गृहमन्त्रीले भने : प्रहरीलाई अझै प्रभावकारी र सफल बनाउन गम्भीर भएर समीक्षा गर्नुपर्नेछ

हिमाल प्रेस १९ जेठ २०८० १६:२२
120
SHARES
गृहमन्त्रीले भने : प्रहरीलाई अझै प्रभावकारी र सफल बनाउन गम्भीर भएर समीक्षा गर्नुपर्नेछ

काठमाडौँ- उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी संगठनलाई अझै प्रभावकारी र सफल बनाउन गम्भीर रूपमा आत्मसमीक्षा गर्ने बेला आएको बताएका छन्। शुक्रबार इन्टरपोलको १००औँ वार्षिकोत्सवको अवसरमा सगरमाथाको सफल आरोहण गर्ने प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपालीलाई सम्मान व्यक्त गर्न आयोजित कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले देश र जनतालाई केन्द्रमा राखेर आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने उल्लेख गरे।

उनले भने, ‘जनताले पहिलो सरकारसँग भेट्ने व्यक्ति वा पात्र प्रहरी नै हो। नेपाल प्रहरीले जनता र देशको सेवामा केन्द्रित गर्ने गरी काम गरे सरकारको सफलता देखिने छ।’

प्रहरी वरिष्ठ नायव निरीक्षक नेपालीले जेठ २ गते सगरमाथाको सफल आरोहण गरेका थिए। इन्टरपोलको १००औँ वार्षिकोत्सवको अवसर पारेर नेपालीले सगरमाथाको सफल आरोहण गरेका हुन्। उनी जेठ २ गते १०ः१५ बजे सगरमाथाको शिखरमा पुगेका थिए।

हाल इन्टरपोलमा १९५ राष्ट्र सदस्य छन्। हिमालयन एडभेन्चरले आरोहणमा सहयोग गरेको थियो। इन्टरपोलले सतवार्षिकीमा विभिन्न कार्यक्रम गरी मनाएको छ। त्यस अवसरमा नेपालले भने सगरमाथाको आरोहण गरेर मनाउने निर्णय लिएको थियो। उक्त निर्णयमा नेपाल सफल भएको हो।

उपप्रधानमन्त्री श्रेष्ठले आरोही नेपालीलाई बधाइ दिए। प्रहरीलाई आजको स्थितिमा ल्याउन भूमिका निर्वाह गरेको भन्दै उपप्रधानमन्त्री श्रेष्ठले पूर्वप्रहरी नेतृत्वलाई धन्यवाद दिए। ‘ठगी तथा संगठित अपराधमा नेपाल प्रहरीले गरेको कामबाट आम जनता खुसी छन्,’ उनले भने, ‘कसैको दबाबमा नपरी कुनै निर्दोष नफसोस् र कुनै दोसि नउम्कियोस्। यसरी कार्यसम्पादन गरे मात्रै प्रहरीको सफलता देखिन्छ।’

प्रकाशित: १९ जेठ २०८० १६:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =