खाजा पाएपछि लहानका सामुदायिक विद्यालयमा विद्यार्थी नियमित

हिमाल प्रेस २० जेठ २०८० ९:३०
8
SHARES
खाजा पाएपछि लहानका सामुदायिक विद्यालयमा विद्यार्थी नियमित फाइल तस्बिर।

सिरहा– सिरहाको लहान नगरपालिकाले सामुदायिक विद्यालयका बालबालिकालाई विद्यालयमै दिवा खाजा खुवाउनुपर्ने निर्णय गरेसँगै विद्यार्थी नियमित पठनपाठनमा आउन थालेका छन्। यसअघि खाजावापतको रकम अभिभावकलाई दिने गरिएकोमा अहिले विद्यालयले साप्ताहिक तालिका बनाएर जंकफुड प्रतिबन्ध गरी पोषणयुक्त खाजा खुवाउन सुरु गरिएको हो।

खाजाको सूचीमा फलफूल, मासु, खीर, जाउलो, चिउरा-भुजा, तरकारीलगायत रहेको श्री आधारभूत विद्यालय लहानका प्रधानाध्यापक जितेन्द्र महतोले जानकारी दिए।

‘खाजा नियमित खुवाउन थालेपछि विद्यार्थी संख्या पहिलेको तुलनामा धेरै नै बढेको छ। यसबाट विद्यार्थी खुसी पनि छन्,’ महतोले भने,’ विद्यालय सञ्चालन हुने अवधिभर नानी बाबुहरू बस्न थालेका छन्। यसले गर्दा हामीलाई उत्साही बनाएको छ।’

विद्यार्थी नियमित हुन थालेपछि पढाइमा पनि सुधार हुन थालेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भगवती चौधरीले बताइन्।

विद्यालय अनुगमनका क्रममा विद्यार्थी संख्या कम देखिएपछि भइरहेका कामलाई फरक रुप दिन गरिएको प्रयासको नतिजा सुखद् भएको लहान नगरपालिकाका मेयर महेश चौधरीको भनाइ छ।

‘सामुदायिक विद्यालयमा विद्यार्थी भित्र्याउने र टिकाउने उद्देश्यका साथ नगरपालिकाले दिवा खाजा कार्यक्रम ल्याएको हो। विद्यार्थीलाई नियमित विद्यालय आउने बानी बसाल्न, शैक्षिक गुणस्तर वृद्धि र जंकफुडको प्रयोगलाई घटाउन ल्याइएको दिवा खाजा कार्यक्रम प्रभावकारी बनेको छ,’ उनले भने।

नियमित सामुदायिक विद्यालयमा अनुगमन बढाएको नगरपालिकाका शिक्षा शाखा प्रमुख अमिरी यादवले बताए।

लहानमा ५९ सामुदायिक, १२ वटा धार्मिक विद्यालयका कक्षा ६ सम्मका ११ हजार एक सय ६ विद्यार्थीमा खाजा वितरण गर्न सुरु गरिएको हो। प्रत्येक विद्यार्थीबापत सरकारले एक दिनको १५ रुपैयाँ दिने गरेको छ।

बालबालिकाका लागि दिवा खाजा कार्यक्रम स्वास्थ्य, शिक्षा, सामाजिक न्याय तथा समानताको पक्षबाट महत्त्वपूर्ण मानिन्छ। केही दिन पहिले नगर कार्यपालिकाको बैठकले विद्यालयमै खाजा खुवाउने निर्णय गरेको थियो। -रासस

प्रकाशित: २० जेठ २०८० ९:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =