रैथाने बाली संरक्षणका लागि नवलपुरमा सामुदायिक बिउ बैंक

हिमाल प्रेस २० जेठ २०८० ११:३३
8
SHARES
रैथाने बाली संरक्षणका लागि नवलपुरमा सामुदायिक बिउ बैंक

नवलपुर– नवलपुरको कावासोतीमा सामुदायिक बिउ बैंकले रैथाने बालीको संरक्षण गर्दै आएको छ। रैथाने बाली क्रमशः लोप हुँदै जान थालेको अवस्थामा सामुदायिक बिउ बैंकले यसको संरक्षण गर्दै आएको हो। कावासोती-१४, त्रिभुवनटारमा रहेको बिउ बैंकमा हाल धानका मात्रै विभिन्न ४५ प्रजाति रहेको बिउ बैंकका अध्यक्ष पार्वती भण्डारीको भनाइ छ।

‘धेरैजसो हाम्रै पुर्खाले लगाउने गरेको धान अहिले हराउँदै जान थालेका छन्, त्यस्ता प्रजाति लोप नहोस् भनेर बिउ उत्पादन गर्दै आएका छौं,’ उनले भनिन्।

कनक जिरा, बकुल्ले अनदी, मगर अनदी, थापा चिनी, आम ज्योति, पहेले धान, घिउपुरी, झिनुवा, आँप झोते, चमेली, मिठाइ, छ्याङा, कालो नुनिया, बासमती, दूधराज, वार, सावित्रीलगायत धानको बिउ बैंकमा संरक्षण गरिएको अध्यक्ष भण्डारीले जनाइन्।

अन्नबालीसँगै लहरेबाली, कोसेबाली, तेलहन, दलहन बालीका विभिन्न प्रजातिका बिउ संरक्षण गरिएको र सिजनअनुसार किसानलाई बिक्री वितरण गर्ने गरिएको उनले बताए। सामुदायिक बिउ बैंकमा ९५३ घरपरिवार आबद्ध छन्। उनीहरूले बिउ बैंकमा रहेका रैथाने प्रजातिका बिउ लिएर खेती गर्ने गरेका छन्। साथै स्थानीय प्रजातिको बिउ उत्पादनमा समेत सहयोग गर्दै आएका छन्।

रैथाने बालीको खेती गर्दा धेरै विषादी प्रयोग गर्न नपर्ने, उत्पादन कम भए पनि मूल्य धेरै पाइने, यस्ता प्रजातिबाट पोषण धेरै प्राप्त हुने र प्रतिकूल वातावरणसमेत सहन सक्ने हुनाले अहिले क्रमशः किसान रैथाने प्रजातिका बालीतर्फ आकर्षण बढ्दो क्रममा रहेको बिउ बैंकका सचिव दान महतोले बताए।

लीबर्डको सहयोगमा बिउ बैंक स्थापना गरिएकोमा हाल स्थानीय, प्रदेश र संघीय सरकारबाट समेत रैथाने बालीको संरक्षणमा सहयोग प्राप्त हुने गरेको उनले जानकारी दिए।

सामुदायिक बिउ बैंकले जग्गा भाडामा लिएर आफैँ बिउको उत्पादन गर्दै आएको छ। धानको बिउ आफै उत्पादन गर्ने गरिएको भए पनि अन्य रैथाने प्रजातिका स्थानीय तरकारी, दलहन बालीको बिउ भने स्थानीय कृषकले उत्पादन गर्दै आएका छन्।

बिउ बैंकबाट स्थानीय जातका बिउ लगेर उत्पादन गर्ने र उत्पादनपश्चात् धेरै भएको बिउ पुनः बिउ बैंकमा बिक्री गर्ने गरेका छन्। बिउ बैंकबाट किसानले सस्तोमा बिउ प्राप्त गर्छन्। धेरै उत्पादन भएमा बिउ बैंकले कृषकबाट बिउ खरिद गरिदिने हुनाले केही कृषकले बिउ बेचेर आम्दानीसमेत गर्ने गरेका छन्।

रैथाने जात धान कनक जिरा, बकुल्ले अनदी, घिउपुरी, झिनुवा, आँप झोते लगायतका धानका बिउको माग धेरै हुने गरेको अध्यक्ष भण्डारीले बताए। सिजनअनुसारका अन्य बिउको समेत माग हुने गरेको उनले बताए।

बिउ बैंक स्थापना भएर स्थानीय रैथाने जातको बिउ संरक्षण र उत्पादनमा लागेसँगै यस क्षेत्रका किसान क्रमशः स्थानीय जातका बाली लगाउन थालेका छन्। स्थानीय जातका बालीमा रोगको प्रकोप कम देखिने र उत्पादनसमेत राम्रो हुँदै आएको कृषकको भनाइ रहेको छ।

रैथाने जातको प्रवद्र्धनका लागि नगरपालिकाबाट समेत आवश्यक सहयोग प्रदान गर्दै आइएको कावासोती नगरपालिका कृषि शाखा प्रमुख शिवनारायण कुमालले बताए। रैथाने बालीको उत्पादनले खाद्यान्न अभाव घटाउन सहयोग पुग्ने भएकाले स्थानीय प्रजातिका बालीको संरक्षण र उत्पादनलाई जोड दिनुपर्ने उनको भनाइ छ।

प्रकाशित: २० जेठ २०८० ११:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast