्युतीय जासुसी गरेको आशंकामा अमेरिकाले चिनियाँ दूरसञ्चार कम्पनी हुवाएमाथि प्रतिबन्ध लगाएको छ। हुवाएबारे चिन्तित हुने सूचीमा युरोपका कैयौँ देश पनि छन्। केही दिनअघि जर्मन सहर म्युनिखमा भेला भएका विश्वका धेरै देशका परराष्ट्र तथा रक्षामन्त्री र उच्च पदस्थ अधिकारीमध्ये कैयौँले हुवाएमाथि प्रश्न उठाएका थिए।

पछिल्लो समय अमेरिका चिनियाँ सामाजिक सञ्जाल टिकटकलाई लिएर पनि गम्भीर छ। टिकटकको सहयोगमा चीनले अमेरिकी नागरिकको डेटा संकलन गर्नसक्ने अमेरिकाको आशंका छ। हुवाएले आफू जासुसीमा संलग्न नरहेको र टिकटकले आफूले संकलन गर्ने डेटामाथि चिनियाँ सरकारको नियन्त्रण नरहेको बताउँदै आएका छन्। यी दुवैको दाबीलाई अमेरिकाले विश्वास गर्न सकिरहेको छैन।

चीनको जासुसीलाई काउन्टर दिन अमेरिकाले पनि विभिन्न गतिविधि गरिरहेको छ। तर अमेरिकी गतिविधिलाई लिएर चीन चनाखो छ। ‘अमेरिकाको प्रत्याक्रमण कसरी झेल्ने वा त्यसबाट कसरी बच्ने भन्नेबारे चीन सधैँ चनाखो रहने गरेको छ,’ अमेरिकाको घरेलु जासुसी संयन्त्र एफबीआईका निर्देशक क्रि रेले गत वर्ष फाइनान्सिय टाइम्ससँगको अन्तर्वार्तामा भनेका थिए।

जासुसी विरासत

चीन र अमेरिकाले एकअर्काको जासुसी वर्षौँदेखि गर्दै आइरहेका छन्। सन् १९६२ मा जासुसी गर्न पाँच अमेरिकी जहाज चिनियाँ आकाशमा प्रवेश गरेका थिए। तीमध्ये चार जहाजलाई चीनले खसालिदिएको थियो। खसालिएका ती जहाजका भग्नावशेष आज पनि बेइजिङको एक संग्रहालयमा राखिएको छ।

अमेरिकी जासुस संस्था सीआईएले ती यू-२ जहाज उडाएको थियो। पाँच जहाजमध्ये पहिलो जहाजलाई चिनियाँ वायुसेनाले खसाल्दा चीनका तत्कालीन राष्ट्रपति माओ जेदोङले खुसीयाली मनाइरहेको दृश्य समेटिएको भिडियो आज पनि संग्रालयमा सुरक्षित छ।

सीआईएका लागि चीन मामिलासम्बन्धी जानकार भएर काम गरेका डेनिस वाइल्डरका अनुसार अमेरिकी जासुसी जहाज सिनसिजयाङमाथि उडेका थिए। जहाँ चीन आणविक गतिविधि सञ्चालन गरिरहेको थियो।

सन् १९७२ मा चीन भ्रमणमा गएका अमेरिकी राष्ट्रपति रिचार्ड निक्सन चीनसँग सीधा वार्ता गरेर सम्बन्ध सुधार्न चाहन्थे। हेन्री किसिन्जरका अनुसार सीआईए चाहिँ फेरि पनि जासुसी विमान चीन आकाशमा उडाउन चाहन्थ्यो। किनभने यू-२ खसालेपछि चीनले अमेरिका लक्षित प्रतिक्रियात्मक कदम चालेको थिएन।

वाइल्डर त्यसबेलाको चीन सम्झिन्छन् , ‘चीनभित्र छिर्न असाध्यै मुस्किल थियो। त्यसकारण अमेरिकी जासुस हङकङ जान्थे, त्यहाँको माछा बजार पुग्थे, माछा किन्थे। माछा चिनियाँ अखबारमा बेरिएका हुन्थे। अमेरिकी जासुसहरू अखबारमा छापिएका सामग्री पढेर चीनसम्बन्धी जानकारी बटुल्थे।’

वाइल्डर त्यसबेलाको चीन सम्झिन्छन्, ‘चीनभित्र छिर्न असाध्यै मुस्किल थियो। त्यसकारण अमेरिकी जासुस हङकङ जान्थे, त्यहाँको माछा बजार पुग्थे, माछा किन्थे। माछा चिनियाँ अखबारमा बेरिएका हुन्थे। अमेरिकी जासुसहरू अखबारमा छापिएका सामग्री पढेर चीनसम्बन्धी जानकारी बटुल्थे।’

सन् १९७९ मा कूटनीतिक सम्बन्ध स्थापित भएपछि भने दुई देशका जासुस संयन्त्र सहकार्य गर्न थाले। मिलेर सोभियत संघको जासुसी गर्न सुरु गरे। के भनिन्छ भने अमेरिका भ्रमणमा गएका चिनियाँ राष्ट्रपति देङ सिआओपिङ रातको समयमा सीआईए मुख्यालयमा पनि पुगेका थिए।

त्यहाँ सिआओपिङ र अमेरिकी अधिकारीबीच चीनमा पनि सुविधासम्पन्न जासुसी केन्द्र स्थापना गर्ने विषयमा छलफल भएको थियो। पछि अमेरिकाले पश्चिमी चीनमा त्यस्तै केन्द्र बनाइदियो। जसको उद्देश्य थियो, सोभियतमाथि जासुसी।

सन् १९८९ को तियानमेन स्क्वायर घटनापछि भने सीआईए चीनविरुद्ध आक्रामक बन्यो। सीआईएले चिनियाँ समुद्री तट, विशेषगरी साउथ चाइन सी क्षेत्रमा निरन्तर जासुसी उडान गर्न थाल्यो।

चीनले सिर्जना गरेको भय

सन् २०१२ मा सी चिनिफिङ चिनियाँ कम्युनिस्ट पार्टीको महासचिव बनेपछि चीनको जासुसी क्षमता स्तरोन्नति गर्न थालिएको थियो। त्यसबीचमा सीआईएले चीनमाथिको आफ्नो जासुसी कमजोर हुँदै गएको अनुभव गर्न थाल्यो। चीनमा उसका स्थानीय जासुस समातिन थाले। तीमध्ये कैयौँलाई चीन सरकारले मृत्युदण्ड पनि दियो।

चीनमा आफ्नो जासुसी सञ्जाल भत्किँदै गएपछि सीआईएभित्र खैलाबैला हुन थाल्यो। स्थानीय जासुसलाई चिनियाँ संयन्त्रले कसरी पत्ता लागायो, समात्न सक्यो भन्ने विषयमा सीआईएभित्र बहस भयो। सीआईएभित्र भएको एउटा अनुमानचाहिँ यस्तो थियो, सन् २०१९ मा चीनले जेलचलान गरेको सीआईए एजेन्ट जेरी लीले चीनभित्र रहेको सीआईए संरचनाबारे खुलासा गरिदिए।

तर फाइनान्सियल टाइम्सले कुरा गरेका ६ जना सीआईएबारे जानकार भने फरक मत राख्छन्। उनीहरूको निर्क्योल छ, चीनभित्र रहेका सीआईएका प्रतिनिधिहरूले स्थानीय एजेन्टहरूसँग सूचना लिने तरिका र उपकरणबारे चिनियाँले पत्ता लगाए र सीआईएको सञ्जाल भत्काइदिए।

चिनियाँले चीनभित्र सक्रिय रहेका सीआईए प्रतिनिधि र तिनका स्थानीय एजेन्ट, सूचना प्राप्त गर्ने तरिका, प्रयोग हुने उपकरण आदिबारे पत्ता लगाउनुको सन्देश थियो, अब चिनियाँ जासुसी संयन्त्रको प्रत्याक्रमण क्षमता अभिवृद्धि भइसकेको छ। चिनियाँ ‘काउन्टर इन्टिलिजेन्स’ मजबुत भएका छन्। उनीहरूसँग ‘सर्भिलियेन्स क्यामरा’, लाइसेन्स प्लेट ‘डिटेक्ट’ गर्ने उपकरण, स्मार्टफोन र इन्टरनेटको सहयोगमा विदेशी जासुसलाई आफ्नो जालमा पार्ने क्षमता थियो।

‘चिनियाँ यति चाँडै यस्तो अगाडि आइपुग्छन् भनेर हामीले सोचेकै थिएनौँ। उनीहरू प्राविधिक रूपमा स्मार्ट भइसकेका थिए। त्यसमाथि लीले चुहाएको सूचनाले त उनीहरूलाई झनै सजिलो भयो,’ अमेरिकी जासुसी संयन्त्रबारे एक जानकार भन्छन्।

सीआईएको संरचनाभित्र चिनियाँ प्रवेश गरेकोबारे फाइनान्सियल टाइम्सले राखेको जिज्ञासामा सीआईएले जवाफ दिएको छैन।

चीनमा आफ्नो जासुसी सञ्जाल भत्किँदै गएपछि सीआईएभित्र खैलाबैला हुन थाल्यो। स्थानीय जासुसलाई चिनियाँ संयन्त्रले कसरी पत्ता लागायो, समात्न सक्यो भन्ने विषयमा सीआईएभित्र बहस भयो। सीआईएभित्र भएको एउटा अनुमान चाहिँ यस्तो थियो, सन् २०१९ मा चीनले जेलचलान गरेको सीआईए एजेन्ट जेरी लीले चीनभित्र रहेको सीआईए संरचनाबारे खुलासा गरिदिए।

सी चिनियाँ सत्तामा पुगेसँगै चिनियाँ जासुसी संयन्त्र (एमएसएस) मा व्यापक परिवर्तन गरियो। सीआईएमा कुनै बेला चीन विज्ञ रहेका क्रिस जोन्सनका अनुसार एमएसएस विशेषगरी पाँच समूहमाथि केन्द्रित हुन थाल्यो। ती क्षेत्र थिए, तिब्बती तथा ताइवानी पृथक्तावादी, लोकतान्त्रिक अभियानकर्ता, फालुन गोङ नाम गरेको आध्यात्मिक समूह र उइगुर। यी समूहलाई एमएसएसले ‘पाँच विष’ को नाम दिएको छ।

सी शक्तिशाली हुँदै जाँदा एमएसएस पनि बलियो बन्दै गयो। सीको इच्छाअनुसार एमएसएसका जासुस ठूलो संख्यामा चीनबाहिर छरिन थाले। ‘एमएसएसले सीआईए र बेलायतको एम १६ जसरी विदेशी भूमिमा जासुसी गर्न थाले। सीलाई के लाग्न थाल्याे भने चीन अब विश्व शक्तिमा रुपान्तरण भएको छ। यसकारण जासुसी संयन्त्रलाई बलियो बनाउनुपर्छ, विश्वभर परिचालित गर्नुपर्छ,’ हाल चाइना स्टारटेजिस ग्रुपका निर्देशक रहेका जोन्सन भन्छन्।

अमेरिकाबाहिर सीआईएको स्टेसन प्रमुख रहिसकेका एक अधिकारीले फाइनान्सियल टाइम्ससँग एमएसएसको क्षमताबारे भनेका छन्, ‘एमएसएस विदेशी भूमिमा आफूले चाहेको अप्रेसन सञ्चालन गर्न सक्षम छ। जासुसीको मामलामा चिनियाँ रुसीभन्दा अगाडि बढिसकेका छन्। जबकि कुनै बेला रुसी जासुस चिनियाँभन्दा कैयौँ गुणा दह्रो थिए।’

विगतमा चिनियाँ जासुस बढीजसो चिनियाँ नागरिक, चिनियाँ मूलका अमेरिकी नागरिकमाथि केन्द्रित थिए।  अचेल भने एमएसएसले अमेरिकामा बस्ने अमेरिकी नागरिकलाई पनि आफ्नो एजेन्ट बनाउन थालेको छ। यति मात्र होइन, एमएसएसले सीआईएकै पूर्वअधिकारीहरूलाई भर्ती गरिरहेको छ।

सीलाई के लाग्न थाल्याे भने चीन अब विश्व शक्तिमा रूपान्तरण भएको छ। यसकारण जासुसी संयन्त्र बलियो बनाउनुपर्छ, विश्वभर परिचालित गर्नुपर्छ।

चीन अमेरिकी प्रविधिको जासुसी गर्न र सकेसम्म त्यसको चोरी गर्न लागिपरेको छ। पछिल्लो समय एमएसएसले अमेरिकी मकैको बिउ मात्र होइन, जहाजको इन्जिन पनि नक्कल गर्न खोजेको छ। अमेरिकाको काउन्टर इन्टिलिजेन्स एन्ड सेक्युरिटी सेन्टरका प्रमुख माइकल ओरलान्डोले हालै चीनमाथि गम्भीर आरोप लगाएका छन्। ‘दुई दशकअघि चीनको उद्देश्य थियो अमेरिकी सैन्य प्रविधिको चोरी गर्ने। अब चीन अमेरिकी अर्थतन्त्र तहसनहस पार्न लागि रेको छ,’ ओरलान्डोको आरोप छ।

पछिल्लो समय चीन साइबर जासुसीमा पनि सक्रिय छ। चीनले अमेरिकी सरकारी कर्मचारीदेखि निजी होटलसम्मको डेटा चोरी गरेको अमेरिकी आरोप छ। अमेरिकी प्रशासनमा कार्यरत कर्मचारीहरू बस्ने गरेको म्यारियोट समूहका होटलहरूमा सन् २०१५ मा साइबर आक्रमण गरेको आरोप चीनमाथि लगाइएको छ।

संघर्षरत अमेरिका

सन् २०१० को दशकमा चीनमा भत्किएको जासुसी सञ्जाल पुनर्निर्माणमा सीआईए असफल भइरहेको बताइन्छ। पछिल्लो एक दशकमा चीनको काउन्टर इन्टिलिजेन्स बलियो बनेकाले पनि सीआईएलाई चीनभित्र आफ्नो क्रियाकलाप अघि बढाउन सजिलो छैन।

‘विगतमा सीआईएका जासुस चीनको जुनसुकै ठाउँमा पुग्न सक्थे। चिनियाँ कूटनीतिज्ञ, पीएलएका उच्च्पदस्थ अधिकृत भएका भोजमा सहभागी हुन्थे। तिनलाई साथी बनाएर सकेको सूचना बटुल्ने प्रयास गर्थे। तर अहिलेको चीनमा यी कुरा सम्भव छैनन्,’ एक पूर्वअमेरिकी इन्टिलिजेन्स अधिकारीले भनेका छन्।

‘विगतमा सीआईएका जासुस चीनको जुनसुकै ठाउँमा पुग्न सक्थे। चिनियाँ कूटनीतिज्ञ, पीएलएका उच्च्पदस्थ अधिकृत भएका भोजमा सहभागी हुन्थे। तिनलाई साथी बनाएर सकेको सूचना बटुल्ने प्रयास गर्थे। तर अहिलेको चीनमा यी कुरा सम्भव छैनन्,’ एक पूर्वअमेरिकी इन्टिलिजेन्स अधिकारीले भनेका छन्।

चीन भने अमेरिकाले आफ्नो देशमा लगातार जासुसी गरिरहेको आरोप लगाउँछ। पीएलएका अवकाशप्राप्त अधिकृत झाउ बोले हालै चिनियाँ समुद्री तटीय क्षेत्रमा अमेरिकी वायु सेनाले लगातार जासुसी जहाज उडाइरहेको र नेभीले जासुसी युद्धपोत परिचालन गरेको आरोप लगाएका छन्। अमेरिकाले भने आफूले अन्तर्राष्ट्रिय आकाश र पानीमा जहाज र युद्धपोत परिचालन गरेको जवाफ दिएको छ।

‘अमेरिकाले आफूमाथि लगातार जासुसी गरिरहेको बुझाइ छ, चीनको। यस विषयमा अन्तर्राष्ट्रिय समुदायले चासो नदिएको चीन गुनासो गर्छ,’ अमेरिकी थिंकट्यांक जर्मन मार्स फडसँग आबद्ध चीन विज्ञ बोनी ग्लासेर भन्छन्।

यद्यपि हालै खसालिएको चिनियाँ बलुनलाई अमेरिकाले चीनले आफूमाथि जासुसी गरिरहेको प्रमाणका रूपमा प्रस्तुत गरिरहेको छ। चीनले यू-२ खसालेपछि अमेरिकाले त्यहाँ जासुसी गरिरहेको पुष्टि भएको थियो। अब बलुनको भग्नावशेषलाई विश्वमाझ देखाउँदै अमेरिका भन्न चाहन्छ, चीन अमेरिकाको जासुसी गर्न सक्रिय छ।

फाइनान्सियल टाइम्सबाट

प्रकाशित: ११ फागुन २०७९ २१:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =