पेट्रोलियम पदार्थबाट चल्ने गाडीलाई विद्युतीय बनाउन अनुसन्धान गर्दै इटहरी

हिमाल प्रेस १९ जेठ २०८० १८:१६
38
SHARES
पेट्रोलियम पदार्थबाट चल्ने गाडीलाई विद्युतीय बनाउन अनुसन्धान गर्दै इटहरी

इटहरी– इटहरी उपमहानगरले पेट्रोलियम पदार्थले चल्ने गाडीलाई विद्युतीयमा रूपान्तरण गर्ने विस्तृत अनुसन्धान सुरु गरेको छ। सरकारले सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन गर्दै विद्युतीय गाडीमा रुपान्तरण गर्न सकिने व्यवस्था गरेसँगै इटहरी उपमहानगरले देशमै पहिलो पटक सम्याति इलेक्ट्रो व्हील्स प्रालिसँग यसखाले सम्झौता गरेको हो।

पहिलो चरणमा दुई वटा मोटरसाइकललाई विद्युतीयमा रूपान्तरण र विस्तृत अनुसन्धान गर्ने सहमति भएको इटहरीका मेयर हेमकर्ण पौडेलले बताए। पुरानो मोटरसाइकल उपमहानगरले दिने र उक्त मोटरसाइकललाई विद्युतीय मोटरसाइकल बनाउने सहमति भएको मेयर पौडेलले बताए।

संघीय सरकारले मर्मत गरेर पनि उपयोगमा आउन नसक्ने र २० वर्ष अवधि पुगेका सवारीसाधनहरू लागत प्रभावीको आधारमा विद्युतीय सवारी साधनमा रूपान्तरण गर्न सकिने व्यवस्था गरेको थियो। ‘सोही अनुरुप पहिलो चरणमा अनुसन्धान गर्न हामिले थालेका छौँ,’ मेयर पौडेलले भने।

देशमै पहिलो पटक स्थानीय तहले यो किसिमको सहमति गरेर काम सुरु गरेको मेयर पौडेलको दाबी छ। कम्पनीका आदित्य आचार्य, रिसब गड्तौला, अस्तित्व मादेम्बा, निकेश बज्रचार्य लगायतले पेट्रोल गाडीलाई रुपान्तरण गर्ने बताइएको छ।

पुरानो गाडीको इन्जिनको ठाउँमा विद्युतीय मोटर राख्दा कम्तीमा थप १० वर्ष चलाउन सकिने बताइएको छ।सरकारले चालू आर्थिक वर्षकै बजेटमा पेट्रोलियम पदार्थका गाडीलाई विद्युतीयमा रूपान्तरण गर्न दिने जनाएको छ।

प्रकाशित: १९ जेठ २०८० १८:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =