श्रीलंकामा तीन वर्षपछि पहिलो पटक ब्याजदर घट्यो

हिमाल प्रेस १८ जेठ २०८० २१:५५
6
SHARES
श्रीलंकामा तीन वर्षपछि पहिलो पटक ब्याजदर घट्यो

कोलम्बो- सन् २०२२ मा आर्थिक संकटमा फसेको श्रीलंकाले बिहीबार तीन वर्षपछि पहिलो पटक ब्याजदरमा भारी कटौती गरेको छ। श्रीलंकाको केन्द्रीय बैंकले  ब्याजदर  २.५ प्रतिशतले घटाएर १४ प्रतिशतमा झारेको छ।

गत महिना (मेमा) मुद्रास्फीति घटेर २५.२ प्रतिशतमा झरेको छ। त्यसपछि ब्याजदरमा कटौती गरिएको हो। अप्रिल महिनाको तुलनामा मे मिहनामा मुद्रास्फीति करिब १० प्रतिशतले घटेको छ।

मौद्रिक बोर्डले मुद्रास्फीतिको कमी प्रक्षेपण गरेभन्दा छिटो कम भएकाले मौद्रिक अवस्थालाई सहज बनाउने निर्णयमा पुगेको बताएको छ। जुलाई २०२० मा दरहरू एक प्रतिशत बिन्दुले घटाइएपछि यो पहिलो कटौती हो।

आर्थिक संकट बढ्दै गएपछि केन्द्रीय बैंकले सन् २०२२ को सुरुदेखि नै ब्याजदर बढाउन सुरु गरेको थियो र गत वर्षको अप्रिलमा सात प्रतिशत बिन्दुले वृद्धि गरेको थियो।

आर्थिक रूपमा धराशायी बनेको यो एसियाली राष्ट्रले मार्चमा अन्तर्राष्ट्रिय मुद्रा कोषबाट कर्जा सहयोग प्राप्त गरेको थियो। चार वर्षमा कोभिड र राजनीतिक संकटका कारण ऋणभार चुलिएको थियो।

केन्द्रीय बैंकले गत वर्ष ७.८ प्रतिशतको आर्थिक सङ्कुचनपछि हाल अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ। श्रीलंकामा अतिआवश्यक वस्तुहरूका लागि समेत भुक्तानी गर्न नगद अभाव भएपछि खाद्यान्न, इन्धन र औषधि समेतको अभाव भएको थियो।

यसै मुद्दाका कारण तत्कालीन राष्ट्रपति गोटबाया राजापाक्षेलाई महिनौँ लामो विरोध प्रदर्शनपछि गत जुलाईमा देश छोड्न र राजीनामा दिन बाध्य पारिएको थियो। केन्द्रीय बैंकले अर्थतन्त्रको पछिल्लो समीक्षामा यस वर्षको अन्त्यसम्ममा मुद्रास्फीति एकल अंकमा झर्ने अनुमान गरेको छ। गत सेप्टेम्बरमा यहाँको मुद्रास्फीति ६९.८ प्रतिशत पुगेको थियो। उक्त महिना यहाँको खाद्य मुद्रास्फीति करिब १०० प्रतिशत पुगेको थियो।

प्रकाशित: १८ जेठ २०८० २१:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =