सडकले मास्यो मनाङ जाने पदमार्ग

हिमाल प्रेस १९ जेठ २०८० १५:१२
10
SHARES
सडकले मास्यो मनाङ जाने पदमार्ग

मनाङ– विभिन्न देशबाट भ्रमणका लागि आउने पर्यटकमध्ये अधिकांश हिमाली जिल्ला मनाङ आउने गरेका छन्। विशेष गरी यहाँको सुन्दरता, परम्परागत संस्कार, संस्कृति अवलोकन गर्न र रमाउन पर्यटक आउँछन्।

तर पछिल्लो समय मनाङ आउने क्रममा भने पर्यटकले सास्ती खेप्नुपरेको छ। मनाङ जोड्ने मुख्य मार्ग डुम्रे–बेँसीसहर–चामे सडकखण्ड पदमार्गमै बनाइएको छ।  यसले एकातिर पर्यटकको बसाइँ छोट्याएको छ भने अर्कोतिर सडक मार्ग र पदमार्ग एउटै हुँदा पदयात्रीले सास्ती भोग्नुपरेको छ।

मनाङका जनप्रतिनिधि र स्थानीयले सडकमार्ग निर्माणसँगै पदमार्गको वैकल्पिक योजना निर्माण गर्नुपर्ने आवाज उठाउँदै आएका छन्।  गण्डकी प्रदेशसभा सदस्य मुनिन्द्रजंग गुरुङले सडक र पदमार्ग एउटै हुँदा पर्यटकले सास्ती खेप्नुपरेकाले वैकल्पिक पदमार्ग निर्माण गर्नुपर्ने बताए।

उनले भने, ‘सडक र पदमार्गको ट्रयाक एउटै हुँदा पदयात्रीले समस्या भोग्नुपरेको छ, यस्ता समस्या समाधानका लागि प्रदेश सरकारसमक्ष आवाज उठाएका छौँ, वैकल्पिक पदमार्ग निर्माणको योजना तय गर्न प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकमा छलफलमा ल्याउने छौँ।’

वैकल्पिक पदमार्ग निर्माण गर्नसके पदयात्रीले धुलो र सवारीसाधनको सास्ती खेप्नुपर्ने समस्या हट्ने उनको भनाइ छ।  मनाङमा वार्षिक ३५ देखि ४० हजार बाह्य पर्यटक भित्रिने गरेका छन्। यसमध्ये अधिकांशले पदयात्राको प्रयोग गर्छन्।

गुरुङले भने, ‘विकास निर्माणसँगै पर्यटनमार्गको संरक्षणमा सरकारले ख्याल गर्नुपर्छ।’ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एकाइका प्रमुख लेखनाथ गौतमले पनि पदमार्ग मासिदा स्थानीयबासी, सरकार सबैलाई घाटा भएको बताए।

‘सडक चाहिन्छ, बनाउनुपर्छ तर पर्यटकमार्ग पनि उत्तिकै आवश्यक छ,’ उनले भने। अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँच जिल्ला जोडिएका छन्। काठमाडौँदेखि बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन्।

पदमार्गमार्फत पर्यटक मनाङका विभिन्न स्थानको अवलोकनसहित यात्रामा जाने गरेका छन्। यहाँ भित्रिने पर्यटकलाई सहज बनाउन र आकर्षित गरिरहन वैकल्पिक पदमार्ग बनाउनसकेमा पर्यटकले अझ सुरक्षित तवरबाट मनाङको यात्रा गर्न पाउने स्थानीयको भनाइ छ। राससको सहयोगमा

प्रकाशित: १९ जेठ २०८० १५:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + eleven =