गर्मी बढेसँगै चितवनको लामो झरनामा आन्तरिक पर्यटकको भिड

हिमाल प्रेस २० जेठ २०८० १०:२३
4
SHARES
गर्मी बढेसँगै चितवनको लामो झरनामा आन्तरिक पर्यटकको भिड फाइल तस्बिर।

चितवन– चितवनमा बिहीबार र शुक्रबार तापक्रम ३९ डिग्रीसम्म मापन गरिएको छ। चर्को घामका कारण मानिसलाई घर बाहिर निस्कन कठिन छ। बढ्दो गर्मी छल्न यहाँका स्थानीयहरू इच्छाकामना गाउँपालिका-६ जलविरेस्थित लामो झरनामा जान थालेका छन्। गर्मी बढेसँगै झरनामा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ।

नारायणगढ-मुग्लिन सडकअन्तर्गत पर्ने जलविरेको १ सय २ मिटरभन्दा लामो झरना नारायणगढबाट मुग्लिनतर्फ २७ किमी र मुग्लिनबाट नारायणगढतर्फ ७ किमीको दूरीमा पर्छ। सडकबाट एक किमी उकालो बाटो हिँडेपछि झरनामा पुगिन्छ। हिँडेरै र गाडीबाट पनि झरनासम्म पुग्न सकिन्छ।

झरनाको चिसो पानीमा रम्दै पौडी खेल्न पाउँदा आनन्द भएको वीरगञ्जबाट आएकी शीला महतोले बताइन्। ‘पहिलोपटक आएकी हुँ, यहाँको झरना देखेर मन लोभिएको छ,’ उनले भनिन्।

सामाजिक सञ्जालमार्फत झरनाबारे थाहा पाएर साथीहरूसँग घुम्न आएको उनको भनाइ छ।

०६९ सालदेखि लामो झरनामा पर्यटकको आगमन बढ्न थालेको हो। झरना अवलोकनका लागि चितवन, धादिङ, गोरखा, तनहुँ, काठमाडौँ, नवलपरासी, नुवाकोट, गोरखा, तनहुँ, कास्की, मकवानपुर, पर्सालगायतका जिल्लाबाट पर्यटक आउँछन्। नारायणगढ-मुग्लिन सडकखण्ड प्रयोग गर्ने लामो दूरीका सवारीका यात्रुहरू झरना अवलोकन गर्न पुग्ने गर्छन्।

यस वर्ष पर्यटकको आगमन बढेको लामो झरना पर्यटन विकास समितिका अध्यक्ष देव गुरुङले जानकारी दिए।

‘यहाँ पौडी खेल्न र नुहाउन आउनेका संख्या बढ्दो छ,’ उनले भने,’बिदाको दिन र शनिबार औसतमा ५ सय र अन्य दिन करिब २ सय पर्यटक यहाँ आउने गरेका छन्।’ क्यानोनिङ, क्लाइम्बिङ, स्वीमिङ, स्लाइडिङ, जम्पिङ र हाइकिङका लागि पर्यटक यहाँ आउने गरेको उनले जनाए।

झरना अवलोकनका लागि इच्छाकामनाका बासिन्दाले प्रवेश शुल्कबापत प्रतिव्यक्ति २५ र अन्य स्वदेशीले प्रतिव्यक्ति ५० रुपैयाँ तिर्नुपर्छ। विदेशीले प्रतिव्यक्ति १ सय रुपैयाँ तिर्नुपर्ने व्यवस्था छ। प्रवेश शुल्कबाट प्राप्त भएको सबै रकम इच्छाकामना गाउँपालिकाले लिने गरेको छ।

झरना पुग्ने सडक निर्माणसँगै शौचालय, चेन्जिङ रुम र तलाउ निर्माण गरिएको छ। अन्य भौतिक संरचना र झरनाको सौन्दर्यकरणका काम पनि गर्ने तयारी गरिएको छ। ‘झरनाको प्राकृतिकस्वरुप नबिग्रने गरी जिपलाइन निर्माणको तयारी गरेका छौं,’ उनले भने।

प्रकाशित: २० जेठ २०८० १०:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − fifteen =